पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण (तस्बिरहरु)

मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत इलाम नगरपालिका-९ भाङटार र ११ सोयाक जोड्ने पुवाखोलामा निर्माण गरिएको काठको पुल । तस्बिर : राम योङहाङ/नयाँ बुलन्द

इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर  (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।

इलाम नगरपालिका वडा नं.-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरुले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् ।

स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेना समेतको सहयोगमा ५० फुट लम्बाइ र ८ फुट चौडाइ भएकोको काठको पुल निर्माण भएको हो । पुल निर्माणका लागि स्थानीयबासीले पाँच दिन लगातार श्रमदान गरेका थिए ।

बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए । ‘बाढीले बेलिब्रिज बगाएपछि हामी सदरमुकामसँगको सडक सञ्जालबाट पूर्ण रुपमा विच्छेद भएका थियौं,’ राईले भने, ‘स्थानीय सरकारले समेत चासो नदेखाएपछि गाउँलेहरुकै पहलमा पुल निर्माणको काम सुरु गरेर पाँचौ दिनमै सम्पन्न गरेका छौं ।’

पुल बनेपछि इलाम सदरमुकामबाट झापा जान र झापाबाट इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङ आउन हलुवा सवारी साधनलाई सहज भएको छ । आइतबार साँझदेखि नै मोटरसाइकल सञ्चालन सुरु भएको छ । चारचक्के हलुवा सवारीसाधन भने सोमबारदेखि मात्र नियमित सञ्चालनमा ल्याइने राईले बताए ।

गतवर्ष मात्र पुवाखोलामा एक करोड ३५ लाख रुपैयाँको लागतमा बेलिब्रिज निर्माण गरिएको थियो । तर, बाढीले बगाएपछि स्थानीय बासिन्दाले अस्थायी रुपमा काठको पुल बनाएर आवतजावत सहज बनाएका हुन् ।

यो सडकखण्ड मेची राजमार्गको गोलाखर्कबाट झापाको विर्तामोड पुग्ने छोटो वैकल्पिक मार्ग हो । सो सडक प्रयो गर्दा ४७ किलोमिटरमा विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटरमा मात्र विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्गको रादुवाली खण्ड अवरुद्ध भएपछि हलुका सवारी साधनको लागि यो वैकल्पिक मार्ग बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार