स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गाउँपालिकातर्फ सन्दकपुर पहिलो, माईजोगमाई अन्तिम

  नयाँ बुलन्द
329 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाको गाउँपालिकातर्फ पहिलो भएको छ । विभिन्न एक सय वटा सूचकहरुमा भएको मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा इलामको ६ वटा गाउँपालिकामध्ये ७९.५ अङ्क प्राप्त गरी समग्र स्थानीय तहमध्ये तेस्रो तथा गाउँपालिकामध्ये पहिलो भएको हो ।

सन्दकपुर गाउँपालिलिकाले प्रशासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३.५, न्यायिक सम्पादनमा ७, भौतिक पूर्वाधारमा ८, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ एवम् सहकार्य र समन्वयमा ५.५ अङ्क प्राप्त गरी जिल्लामा तेस्रो तथा गाउँपालिकातर्फ पहिलो भएको हो ।

त्यसैगरी फाकफोकथुम गाउँपालिका ७८.२५ अङ्क प्राप्त गरी दोस्रो, रोङ गाउँपालिका ७८ अङ्क प्राप्त गरी तेस्रो, माङसेबुङ गाउँपालिका ७४ अङ्क प्राप्त गरी चौथो भएको छ । त्यस्तै, चुलाचुली गाउँपालिका ७१.५ अङ्क प्राप्त गरी पाँचौं र माईजोगमाई गाउँपालिकाले ६१.७५ अङ्क प्राप्त गरी छैठौं तथा अन्तिम स्थानमा परेको छ ।

नगरपालिकातर्फ माई अन्तिममा

त्यसैगरी नगरपालिकातर्फ सूर्योदय नगरपालिका ९०.५० अङ्कसहित इलामका १० सहित कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो भएको छ । त्यस्तै, देशभरका ७५३ स्थानीय तहध्ये छैठौं हुन सफल भएको छ ।

इलाम नगरपालिका ९० अङ्कसहित इलाम जिल्ला र कोशी प्रदेशको दोस्रो तथा देशभरमा सातौं स्थानमा परेको छ ।

त्यस्तै, देउमाई नगरपालिका ७७ अङ्क प्राप्त गरी तेस्रो र माई नगरपालिका ६६.५ अङ्क प्राप्त गरी चौथोतथा अन्तिम स्थानमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । विभिन्न १० वटा विषय क्षेत्रका आधारमा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार