
अहो ! कति छिट्टै २०८२ श्रावण दुई गते भइसकेछ । आज त लिम्बू जातिको सिसेःक्पा तङ्नाम साउने सङ्क्रान्ति पर्व पनि हो । फेदेन बजार पूरै सुनसान छ । सायद, रातभरी अनिकाल खेदाएर थाकेका होलान् यहाँका मान्छेहरु । कोही पर्व मनाउन गाउँघरतिर गएका होलान् । कोही पाहुनापात लागे होलान् आफ्ना आफन्तकामा । आज सधैंको जस्तो तामझाम र रौनकता देखिंदैन फेदेन बजारमा । राती सामान्य वर्षा भएको हुँदा खुसीको सास फेर्देछन् वनस्पतिका लतिकाहरुले । धेरै मित्रजनहरुले आज राँके मेलामा भेटौं है भन्ने खबर खसालीरहेका छन् मेरा म्योसन्जरमा । मैले कुनै प्रतिक्रिया दिन सकेको छैन । किनभने आज मेरो यात्रा ताप्लेजुङ सम्मको हुनेछ । ‘ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान’ गठनको निम्तो छ मलाई । मैले प्रमुख आतिथ्यता स्वीकार गरिसकेको छु । वचन दिइसकेको छु आयोजकलाई ।
आज बिहानैदेखि ताप्लेजुङ जाने तम्तयारीमा कस्सिएको छु । ताप्लेजुङ भन्ने वित्तिकै मेरो मन हुरुक्क भइहाल्छु । किनकि अत्यन्तै मनोरम दृश्यहरु देख्न पाइन्छ ताप्लेजुङमा । मुन्धुमका उद्गमस्थलहरुमा विचरण गर्न पाइन्छ । यहाँ धेरै मार्मिक किंवदन्ती र आख्यानहरु सुन्न पाइन्छ । मेरो लागि यो भन्दा आनन्ददायक कुरा अरु केही छैन । यतिकैमा विहानीको आठ बजिसकेको छ । आजको यात्रामा म सँगै हुनेछन् मित्र सुर्य योङहाङ । उनीसँग यात्रा गर्दा निकै होसियारी अपनाउनुपर्छ । उनी एक गम्भीर अध्येता हुन् । बाटोभरि चाम्राचाम्रा प्रश्नहरु सोधेर हत्तुहैरान पार्छ । आकाशमा बादलका टुक्राहरु पूर्वको क्षितिजमाथि–माथि दौडिरहेका छन् । हामी फेदेन बजारको गणतन्त्रचोक मोडिएर जोरसाल हुँदै हेंवा खोला पुग्छौँ । हेँवा खोलामा पुल छैन । यहाँको पुल बगाएको दुईतीन वर्षा भइसक्यो । यसपाली नयाँ बेलिब्रिज बनाउँदा–बनाउँदै भत्किएर तीनजना मजदुरहरुले अकालमा ज्यान गुमाइसकेका छन् । वारीपारीको भीरपखेराहरु उदास–उदास देखिन्छन् । एकदम उराठलाग्दो बनेको छ हेँवा खोला । खोला तर्नलाई होमपाइप राखिएको छ । हामी खोला तरेर भारापाको उकालो घुम्तीहरु छिचोल्दै चतुरे, जोरपोखरी र गोपेटार पुग्छौँ । गोपेटारको खास मौलिक नाम पेँवायाक्पा हो । यहाँनेर पहिले धेरै मृगहरु पाइने ठाउँ भएको हुँदा पेँवा याक्पा भनिएको रहेछ । यहाँबाट उँधो सुभाङगाउँमा एक नजर फाल्छु । सुभाङगाउँलाई भुँइकुहिरोले पूरै चुम्बन पोतिरहेको छ । तेर्पेतेर्पे परेको यस गाउँमा महान प्रतिभाहरु जन्मिएका छन् । ती नामहरु एकैचोटी सम्झिन्छु– डा. डिल्ली तिम्सिना, खगेन्द्र संग्रौला, डा. युवराज संग्रौला, डा. रमेश शुभेच्छु, विद्या निर्दोषी र संगम सुहाङहरु । उनीहरुले नेपाली वाङ्मयको आलोकमा अद्वितीय योगदान पुर्याइसकेका छन् । यस गाउँसँग मेरो पनि अमिट सम्झनाहरु सँगालिएका छन् । म यस गाउँमा उहिले पटक–पटक पाहुना आएको छु । यहाँका मेन्छ्याहरुको हात समातेर धाननाचेको छु । बेस्सरी पालाम गाएको छु । पत्रमित्रता गरेको छु, तर, अचेल ती तरुनीहरु कोही पनि यस गाउँमा छैनन् । प्रायः गाउँघर शून्य–शून्य हुँदै गएको छ ।
समय एकनासले बगिरहेको छ । हामी गप्फिदै ओरालै–ओरालो हान्निन्छौँ । सुनुवार गोलाई मोडेर गणेशचोक हुँदै भालुचोक पुग्छौँ । भालुचोकमा एकछिन् बिसाएर चिया चमेना गर्छोँ । भालुचोक नाम कसरी रह्रयो भन्ने बारेमा मैले पहिले नै सुनेको थिएँ । यहाँ एकजना जसकर्ण लिङदेन नाम गरेका मेरा पुराना साथीको घर छ । उसको जिस्काउने नाम भालु रहेछ । उनी यहाँ बस्ने भएकोले उनकै नामबाट भालुचोक भन्न थालिएको रमाइलो कथा जोडिएको छ । यहाँबाट अगाडि बढ्दा बाटाको दायाँबायाँ च्याबु्रङ भिरेर उभिएका लिम्बुनी युवायुवतीहरु जस्ता देखिने मकैका बोटहरु असल्ल उभिएका छन् । बाटैभरी ढाकीका ढाकी टमाटरहरु बेच्न राखिएका छन् । खेतहरु ताछेर नाङ्गेभुतुङ्गे पारिएका छन् । यस पटक समयमै वर्षा नभएको हुँदा कतै रोपाइँ भएको देखिंदैन । कृषकहरुमा उदासिनता छाएको छ ।
सिंहपुरमुनि पुगेपछि पूर्वतिर फर्केको एउटा उदास घर देखिन्छ । म यस घर देखेर द्रविभूत हुन्छु । यो घर मेरो आफ्नै जेठी फूफूको छोरा सिकारे नाम गरेका लुङाको हो । यस ठाउँमा सिकारे अत्यन्तै चर्चीत पात्र हुन् । उनी नामुद फौदारी थिए । उसले बैसमा कति मान्छेलाई गोदे–गोदे गनेर सम्भव नै छैन । दश वर्षे जनयुद्धको समयमा पनि शाही सेना र लालसेनाहरुलाई काबुकाबु बनाएका थिए रे । पाँच वर्ष अघि मात्रै उनको देहावसान भयो । त्यसपछि छोराहरु र श्रीमती मात्रै यस घरमा बसेका थिए । पोहोरसाल भाउजूू पनि ताप्लेजुङतिर पोइला हिंडिन् अरे । यस घरमा भाउजू पोइला हिंड्नुभन्दा एकहप्ता अगाडिमात्रै म पुगेको थिएँ । भाउजूले खूबै मीठो मेजमान ख्याएकी थिइन् । ती सबै–सबै अनुपम क्षणहरु मेरो मस्तिष्कमा ताजा भएर आउँछ । उसो त यो हेम्ब्या गाउँ सानो छ तर कहलिएको छ । यहीँ गाउँका हुन् जी.बी. याक्थुङबा पनि । नेपाली राजीतिको वृत्तमा जी.बी. याक्थुङबाको नाम नसुन्ने शायदै होलान् । अहिले यस गाउँलाई अमरपुर भनिन्छ । यसको खास मौलिक नाम आङबुङ हो । ठूलाठूला सल्लाका बोटहरु भएको ठाउँ भएकाले यस ठाउँलाई लिम्बू भाषामा आङबुङ भनिएको हो । पहिले–पहिले यहाँका मान्छेहरु हाम्रो गाउँमा पाहुना आउँदा आङबुङगे पाहुनाहरु भन्थ्यौँ । मनभरी कुरा खेलाउँदै काबेली बजार पुग्छौँ । सानो तर मनोहरी काबेली बजारको दाँयाबाँया पसलहरु छन् । हरेक पसलको अगाडि सुख्खा माछाहरु पेरेङ्गोमा तुर्लुमतुर्लुम झुन्ड्याइएका छन् । काबेली खोलामा धमिलो पानी बगिरहेको छ । यस खोलाको नाम पनि मौलिक भाषामा काङवामा हो । यस खोलासँग जोडिएका अनेक किंवदन्तीहरु छन् । मुन्धुममा यस खोलाको विशेष वर्णन गरिन्छ । समयक्रममा अपभ्रंस भएर अहिले काबेली खोला भन्न थालिएको छ ।
पान्थर र ताप्लेजुङ जिल्लाको सीमाना नाघेर अगाडि हान्निन्छौँ । मेरो मोबाइलको रिङटोन बज्छ । यसो हेर्छु मनिष हेल्लोकले फोन गरेको रहेछ । आउँदै गरेको खबर गरेर उकालो अप्ठ्यारो बाटो समात्छौँ । बाटोको छेउछेउका बारीहरुमा घामको शासन अचाक्ली भयो भन्दै उभेका छन् उतिस र चिलाउनेका बोटहरु । एकैछिनमा सेसम्बु पुग्छौँ । यस ठाउँको खास मौलिक नाम ससिङबुङ रहेछ । लिम्बू भाषामा सालको रुखलाई ससिङ भनिन्छ । यहाँ प्रसस्त सालको रुख पाइने भएकोले यस ठाउँको नाम ससिङबुङ भनिएको रहेछ तर अहिले अपभ्रंस भएर सेसम्बु भन्न थालियो । उकालो, तेर्सो र घुमाउरो बाटो हुँदै ल्याङ्बा पुग्छौँ । यस ठाउँको मौलिक नाम लेःङबा रहेछ । यस ठाउँ कालोपत्रे हुनुभन्दा अगाडि सारै चिप्लो थियो अरे । लिम्बू भाषामा चिप्लो हुनु/चिप्लिनुलाई लेःङबा भनिन्छ । लेःङबा हुँदै अपभ्रंस भएर ल्याङबा भएको रहेछ । त्यस्तै गरेर मेवाखाको नाम पनि मेःक्वाखा रहेछ । लिम्बू भाषामा चमेरालाई मेःक्वा भनिन्छ । उहिले यस ठाउँमा प्रसस्त चमेरा पाइने हुनाले मेःक्वाखा भनिएको रहेछ । फुङलिङ् बजारको नाम पनि फुङलेङ रहेछ । यहाँ पहिले बुक्की फूलको प्रसस्त भएको हुँदा फूलहरु फाँडेर बस्ति बसाएका रहेछन् । लिम्बू भाषामा फाँड्नुलाई लेःङमा भनिन्छ । फूलहरु फाँडिएको हुँदा फुङलेङ भनिएको र पछि समयान्तरमा अपभ्रंस भएर फुङलिङ बन्न गएको रहेछ । यो कुरा केही समय अगाडि मात्रै प्राज्ञ दिलेन्द्र कुरुम्बाङ र साम्बा सरोज कङलिबाबाट सुनेको थिएँ । साँच्चै आज मौलिक स्थाननामहरु दिनदिनै अपभ्रंस हुँदै गएका छन् । यसले यहाँका रैथानेहरुको सभ्यतामाथि नै आँच ल्याउन थालेको छ । यसलाई पुनः मौलिक नाममा फर्काउन सके कति जाति हुन्थ्यो ! कुनै ठाउँको नाममा केवल नाम मात्रै हुँदैन । त्यस ठाउँमा बस्ने जातिको इतिहास र सभ्यताको निशानी पनि हुन्छ । यस्तो कुराले मलाई बेचैन बनाइरहन्छ ।
बाटामा अनेक विषय र सन्दर्भहरुमा गप्फिदै र हँसिमजाक गर्दे फुङलिङ पुग्छौँ । त्यसछि नवीन पोमुको होटलमा पुगेर नवीन पोमुलाई फोनसम्पर्क गर्दा आफू कार्यक्रममा गइसकेको र भोजनको व्यवस्था पनि उतै गरेको खबर दिए । हामी सरासर जानुइन होटलमा पुगेर बिसाउँछौँ । निक्कै भोक लागिसकेको थियो । भूँडीमा मुसाहरुले आतङ्क मच्चाउन थालिसकेका थिए । केही पनि सोच्न सकिरहेको थिइन । कार्लमार्क्सले त्यसै भनेका होइन रहेछ ‘‘मानिसको विचारले भूँडी हुँदै यात्रा गर्छ । यदि भूँडी खाली थियो भने उसको यात्रा भूँडीमा पुगेर रोकिन्छ ।” मलाई पनि यस्तै प्रतीत भइरहेको थियो ।
जानुइन होटल बढो गजबको रहेछ । मौलिक प्रकृतिको घर बनाइएको रहेछ । घरको भित्ताभरि सिलामसाक्मा, तोङबा र च्याबु्रङको चित्र कोरिएको छ । युवतीहरु मौलिक भेषभूषामा जाँतो पिन्दै गरेको, तान बुन्दै गरेको चित्रहरु रहेछन् । आहा ! यस घरले मलाई मोहित बनायो । एकछिन् त मैले निर्मिमेष हेरिरहें । आयोजक साथीहरु धमाधम कार्यक्रम स्थल सिंगार्दे थिए । हामीलाई खाना खाइहाल्नु भनेपछि खाना खान भित्र छिर्यौँ । आहा ! कति मीठो खाना । दालभात, तरकारी, अकबरे र रक्तिसँग मिसाइएको च्वाँचेको मासु बटुकाभरिभरि । एसो खाना हेरेपछि किचनको बहिनीलाई सोधें । नानी यो होटल के थरीको हो ? बहिनीले लिम्बुको हो भन्ने सटिक उत्तर दिइन् । मैले अघि नै लिम्बुको हो भन्ने अन्दाज लगाइसकेको थिएँ । किनभने लिम्बू जातिको होटलमा अरुकोमा भन्दा अलिक बढी नै मासु दिन्छन् । खाना खान सुरु गर्देमात्र थियौँ । प्रदेश एकका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ देखा पर्यो । मैले आसेवारो भनें । उनीसँग केही छोटो बातचित भयो । उनकै होटल रहेछ भन्ने थाहा भयो ।

खाना खाइसकेर कार्यक्रमस्थलमा प्रवेश गर्यौँ । हलभित्र अघि नै उपस्थित भएका रहेछन् । ताप्लेजुङका सर्जकहरु । प्रशिद्ध स्रष्टा लेकाली कान्छा ‘मुक्कुम’, सीता पिरती, मनेष हेल्लोक, नवीन पोमु, मुक्साम लाबुङ, विरही कान्छा, केबी किराती, लगायतका साहित्यकारहरु । एकैछिनपछि औपचारिक रुपमा कार्यक्रम सुरु भयो । कार्यक्रमको अध्यक्षता लेकाली कान्छा ‘मुक्कुम’ ले गरे । प्रमुख अतिथि र विशिष्ट अतिथिहरु क्रमशः मधुराज केरुङ, प्रदेश एकका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य पराग, पहिचानवादी नेता कीर्तिमान मादेन, सामाजिक अभियन्ता खगेन्द्र फेम्बु, संयुक्त पहिचानवादी मोर्चा ताप्लेजुङका अध्यक्ष प्रदीप मादेन, सूर्य योङहाङ लगायतका व्यक्तित्वहरुको आसणग्रहण भयो । दर्शकदीर्घामा थुप्रै व्यक्तित्वहरु बिराजमान थिए । स्वागत मन्तव्यको क्रममा मनिष हेल्लोक र नवीन पोमुले साहित्यको श्रीबृद्धिका लागि ‘मुक्कुमलुङ साहित्य प्रतिष्ठान’ गठन गर्न लागिरहेको कुरा खुलस्त पारे ।
मन्तव्यको क्रमसँगसँगै साहित्य वाचन पनि मिसाइयो । अतिथिका मन्तव्यहरुसँगै लीला सुनुवार, नवीन पोमु, सीता पिरती, सुवास रिजाल र लेकाली कान्छाका कविताहरुले सुनमा सुगन्ध थपे । कार्यक्रमका वक्ताहरुको एउटै सारकुरा थियो । समाज र देश परिवर्तनमा साहित्यले महत्त्वपूर्ण भूमिका खेल्छ । अब यसको निमित्त ताप्लेजुङका सर्जकहरु जुर्मुराउनुपर्छ र एकताबद्ध हुनुपर्छ ।
कार्यक्रमको अन्त्यतिर मेरो बोल्ने पालो आयो । आफ्नो मन्तव्यसँगै ‘मुक्कुमलुङ साहित्य प्रतिष्ठान’ को नवगठित नामहरु प्रमुख अतिथिकै मुखाराबिन्दुबाट घोषणा गर्न लगाए । अध्यक्ष : मनेष हेल्लोक, उपाध्यक्षहरु : मणि सेम्बु, नवराज आचार्य, मुक्साम लाबुङ, महासचिवहरु : पोमु केत्छाम र सीता पिरती, सचिव : देवानसिं मादेन, सहसचिव : के.बी. किराती, कोषाध्यक्ष : लीला ‘आँशु’ सुनुवार र सदस्यहरु : विवश केदेम, जीवन कालिकोटे, विनीता फेयङ, आलोक माबोहाङ, भीम अधिकारी, सुवास रिजाल, विपना राई, पोष्ट बहादुर गुरुङ, नरेश मादेन, दिल बहादुर मादेन, राम जी लिङदेन, चन्द्र पराजित, शान्ति फियाक, मनु माबो, लक्ष्मी मादेन, सरिता गुरुङ, एन. पी. गाउँले, जीतेन चेम्जोङ, योगेन्द्र खिम्दिङ, रामप्रकाश मेन्याङबो, नेत्र अबिरल, संघर्ष बेघा र बरिष्ठ सल्लाहकारमा लेकाली कान्छा ‘मुक्कुम’ लाई जोडदार तालिले अनुमोदन गरे । यो कार्य आफैमा ऐतिहासिक थियो । मेरो स्मृतिमा यो दिन सधा–सधा जीवन्त रहने छ ।
