
इलाम : ‘१८ औं संस्करणको आत्मानन्द गोल्डकप’ आइतबारदेखि सुरु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ३-१ गोल अन्तरमा पराजित गर्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ । जितसँगै उसले सेमिफाइनलको यात्रा तय गरेको छ ।
सिरिजङ्घाको जितमा स्ट्राइकर सञ्जय धिमालले ह्याट्रिक गरेका थिए । उता माङसेबुङका तर्फबाट ओसन राईले सान्तावना गोल फर्काएका थिए । सिरिजङ्घाले ११ औं मिनेटमा नै गोलको खाता खोल्यो । बादल तामाङको पासमा सञ्जय धिमालले सानदार गोल गरे । ३८ औं मिनेटमा पुन: धिमालले दोस्रो गोल गर्दै सिरिजङ्घालाई अग्रता दोब्बर बनाए । ४० औं मिनेटमा पुन: धिमालले नै गोल गर्दै ह्याट्रिक पूरा गरे ।
५९ औं मिनेटमा माङसेबुङका ओसन राईले सान्तवना गोल फर्काए । सिरिजङ्घालाई सुरुवाती अग्रता नै जितका लागि सहज बनेको थियो । उता घरेलु दर्शकको समर्थन पाएको माङसेबुङले उत्तरार्धमा केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो ।
खेलमा विजेता सिरिजङ्घाका स्ट्राइकर सञ्जय धिमाल म्यान अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गर्नुभयो ।
सोमबार मोरङको लेटाङ फुटबल क्लब र पाँचथरको तिजोक युवा क्लबबिच प्रतिष्पर्धा हुने आयोजक आत्मा-पवित्र खेलकुद विकास समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिनुभयो ।
गोल्डकपमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टिमको सहभागिता छ । विजेताले नगद रु ३ लाख ११ हजार १७१ र उपविजेताले नगद रु २ लाख ११ हजार १७१ प्राप्त गर्नेछन् ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७२ औं जन्मोत्सवको अवसरमा आयोजित आत्मा-पवित्र खेलकुद विकास समितिको आयोजनामा सुरु भएको गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ ।

















































