‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सम्पादक योङहाङ पुरस्कृत

  नयाँ बुलन्द
112 Shares

नयाँ बुलन्द डटकमा सम्पादक राम योङहाङबुधबार ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’ बाट पुरस्कृत हुँदै ।

इलाम : नयाँ बुलन्द डटकम (www.nayabulanda.com) का सम्पादक राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’ बाट पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन् ।

बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा लिम्बूलाई फोनिजका संघीय उपाध्यक्ष विश्वराज तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, फोजिज कोशी प्रदेश अध्यक्ष विजयबोध लावतीलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

इलामको माङसेबुङ गाउँपालिका-३ निवासी योङहाङ विगत १९ वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । उनी पत्रकारिताको माध्यमबाट सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विषय एवम् आदिवासी जनजातिको मुद्धामा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् । २०६४ सालमा स्थानीय रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील योङहाङ  तीन वषर्देखि राष्ट्रिय समासचार समिति (रासस) र १४ वर्षदेखि सौर्य राष्ट्रिय दैनिकका इलाम समाचारदाता समेत छन् ।

मानविकी तथा समाज विज्ञान संकायमा ग्रामीण विकास विषय र व्यवस्थापन संकायमा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका योङहाङले कानुनमा स्नातक उत्तीर्ण गरेका छन् ।

पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्पादक योङहाङलाई सो पुरस्कार प्रदान गरिएको फोनिज इलाम अध्यक्ष याम माबोहाङले बताए । ‘पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसङ्ख्यक/लोपोन्मुख आदिवासी जनवातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सिप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जना पत्रकारलाई बर्सेनि पुरस्कृत गर्ने कार्यविधि बनाएका छौं,’ अध्यक्ष माबोहाङले भने, ‘सोही कार्यविधि बमोजिम यस पटक हामीले योङहाङलाई पुरस्कृत गरेका हौं ।’

फोनिज इलामले चार वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडा गरी पुरस्कार स्थापना गरेको थियो । सो कोषको ब्याजबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष फोनिजको स्थापना दिवसको दिन (साउन २७ गते) पुरस्कार वितरण गर्ने गरिएको  भएपनि यस वर्ष विशेष कारण कार्यक्रम पछि धकेलिएको अध्यक्ष माबोहाङले बताए ।

यसअघि सो पुरस्कारबाट पत्रकार सटेन्द्र जवेगू, ज्ञानु केदेम सुजता सुनुवार पुरस्कृत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार