निरन्तर वर्षाका कारण मेची राजमार्ग र वैकल्पिक दुवै सडक अवरुद्ध

इलाम :बिहीबार देखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

सडकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले आज बिहानैदेखि अर्को सूचना जारी नभएसम्मका लागि सो सडकमार्गमा सवारी सञ्चालन पूर्णरुपमा रोक लगाएको छ ।

वर्षाका कारण थप पहिरो र सडक क्षतिको सम्भावना रहेको भन्दै जिल्ला प्रशासनले यात्रु, सवारी चालक, स्थानीयबासी र सरोकारवालाहरुलाई सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।

साथै मेची राजमार्गको वैकल्पिक सडकको रुपमा सञ्चालन गरिएको तिल्केनी-सिमलगोलाई-शिलपुर सडकखण्ड समेत वर्षा र पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उता मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक) को बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ देखि नै सो सडकखण्ड अवरुद्ध छ । इलाम सदरमुकामबाट झापा जोड्नै सबै सडक अवरुद्ध भएपछि इलाम र झापा क्षेत्रबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

यसअघि जिल्ला प्रशासनले बिहीबार साँझदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि रातको समयमा सावरीसाधन सञ्चालन नगर्न निर्देशन जारी गरेको थियो । तर, वर्षाका कारण सडक भासिन थालेपछि शुक्रबारदेखि पूर्णरुपमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाएको हो ।

जल तथा मौसम विज्ञान विभाग एवम् राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ देखि १५ गतेसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ ।

गत असोज १८ गतेको अविरल वर्षापछिको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग कात्तिक १ गतेदेखि सुचारु भएको थियो । सो विपदबाट राजदुवाली, मिलगोलाई, बञ्चरेलगायत दर्जनौं स्थानमा पहिरो असेर सडक अवरुद्ध भएको थियो । सो क्षेत्रमा पहिरो पन्छाइएपनि अस्थायी रुपमा मात्रै सडक सञ्चालन गरिएको थियो ।

संघीय सरकारले इलामलाई विपद संकटग्रस्त जिल्ला घोषणा गरेपनि हालसम्म पुनर्निमाण र पुन:स्थापनाको काम अघि नबढ्दा जिल्लाबासी चिन्तित छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार