इलाममा लागुऔषध सहित ४ जना पक्राउ

इलाम : जिल्ला प्रहरी कार्यालय इलामले विशेष सूचनाका आधारमा गरेको संयुक्त अपरेसनबाट ८.०७० ग्राम लागुऔषध (खैरो हेरोइन) सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय इलाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा काकडभिट्टा, झापाबाट खटिएको टोलीले इलामका विभिन्न  स्थानबाट  बिहिवार लागुऔषध तथा नगद बरामद गरेको हो।

प्रहरीका अनुसार इलाम नगरपालिका–७ का २१ वर्षीय छिरिङ दोर्जे लामाको साथबाट ८.०७० ग्राम खैरो हेरोइन, नेपाली नगद ६९ हजार ४ सय रुपैयाँ, कैची १ थान, आइफोन १ थान तथा बेचबिखनका लागि प्रयोग हुने कालो र सेतो प्लास्टिक २ पत्ता फेला परेको छ।

त्यसैगरी, इलाम नगरपालिका–६ का ३५ वर्षीय केशब दाहालबाट सामसुङ मोबाइल १ थान र नगद एक हजार रुपैयाँ, सोही स्थानका २७ वर्षीय मौसम राईबाट सादा मोबाइल सेट १ थान र नगद एक हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–५ का २३ वर्षीय सौरभ लुङ्गेली मगरलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका चारै जनालाई इलाम जिल्ला अदालतबाट मंसिर ११ गतेदेखि लागू हुने गरी ८ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार