गजुरमुखीका बाढीपीडितलाई बेलायतबाट शिक्षासेवी सुब्बाले पठाए १ लाख १० हजार राहत

 

इलाम : इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीधामका बाढीपीडित ११ घरपरिवारलाई बेलायत (यूके) बाट शिक्षासेवी तथा समाजसेवी तिलबिक्रम सुब्बा (टी.बी.) ले राहत रकम उपलब्ध गराएका छन् ।

गत शनिबार राति देउमाई खोलामा आएको बाढीले घर बगाउँदा विस्थापित भएका परिवारलाई सुब्बाले पठाएको १ लाख १० हजार रुपैयाँ राहत रकम सोमबार वितरण गरिएको छ ।

प्रत्येक परिवारलाई १० हजार रुपैयाँका दरले सहयोग रकम माङसेबुङ-१ का वडा सदस्य ठाकुर श्रेष्ठको रोहबरमा हस्तान्तरण गरिएको हो ।

सुब्बा लामो समयसम्म माङसेबुङ–६ चिसोपानी माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा सेवाग्राही रहेका थिए ।

हाल बेलायतमा बसोबास गर्दै आएका उनले ‘गाउँमा विपद् परेको बेलामा सम्झन पाउँदा खुसी लागेको’ भन्दै सहयोग पठाएका हुन् ।

तिलबिक्रम सुब्बा

स्थानीय बासिन्दाले विपद्‌का बेला टाढाबाट समेत सहयोगका लागि सम्झेको भन्दै सुब्बाप्रति आभार प्रकट गरेका छन् ।

सुब्बाले नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङमार्फत राहत रकम पठाएका हुन् ।

यसअघि माङसेबुङ गाउँपालिकाले पनि प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको थियो ।

अविरल वर्षासँगै शनिबार राती देउमाई खोलाको बाढीले छवटा घर बगाउँदा ११ परिवार विस्थापित भएका छन् ।

माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाको सीमाना भएर बग्ने देउमाई खोलाबाट लेदो र बाढीको ठूलो बहाव धाम क्षेत्रअन्तर्गतको बस्तीमा पसेको थियो । बाढीले सूर्यबहादुर तामाङ, खगेन्द्र तामाङ र पञ्चराज नेम्बाङका पक्की घर तथा खड्गबहादुर लिम्बू, टीकाराम राई र जयप्रकाश राईका कच्ची घर बगाएको थियो ।

त्यस्तै, गोकुल तामाङ र यमराज नेम्बाङका घरमा आंशिक क्षति पुगेको छ भने पूर्ण थेगिम र सुवास नेम्बाङका घरहरू पूर्ण जोखिममा परेका छन् ।

बाढीका कारण घर बगाएका, क्षतिग्रस्त तथा जोखिममा परेका घरधनीसहित ११ परिवार विस्थापित भएका हुन् । उनीहरूलाई तत्कालका लागि स्थानीय बासिन्दाका घरहरूमा बस्ने र खाने व्यवस्था मिलाइएको माङसेबुङ-१ का वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।

राहत वितरणको तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार