
इलाम : दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत पहिलो खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी जोड्ने सडकको पहिलो खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो ।
दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्मको ७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्म करिब ६ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । अलिकति मात्र काम बाँकी देखिएको सडक डिभिजन दमकका डिभिजन प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।
‘७ किलोमिटरमध्ये समग्रमा ७५ प्रतिशत काम सकिएको छ’, डिभिजन प्रमुख यादवले भने, ‘दशैंअघि सबै पूरा गर्नेगरी काम भइरहेको छ ।’
महालक्ष्मी–किरातेश्वर जेभीले २०७५ साल साउन २९ गते २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा ठेक्का सम्झौता पाएर ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो । तर, चारपटक म्याद थप्दा पनि काम नसकेपछि अहिले दैनिक जरिवानामा काम गरिरहेको यादवले बतए । अन्तिम पटक थपिएको म्याद ०८० साल असार मसान्तसमा सकिएको थियो ।
कालोपत्रे अन्तिम चरणमा पुगेसँगै माङसेबुङ गाउँपालिका–४ मार्चेबुङ, सिङफेरे, सिमलटारलगायतका बासिन्दा लाभान्वित हुनेछन् । सडक कालोपत्रेसँगै स्थानीयको दैनिक जीवन र बजार आवतजावतमा सहजता मिल्नेछ ।
दोस्रो र तेस्रो खण्ड पुनः ठेक्का प्रक्रियामा
सो सडकको दोस्रो र तेस्रो खण्डका लागि पुनः ठेक्का प्रक्रिया सुरु भएको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक कालोपत्रेका लागि लगत स्टिमेटको काम भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिए ।
‘मन्त्रालयको निर्देशनपछि स्थलगत नापजाँच गरी तथ्याङ्क लिने काम सकिएको छ, त्यही अनुसार अहिले नक्सा बनाउने काम भइरहेको छ’, डिभिजन प्रमुख यादवले भने, ‘नक्सा बनाइसकेपछि लगत स्टिमेट तयारी गरी मन्त्रालय पठाउँछौं ।’ ठेक्का निकाल्ने विषयमा मन्त्रालयले नै निर्णय गर्ने उहाँले बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयलय सो सडकको पुनः लगत स्टिमेट गरी पठाउन साउन पहिलो साता सडक डिभिजन दमकलाई पत्राचार गरेको थियो ।

यसअघि ०७६ फागुन २ गते लुम्बिनी–गणपति जेभीले दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजार रुपैयाँमा ठेक्का पाएको थियो । ०७९ फागुन २ गते म्याद सकिएपनि दोस्रो खण्डमा ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम गरेर छाडेपछि ०८० फागुनमा ठेक्का रद्द गरिएको थियो ।
३३ किलोमिटर लम्बाइको दमक–चिसोपानी सडक झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण वैकल्पिक तथा छोटो मार्ग हो । यसले यात्राको समय र ढसवानी खर्च दुवै घटाउने अपेक्षा गरिएको छ । तर, निर्माण ढिलो हुँदा हिउँदमा धुलो र वर्खामा हिलोका कारण यातायात र जनजीवन वर्षेंखि प्रभावित हुँदै आएको छ ।















































