प्रथम चिबुवा कप : दशमी र बतासे सेमिफाइनल प्रवेश

इलाम : दशमी एफसी र बतासे एफसी इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मेरीगोल्ड स्पोर्ट्स क्लब कालापानीलाई २-१ को गोल अन्तरमा पराजित गर्दै दशमी एफसी सेमिफाइनल प्रवेश गरेको हो । दशमीको जितका लागि अभिषेक लिम्बू र निर्मल राईले गोल गरे । उता मेरीगिल्डका तर्फबाट अस्मिन राइले सान्त्वना गोल फर्काएका थिए ।

दशमीले फाइनल प्रवेशका लागि आइतबार हुने पहिलो सेमिफाइनल खेलमा निवासोँ एफसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा पेनाल्टी सुटआउटमा पीएफसी महमाईलाई रोक्दै बतासे एफसीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा विजेता निर्धारण गर्नुपरेको थियो ।

बतासेले फाइनल प्रवेशका लागि आइतबार नै हुने दोश्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक ‘ए’ सँग प्रतिस्पर्धा गर्निपर्नेछ ।

चिबुवा युथ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।

स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आउँदो कात्तिक १० गते हुनेछ ।

दिपावलीको अवसरमा गत असोज ३० गतेदेखि संचालित प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार