“भू विक्रम नेम्बाङ” एक अविस्मरणीय स्मृति

आदरणीय दाजु स्व. भू विक्रम नेम्बाङ एक यस्ता व्यक्तित्व हुनु हुन्थ्यो, जसलाई सम्झनु हाम्रो दायित्व, सम्मान र ऐतिहासिक चेतनाको अङ्ग हो। उहाँको जीवन, संघर्ष र विचारहरू केवल व्यक्तिगत सम्बन्धको दायरामा सीमित छैनन्, ती राष्ट्रिय र सामूहिक स्मृतिको अभिन्न हिस्सा हुन्। तर दुःखको कुरा, उहाँप्रति जिम्मेवारी बोध गर्ने, उहाँको योगदानलाई औपचारिक रूपमा सम्झने कार्य संस्था वा सम्बन्धित निकायहरूबाट आज सम्म देखिएको छैन। म स्पष्ट रूपमा भन्न चाहन्छु—ती मौनता, इर्ष्या, लोभ वा उपेक्षाका भावनाहरू सधैंका लागि खारेज गरिनु पर्छ।

उहाँको जन्म मिति बारे थोरै द्विविधा छ। उहाँ आफैंले आफ्नो जन्म महिना कार्तिक भन्नु हुन्थ्यो, तर नागरिकताको अभिलेखमा फाल्गुन उल्लेख छ। उहाँको देहावसान २०७३ साल साउन २२ गते साँझ करिब ४–५ बजेतिर भयो, अन्त्येष्टि साउन २३ गते निन्दा खोलामा गरियो। जीवनको उत्तरार्द्धमा उहाँसँग भेट्ने, संवाद गर्ने अवसर पाएको म आफूलाई सौभाग्यशाली ठान्छु। उहाँ आदिवासी अधिकार र पहिचानको विषयमा सदैव अग्रपङ्क्तिमा रहनु हुन्थ्यो। उहाँको निवासमा नेता अशोक कुमार राई लगायतको राजनेताहरु नियमित भेटघाट, विचार–विमर्शको थलो थियो। “लिम्बू जाति ढुङ्गा-माटोका सन्तान हुन्, मृत्युपछि हाडमासु माटोमा मिल्यो भने पाँच केजी माटो बढ्छ” भन्ने मुन्धुमी दर्शनप्रति उहाँको गहिरो विश्वास थियो। उहाँको इच्छा थियो—मृत्युपछि आफूले माटो थप्ने कार्यमा योगदान पुर्‍याउन। तर परिवारको चाहना, भावनात्मक पाटो र सम्झनाले गर्दा उहाँको शव दहन गरियो। कान्छी छोरीको हालैको असामयिक निधनले परिवार अझै शोकमा छन्। भतिजिनी राधिका जब भेटिन्थिन्, बुवाको सम्झनामा आँखा रसाइ रहन्थ्यो। अन्त्यमा, म आफैँ पनि गफ गर्न सक्ने अवस्थामा रहिन। उहाँको मृत्यु–शोक भोगिरहेकी राधिका पनि अब हामीबीच रहिनन्।

राजनीतिक जीवनमा भू विक्रम दाइ सबैका प्रिय ‘साल्दाइ’ हुनु हुन्थ्यो। बिर्तामोड बस्दाका बेला बारम्बार फोन गरेर बोलाउनु हुन्थ्यो। हामीले घण्टौँसम्म गफ गर्थ्यौँ—देश, जनता, राजनीति, कूटनीति, अन्तर्राष्ट्रिय अवस्था र विचारहरूमा उहाँको ज्ञान विलक्षण थियो। उहाँ सँगको संवादका केही अंश मैले लुकी–लुकी रेकर्ड पनि गरेको छु—त्यति गहिरो, ज्ञानवर्धक थिए ती कुराकानीहरू। चारवटा डिश टावर, फरक–फरक अन्तर्राष्ट्रिय च्यानलहरूको अध्ययन, समाचार विश्लेषण गर्ने उहाँको शैली अद्वितीय थियो। नेपालको राजनीतिक इतिहासमा उहाँको योगदान अविस्मरणीय छ—राजतन्त्र विरुद्ध लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका, हतियार बोकेर प्रतिरोध, जेल–नेल, मुद्दा, सम्पत्ति जफत जस्ता साहसिक मोर्चाहरू उहाँले भोग्नुभयो।

‘बतासी घटना’ एक यस्तो रोचक प्रसङ्ग हो, जहाँ गिरिजाप्रसाद कोइराला र शुशिल कोइराला सहित भू विक्रम दाइको घरमा सुरक्षा निकायले खानतलासी गर्न पुगे। गिरिजाजीले शुशिल लाई सिरानी मुनि चुरोट छ , चुरोट लिएर आउन आग्रह गरे,तर शुशिल कोइरालाले हतियार मात्र देखें ,चुरोट देखेंन , सायद हतियार लुकाउनु भन्ने आशय थियो या कुनै तर बुझ्न सक्नु भएन ,त्यसतै अनुरतित प्रश्न छ । सुरक्षाकर्मीको खानतलासीमा हतियार भेट्यो । तर अन्ततः भेटिएको हतियारलाई आफ्नो भनेर जिम्मेवारी लिने आँट भू विक्रम दाईले गर्नु भएको थियो। नेताप्रति त्यो समर्पण, निष्ठा, आदर्श—आजका दिनमा दुर्लभ भइसकेको छ। मैले आफ्नो स्नातकोत्तर तहको राजनीतिशास्त्रमा “भू विक्रम नेम्बाङको नेपालको लोकतान्त्रिक इतिहासमा योगदान” भन्ने विषयमा शोधपत्र लेखेको छु। त्यो मेरो व्यक्तिगत श्रद्धाञ्जलि हो। उहाँको आदर्श, विचार, सपना र नैतिकताको निरन्तरता कायम राख्नुपर्ने महसुस गर्दै मैले ‘भू विक्रम प्रतिष्ठान’ स्थापना गर्ने सोचसहित विधान समेत तयार पारेको थिएँ। परिवारसँग छलफलको उद्देश्यले धुलाबारीमा परामर्श गरिएको थियो। तर त्यस दस्तावेजलाई खारेज गरियो। त्यो समय अनुकुल भएन होला–विधान आज पनि मेरो साथमा सुरक्षित छ। अहिलेसम्म न कांग्रेस पार्टीले, न परिवारले कुनै आधिकारिक स्मृति संस्था स्थापना गरेको देखिन्दैन्—किन? त्यो प्रश्न अझै अनुत्तरित छ।

हालै फेसबुकमार्फत ‘भू विक्रम नेम्बाङ स्मृति पोखरी निर्माण सिलौटी’ कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य युवा नेता आइन्द्र सुन्दर नेम्बाङको अध्यक्षतामा भएको मात्र देख्न पाइयो। वैधानिक संस्था हो वा होइन, त्यो प्रस्ट थाहा हुन सकेको छैन । तर मेरो आग्रह छ—उहाँप्रति न्याय गरौं, फेरि अन्याय नगरौं। उहाँ सधैं स्मृतिमा जीवित हुनु हुने छ।
गहिरो श्रद्धाञ्जली,
भावपूर्ण सम्झना सहित

मूकुम नेम्बाङ, चिलिङदेन, हाल-काठमाडौं
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा शोधार्थी , ईस्ट ब्लक सेन्टर (East) आवद्ध, थेवा मुन्धुम अध्ययनमा संग्लग्न

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार