
इलाम : इलामको सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा कोशी प्रदेशको पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार विभिन्न एक सय वटा सूचकहरुमा भएको मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहमध्येबाट ९०.५० अङ्कसहित सूर्योदय कोशीका १३७ स्थानीय तहमध्ये पहिलो भएको छ । त्यस्तै, देशभरका ७५३ स्थानीय तहध्ये छैठौं हुन सफल भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । विभिन्न १० वटा विषय क्षेत्रका आधारमा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन गर्ने गरिन्छ ।
सूर्योदय नगरपालिकाले प्रशासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३.५, न्यायिक सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ एवम् सहकार्य र समन्वयमा ५.५ अङ्क प्राप्त गरी प्रदेशमा पहिलो तथा देशमा छैठौं स्थान बनाएको हो । देशकै उत्कृष्ट भने धादिङको नीलकण्ठ नगरपालिका ९३.५० अङ्क ल्याएर बनेको छ ।
सूर्योदय नगरपालिका अघिल्लो आर्थिक वर्ष ०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ९६ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको थियो । त्यसैगरी राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सूर्योदयले ८०.२ अङ्क प्राप्त गरी जिल्ला र प्रदेशमा सर्वोत्कृष्ट हुँदै ७५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । सोही आर्थिक वर्ष आर्थिक विकासतर्फको नजितामा सूर्योदय देशकै सर्वोत्कृष्ट बनेको थियो ।
जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, सक्रियता र साझा प्रतिवद्धताले यो उपलब्धि सम्भव भएको नगरप्रमुख रणबहादुर राईले बताए । नगरपालिकाले स्थानीय शासनलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन स्वमूल्याङ्कनको नजितालाई आधार मान्दै आगामी योजना, नीति तथा कार्यक्रम निर्धारण गर्ने उनले बताए ।
‘जनप्रतिनिधि र कर्मचारी दुवै सामूहिक प्रयासले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सूर्योदयलाई प्रदेमा पहिलो तथा देशभरमा छैठौं बनाएको हो,’ नगरप्रमुख राईले भने, ‘हामी स्वमूल्याङ्कनको नजितालाई आधार मानेर आगामी योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्दै अघि बढ्नेछौं ।’
नयाँ कानुन बनाएर एवम् भएका कानुनहरुको परिपालना गर्दै आर्थिक पारदर्शिता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर सूर्योदय नगरपालिकाले काम गर्दै आएको उनले बताए ।

इलामका १० स्थानीय तहमध्ये इलाम नगरपालिका ९० अङ्कसहित इलाम जिल्ला र कोशी प्रदेशको दोस्रो तथा देशभरमा सातौं स्थानमा परेको छ ।
त्यस्तै, सन्दकपुर गाउँपालिकाले ७९.५ अङ्क प्राप्त गरी जिल्लाका समग्र स्थानीत तहमध्ये तेस्रो तथा गाउँपालिकामध्ये पहिलो स्थान हासिल गरेको छ । त्यसैगरी फाकफोकथुम गाउँपालिकाले ७८.२५ अङ्क प्राप्त गरी चौथो, रोङ गाउँपालिकाले ७८ अङ्क प्राप्त गरी पाँचौ, देउमाई नगरपालिकाले ७७ अङ्क प्राप्त गरी छैठौं स्थान हासिल गरेको छ ।
त्यस्तै, माङसेबुङ गाउँपालिकाले ७४ अङ्क प्राप्त गरी सातौं, चुलाचुली गाउँपालिकाले ७१.५ अङ्क प्राप्त गरी आठौं, माई नगरपालिकाले ६६.५ अङ्क प्राप्त गरी नवौं र माईजोगमाई गाउँपालिकाले ६१.७५ अङ्क प्राप्त गरी दशौं तथा अन्तिम स्थानमा परेको छ ।















