नेपालमा साहित्यिक संस्थाको इतिहास हेर्ने हो भने २००४ सालमा गठन भएको ‘नेपाल साहित्य परिषद’ नै जेठो देखिन्छ । यसको केही वर्षपछि मुलुकमा प्रजान्तत्रको उदय भयो र त्यसपछि बग्रेल्ती साहित्यिक संस्थाहरु खुल्न थाले । आजपर्यन्त पनि मुलुकैभरि यस्ता संस्थाहरु गठन भइरहेका छन् । कतिपय संस्थाहरु बन्द पनि भइरहेका छन् । यस्तो पवित्र कार्य आफैमा सुखद पक्ष हो तर संघीय नेपालमा स्थानीय सरकारले स्थानीय एकेडेमीहरु गठन नगर्नु, कतिपय प्रादेशीक स्तरमा पनि अहिलेसम्म गठन हुन नसक्नु दुःखद कुरा हो । यसलाई सरकारको अकर्मण्यता भनौं कि ! वाङमयप्रतिको उदासिनता भनौं ? जसो भने पनि बिडम्बना मान्नुपर्छ ।
संविधानतः नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ तर यहाँका शाषकहरुको चिन्तन केन्द्रीकृत र एकल नश्लबादी नै छ । उच्च जातीय अहङकारवाद, केन्द्रीयतावाद, पुरुषवाद, कुपमण्डुकतावाद जस्ता सङकुचित मानसिकताको दलदलबाट मुलुक माथि उठ्न सकेको छैन । यसको प्रभाव सोझै भाषा र साहित्यमा प्रतिध्वनित भएको पाइन्छ । यस प्रकारको प्रवृत्तिले मूलत : मुलुकलाई अग्रगामी दिशामा मार्गनिर्देश गर्न सक्दैन । मौलिक नेपाली साहित्यलाई सदैव परहेज गर्छ । अबको सर्जकहरुले यसको प्रतिरोध गरेर जरुर कलम चलाउनुपर्छ । सत्ता र शक्तिको खिलाफमा उभिएर कलम चलायो भने मात्र स्रष्टाहरुले समाजका भुँइमान्छेहरुको यथार्थ प्रतिबिम्ब उतार्न सक्छ । ‘समुदाय र समाजको मूल समस्यासँग नजोडिने साहित्य कुखुराको प्वाँख जत्ति पनि गरुङ्गो हुँदैन’ । मलाई पूर्ण विश्वास छ । ताप्लेजुङका स्रष्टाहरुले जिम्मेवारीपूर्वक साहित्य सिर्जना गर्नेछन् । आफ्ना स्वअस्तित्वबोध सहित उभिनेछन् । ‘मुक्कुमलुङ साहित्य प्रतिष्ठान’लाई नेपाली साहित्यको इतिहासमा बलियो गरी स्थापित गराउनेछन् । थुप्रै वजनदार पुस्तकहरु लेख्नेछन् । सर्जकहरुको उत्पादन गर्नेछन् । पुरस्कारको स्थापना गर्नेछन् । स्रष्टाहरुलाई सम्मान गर्नेछन् । ताप्लेजुङमा पूरै साहित्यिक माहौल बनाउनेछन् । जुन कार्यले ताप्लेजुङ जिल्लाको शिर चम्जमलुङ जस्तै अटल रहनेछ भनेर मैले आफ्नो कुराको बिट मारें ।
अहो ! कति चाँडै दिन ढल्किसकेछ । पश्चिम क्षितिजमा घाम अस्ताउन एक जुवा मात्रै बाँकी छ । हामी आयोजकसँग विदावारी भएर गृहजिल्ला फक्यौँ । हामीलाई पखेटा फिंजाएर रातले लखेटिरहेको छ । उसैगरी बगिरहेको छ काबेली खोला । उसैगरी रिसाइरहेको छ हेँवा खोला ।














































