
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८/०८३ का लागि स्वीकृत बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।
सन्दकपुर-३ स्थित सेमिच्योङ भवनमा बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री एवम् प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेलीलगायतले बजेट पुस्तिका सार्वजनिक गरे ।
सन्दकपुरले चालु आर्थिक वर्षका लागि ४३ करोड ६१ लाख ८२ हजार २ सय १४ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । सन्दकपुरले गत आर्थिक वर्ष ४२ करोड ४९ लाख ३१ हजार चार सय ४२ रुपैयाँको बजेट बनाएको थियो ।
सन्दकपुरले आन्तरिक आम्दानीबाट २ करोड ४४ लाख ८६ हजार ३ सय ६३ रुपैयाँ, जनसहभागिता बापत ५७ लाख ३३ हजार ८ सय ३० रुपैयाँ, संघीय सरकार समानीकरण अनुदान आठ करोड ४० लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख ९५ हजार रुपैयाँ, संघीय सरकार राजस्व बाँडफाँडबाट ७ करोड ८२ लाख ८८ हजार २१ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकार सवारी साधन करबाट ६१ लाख २४ हजार रुपैयाँ, प्रदेश सरकार समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान चालु १५ करोड ८३ लाख रुपैयाँ, संघीय सरकार सशर्त अनुदान पूजिँगत अनुदान ३ करोड ६ लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान चालु ९ लाख ८० हजार रुपैयाँ र प्रदेश सरकार सशर्त अनुदान पूजिँगत अनुदान ६८ लाख ५० हजार रुपैयाँ प्राप्त हुने छ ।
संघीय सरकार समपुरक अनुदान ८७ लाख र संघीय सरकार विशेष अनुदान १ करोड ४ लाख रुपैया आम्दानी विनियोजन गरेको छ । सन्दकपुरले विषयगत क्षेत्रतर्फ आर्थिक विकास क्षेत्रमा ५ करोड ११ लाख ७८ हजार ४ सय ६० रुपैयाँ, सामाजिक विकास क्षेत्रमा २१ करोड १५ लाख ५७ हजार ५ सय रुपैयाँ, पूर्वाधार विकास क्षेत्रतर्फ ६ करोड २० लाख ३ हजार ५ सय ७२ रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड १५ लाख ४२ हजार ८ सय ३० हजार रुपैयाँ र प्रशासनिक खर्चतर्फ ८ करोड ९८ लाख ९० हजार ८ सय ५२ रुपैयाँ विनियोजन गरेको छ ।

कार्यक्रमको अवसरमा विभिन्न विषयमा योगदान गर्नेलाई सम्मान गरिएको थियो । सन्दकपुर गौरवको रुपमा सगरमाथा आरोह गरेका भारतीय सेनामा कार्यरत सन्दकपुर–१ का राजेन्द्र सुनुवार मुखियालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा एसईई र आधारभुत तहमा पालिका उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ ।

आधारभुत तहमा श्यामवल माविबाट ३.८१ जिपिए ल्याउने इशा गुरुङ र सेनु राई, माइपोखरी एकाडेमीबाट ३.७४ जिपिए ल्याउने सिद्धार्थ बुर्जा मगरलाई सम्मान गरिएको छ । एसईईमा सरस्वती माविबाट ३.७० जिपिए ल्याउने सुलोचना गड्तौला र ३.५५ जिपिए ल्याउने सम्पन्न सापकोटा समेत सम्मानित भएका छन् । उनीहरुलाई नगद १६ हजार र कदरपत्रले सम्मान गरिएको छ । उत्कृष्ट विद्यालयको रुपमा सरस्वती मावि र उत्कृष्ट राजस्व संकलक कालापोखरीका पेम्बा शेर्पालाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य लिम्बू, जिसस प्रमुख राई, नेकपा एमाले सन्दकपुर अध्यक्ष दिपक गुरुङ, नेपाली कांग्रेसका सन्तोष खतिवडा, समाजसेवी प्रेम नाछिरिङ राई, देवन्द्र सुवेदी, मंगोल नेश्नल अर्गनाइजेसनका अध्यक्ष राम राई, सम्मानित सगरमाथा आरोही सुनुवारलगायतले मन्तव्य राखेका थिए ।
साथै गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा समेत गरिएको छ । सन्दकपुर गाउँपालिकाको तर्फबाट गाउँ कार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र वडा कार्यालयहरुबाट एक वर्षको अवधिमा भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति विवरण आन्तरिक लेखा परिक्षक सरोज दाहालले प्रस्तुत गरी समीक्षा गरिएको हो ।
त्यस्तै, गत आर्थिक वर्ष २०८१/०८२ अन्तिम चौमासिक सार्वजनिक सुनुवाई समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा विकास निर्माण, सुशासन, कृषि लगायत विविध विषयमा १० जनाले गुनासो र सुझाव राखेका थिए । सहभागीहरुको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, २ नं. का अध्यक्ष सनम राई र ३ नं. वडा अध्यक्ष लिलfबहादुर बुर्जाले दिएका थिए ।
कार्यक्रम गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत १ नं. का अध्यक्ष एवम प्रवक्ता रहरकुमार राईले र औचित्यमाथि गाउँपालिका उपाध्यक्ष लुङ्गेलीले प्रष्ट पारेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवी, सरोकारवाला एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो ।






















































































