
विराटनगर : विभिन्न १६ राजनीतिक दल तथा समूह मिलेर हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ ।
विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी र उदयपुरलगायतका जिल्लाबाट कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कात्तिक १९ गते पार्टी एकता घोषणा गरेपछि नेकपाले देशव्यापी दौडाहा अन्तर्गत आज कोशी प्रदेशमा सभा गरेको हो। यसअघि सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा सभा सम्पन्न भइसकेका छन् भने बाँकी प्रदेशमा पनि क्रमिक रूपमा मंसिर २३ गतेसम्म सभा आयोजना गरिने जनाइएको छ ।


















































