
पाँचथर: पछिल्ला केही दिनदेखिको अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको छ। सोही सन्दर्भमा पार्टी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो)ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय र प्रदेश सरकार दुवैको निष्क्रिय भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन्।
विज्ञप्तिअनुसार विपद्बाट सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ, जहाँ हालसम्म इलाममा मात्रै ३८ जनासहित प्रदेशभर ४५ जनाभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। साथै, दर्जनौँ नागरिक घाइते र हजारौँ विस्थापित भएका छन्।
अध्यक्ष नेम्बाङले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “प्रदेश सरकार हालसम्म सुतेर बसेको आरोप खेपिरहेको छ। यस्तो गम्भीर अवस्थामा सरकार तत्काल उद्धार र राहतमा सक्रिय हुनुपर्छ।”
उनले प्रभावित क्षेत्रमा तुरुन्त त्रिपाल, कम्बल, खानेकुरा र औषधि लगायतका अत्यावश्यक सामग्री हेलिकप्टरमार्फत पु-याउन माग गरेका छन्।
त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार, मृतक परिवारलाई तत्काल क्षतिपूर्ति र विस्थापितहरूका लागि दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
नेम्बाङले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्थायी र जनउत्तरदायी संयन्त्र गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
अन्त्यमा उनले भनेका छन्, “सरकार जनउत्तरदायी बनेर तत्काल उद्धार, राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको काम प्रभावकारी ढंगले अघि बढाओस्, यही हाम्रो पार्टीको आह्वान हो।”


















































