पाँचथरः पाँचथरको फाल्गुनन्द–५, फाक्तेपस्थित याम्बातपुङ खेलमैदानमा हुने ‘दोस्रो याम्बातपुङ गोल्डकप’ खुला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीको अवसरमा कार्तिक २५ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राइट स्टार युवा क्लब र फुङ्मा एफसी आमनेसामने हुने भएका छन्। प्रतियोगिता कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
ब्राइट स्टार युवा क्लबद्वारा आयोजित प्रतियोगिता यस वर्ष पुरुष, महिला र भेट्रान्स गरी तीन विधामा सञ्चालन हुने छ। क्लबका सचिव सालाहाङ नेम्वाङका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै समुदायबीच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश प्रवाह गर्नु रहेको छ।
पुरुष समूहमा आठ टिम सहभागी हुनेछन्। उक्त समूहको विजेताले ७५ हजार १५० रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार १५० रुपैयाँ पाउनेछ। महिला समूहमा चार टिम सहभागी हुनेछन्। यस समूहको विजेताले १५ हजार १५० रुपैयाँ र उपविजेताले १० हजार १५० रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। भेट्रान्स समूहमा समेत चार टिम सहभागी हुने छन्। सो समूहको विजेताले २० हजार १५० रुपैयाँ, र दोस्रो हुने टिमले १० हजार १५० रुपैयाँ प्राप्त गर्नेछ।भेट्रान्स समूहका खेलाडीमध्ये तीन जना ३६ वर्षका र बाँकी छ जना ४० वर्ष वा सोभन्दा माथिका हुनुपर्नेछ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई एक हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर र हाईस्कोररलाई दुई-दुई हजार रुपैयाँ तथा अनुशासित टिमलाई तीन हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै उत्कृष्ट टिम मेनेजरलाई दुई हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता एन्फाको नियम अनुसार सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रथम पुरस्कार आयोजक ब्राइट स्टार युवा क्लबले नै आयोजना गरेको छ भने दोस्रो पुरस्कार फाल्गुनन्द–५ निवासी, हाल युकेमा रहनुभएका बृजहाङ चेम्जोङले आफ्ना स्व. बुबा–आमा शेर बहादुर चेम्जोङ, सुखमाय लिम्बु र कान्छी आमा सुखमनी आङ्देम्बे चेम्जोङको नाममा ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
भेट्रान्स तर्फको प्रथम पुरस्कारका लागि छालासुकुवा बोर्डिङ स्कुल घुर्बिसे पञ्चमीकी प्रिन्सिपल विमला राई आङ्देम्बेले २० हजार रुपैयाँ सहयोग गरेकी छिन् भने दोस्रो पुरस्कारका लागि इलाम भट्टराई कुल बंशका अध्यक्ष बालाकृष्ण भट्टराईले १० हजार रुपैयाँ सहयोग गरेका छन्।
महिला समूहतर्फ प्रथम पुरस्कार १५ हजार रुपैयाँ युवा समाजसेवी तथा आयोजक क्लबका सल्लाहकार संयोजक तिलबिक्रम चेम्जोङले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार १० हजार रुपैयाँ ग्रिनहिल बोर्डिङ स्कुल घुर्बिसे पञ्चमी बजारकी प्रिन्सिपल इक्सा योङ्हाङ सम्बाहाम्फेले सहयोग गरेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरका अध्यक्ष प्रकाश गुरुङले पनि २० हजार रुपैयाँ नगद सहयोग गरेका छन्। हालसम्म ५ लाख ६८ हजार ९१४ रुपैयाँ संकलन भइसकेको र थप सहयोग आउने क्रम जारी रहेको क्लबले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव नेम्वाङले जानकारी दिए।
गत वर्ष आयोजित पहिलो याम्बातपुङ गोल्डकपमा २४ टिम सहभागी भएका थिए, जसमा इलामको फाकफोकथुम–४ फुएतप्पा एफसी विजेता बनेको थियो।
आयोजकका अनुसार सबै तयारी पूरा भइसकेको र उद्घाटन खेलका लागि मैदान, सुरक्षादल, निर्णायक तथा स्वयंसेवकको व्यवस्थासमेत मिलाइ सकिएको छ। भोली उद्घाटन हुने खेलमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष ठाकुरसिं नेम्वाङलगायत प्रमुख प्रशासकिय अधिकृत साथै जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमीहरुको उपस्थिति रहने जनाइएको छ ।


















































