
इलाम : इलामका एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण सम्पन्न भएका छन् । संघीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन इलामले जनाएको छ ।
सडक डिभिजनका अनुसार सिमलगोलाई-तिल्केनी सडक अन्तर्गत माईजोगमाई गाउँपालिका-४ र इलाम नगरपालिका-१० जोड्ने जोगमाई खोला र केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत इलाम नगरपालिका-९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो ।
कार्यालयका सूचना अधिकारी तथा इन्जिनयर अर्जुन घिमिरेका अनुसार जोगमाई खोलामा १ करोड ९१ लाख २१ हजार ६ सय ३२ रुपैयाँको लागतमा ४० मिटर लम्बाईको बेलिब्रिज निर्माण गरिएको हो । राउत चौधरी जेभीले सो बेलिब्रिज निर्माणको जिम्मा पाएको थियो ।
त्यस्तै पुवाखोलाखमा १ करोड ४३ लाख ७६ हजार २ सय ९७ रुपैयाँको लागतमा ४८ दशमलव ६ मिटर लम्बाईको बेलिब्रिज निर्माण गरिएको हो । सागर/सुभारम्भ/एरिसा जेभीले बेलिब्रिज निर्माणको जिम्मा लिएको थियो ।
बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्थानीयलाई राहत मिलेको छ ।
त्यसैगरी, सोही आर्थिक वर्षमा सक्नेगरी सम्झौता भएको एउटा कल्भर्ट भने निर्माणाधीन छ । केचना-कञ्चनजङ्गा सडक अन्तर्गत ठाडे खोलामा रु १ करोड ८५ लाख ८ हजार ५ सय ३८ रुपैयाँको लागत डबल सेल बक्स कल्भर्ट निर्माणाधीन रहेको सडक डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्मझौता अवधि (असार समासन्त) मा सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि एक पटक म्याद थप गरिएको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए।
४९६.२३ प्रतिशतले राजस्व सङ्कलन वृद्धि
यसैबीच, सडक डिभिजन इलामले आव ०८१/०८२ मा २ करोड २ हजार २ सय ३० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव ०८०/०८१ मा ३३ लाख ५४ हजार ७ सय ९९ रुपैयाँ राजस्व सङ्कलन गरेको सडक डिभिजनले गत आवमा ४९६.२३ प्रतिशतले राजस्व सङ्कलन वृद्धि गरेको हो ।
सडक डिभजनले प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ७३ लाख ५५ हजार ९ सय ७०, बेरुजु फर्छ्यौटबाट ८४ लाख ५० हजार २ सय १३, अन्य राजस्वबा २५ लाख ३६ हजार ४७ र अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६० हजार राजस्व सङ्कलन गरिएको लेखा अधिकृत प्रेमकुमार लिम्बूले जानकारी दिए ।
सडक डिभिजनले गत आवमा सम्झौता गरेर पनि काम नगर्ने ४ वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरी धरौटी जफत गरेको थियो । सडक डिभिजनले मेची राजमार्ग अन्तर्गत बिब्ल्याँटे-राँके सडक मर्मतको जिम्मा लिएको कपिलदेव कन्ट्रक्सन, राँके-फिदिम र बिब्ल्याँटे-माईपोखरी-सन्दकपुर सडक मर्मतको जिम्मा लिएको पिङ्की कन्ट्रक्सन र फिदिम- सुकेटार सडक मर्मतको जिम्म लिएको तिम्सिना निर्माण सेवासँग ठेक्का सम्झौता रद्ध गरी धरौटी जफत गरिएको हो ।
काम ढिलो गर्ने निर्माण कम्पनीलाई हर्जाना लगाइएको, सम्झौता अनुसार काम नगर्ने कम्पनीको कार्यसम्पादन जमानत जफतबाट समेत राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।















































