
इलाम : अविरल वर्षासँगै गएरातीको देउमाई खोलाको बाढीले इलामको माङसेबुङ गाउँपालिका–१ मा अवस्थित धार्मिक स्थल गजुरमुखी धाम क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले छवटा घर बगाउँदा ११ परिवार विस्थापित भएका छन् ।
माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाको सीमाना भएर बग्ने देउमाई खोलाबाट लेदो र बाढीको ठूलो बहाव धाम क्षेत्रअन्तर्गतको बस्तीमा पसेको थियो । बाढीले सूर्यबहादुर तामाङ, खगेन्द्र तामाङ र पञ्चराज नेम्बाङका पक्की घर तथा खड्गबहादुर लिम्बू, टीकाराम राई र जयप्रकाश राईका कच्ची घर बगाएको इलाम प्रहरीले जनाएको छ ।
त्यस्तै, गोकुल तामाङ र यमराज नेम्बाङका घरमा आंशिक क्षति पुगेको छ भने पूर्ण थेगिम र सुवास नेम्बाङका घरहरू पूर्ण जोखिममा परेका छन् ।

११ परिवार विस्थापित
बाढीका कारण घर बगाएका, क्षतिग्रस्त तथा जोखिममा परेका घरधनीसहित ११ परिवार विस्थापित भएका छन्। उनीहरूलाई तत्कालका लागि स्थानीय बासिन्दाका घरहरूमा बस्ने र खाने व्यवस्था मिलाइएको माङसेबुङ गाउँपालिका–१ का वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।
गाउँपालिकाको तर्फबाट प्रारम्भिक राहत

यता, माङसेबुङ गाउँपालिकाले तत्कालका लागि विस्थापित परिवारहरूलाई रु १० हजारका दरले प्रारम्भिक राहत वितरण गरेको छ। गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार राहत रकम तत्काल खान र बस्न सहज होस् भन्ने उद्देश्यले वितरण गरिएको हो । ‘विस्थापितहरूलाई तत्काल राहत पुगोस् भनेर ११ परिवारलाई रु १० हजारका दरले सहायता उपलब्ध गराएका छौं,’ अध्यक्ष राईले भने, ‘आगामी दिनमा थप राहतको प्रक्रिया अघि बढाइनेछ।’
बाढीबाट मानवीय क्षति भएन
इलाममा हालसम्म बाढीका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार जिल्लामा हालसम्म पहिरोका कारण ३७ जनाको मृत्यु, एक जना वेपत्ता र आठ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको हेलिकप्टरमार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको र अन्यको उपचार स्थानीय स्वास्थ्य संस्थामा जारी रहेको प्रहरीले जनाएको छ ।















































