कुलु रिदुम्‌: कुलुङ संस्कार-संस्कृतिको साँगोपांगो जानकारी

  ललदूम कुलुङ
119 Shares

नेपालमा बसोवास गर्ने धेरै कम आदिवासी जनजातिहरुमा मात्रै आफ्‌नो धर्मकर्म गर्ने क्रममा बिजुवा, धामी, झाँक्री आदिले फलाक्दाखेरि पुकार्ने, पतुर्ने शब्द (मन्त्र) हरु अथवा भनौं कुलुङ हरेक कर्मकाण्डमा उच्चारण गरिने मुन्धुमी शब्द (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्‌) लिखित रुपमा संरक्षण गरेर राखिएको भेटिन्छ । फलतः नेपालमा बसोवास गर्ने अधिकांश आदिवासी जनजातिमा आफ्‌नो धर्मकर्म गर्ने क्रममा बिजुवा, धामी, झाँक्री आदिले मुखैले जे जानेको पतुर्ने गरेका छन्, फलाक्ने गरेका छन् । जसलाई पूर्वतिरका किरातीहरु जस्तै कुलुङ, सुनुवार, याक्खा, लिम्बु आदि जातिमा ‘थुतुरी वेद’ भन्ने गरिन्छ ।
त्यसो त कुलुङ जातिमा चाहिँ हरेक कर्मकाण्ड र विधि विधान एकै व्यक्तिले गर्न सक्दैनन् । त्यसका हर एक कमका लागि अलग व्यक्तिहरु तोकिएको हुन्छ । अथवा भनौं समाजले चुनेको हुन्छ, स्वीकारेको हुन्छ । त्यसरी चुनिएका वा भनौं समाजले स्वीकार गरेको नोक्छो, नागीरे, रोङ्छोप, वैदाङ, मोप, भैरुङ, सातीपूस, मोसोछा, लाछोछा, कूबीमी, खूलू रहेका हुन्छन् । त्यसमा पनि तहअनुसार विभाजनहरु ग्रिएको हुन्छ । जस्तै मोपमा पनि सेलेमोप, देदाम मोप आदि नीहरुका प्रिस्ट पण्डित अथवा भनौं मानिसले गर्दै आएका कर्मकाण्डहरुका सम्बन्धमा लिखित त्यस्तो केही भेटिएको छैन, जसरी हिन्दु धर्मालम्बी, बौद्ध धर्मालम्बी, क्रिश्चियन धर्मालम्बी, जैन धर्मालम्बी, शिख को किराती महाजातिभित्रका कुलुङ जातिको जन्म, विवाह, मृत्यु आदिका बारेमा लिखित त्यस्तो दस्तावेज केही तयार भएको थिएन । फलतः अहिलेसम्म ‘थुतुरी वेद’ भनीकन मौखिक रुपमै हाम्रा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले जे जानेको रीसीवा मन्त्र–तन्त्र र, परम्परागत रुपमा आफूभन्दा पहिलेका नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले फलाक्दै, गाउँदै आएको रीसीवा जुन हो, त्यो सुनेको आधारमा र आफूले टिपेको अर्थात् व्यक्तिस्वयम्‌ले याद गरेको भरमा जे जानेको छ, सोही आधारमा नयाँ उत्रने धामी–झाँक्रीहरुले फलाक्ने गरेका छन् । हुनत कुलुङ जातिमा जो नयाँ धामी–झाँक्री उत्रने गर्छन्, उनीहरुलाई आफ्‌नो गुरुले सम्पूर्ण रुपमा तन्त्र–मन्त्रले सक्षम बनाएर मात्रै, सम्पूर्ण रुपमा विद्या दिएर मात्रै धामी–झाँक्री बन्न/उत्रन अनुमति दिन्छ भन्ने जन विश्वास रहेको छ ।
जे होस्, धेरै लामो समयपछि कुलुङ जातिको उत्पत्ति, कुलुङ जातिको संस्कार, संस्कृति, पूजा विधि, पूजा गरिनुपर्ने कारण, चालचलन, रीतिथिति, परम्परागत कानुन, लोक मान्यता, लोक विश्वास, वंश–परम्परा, पिता–पूर्खाको इतिहास, ऐतिहासिक भूमि, नाता–सम्बन्ध, देवी, देवता, विवाह, विवाहका प्रकार, मृत्यु, मृत्युका प्रकार अनि त्यस्ता मृत्युमा गरिने, फरक फरक विधि र विधानहरु, साइपोम (शिर उठाउने), कुलुङ धामी–झाँक्रीहरुले नाच्ने विभिन्न खालका नाच र ती नाचका पनि अनेकौं प्रकार लगायत कुलुङ जातिमा मानिस जन्मेदेखि नमरेसम्म गरिने एक–एक विधि विधानका सम्बन्धमा डिठ्ठो नबिराईकन मेसैसँग टिपोट गरेर लेखिएको बृहद् रुपको किताब (सोक्सोहर) नाम हो, ‘—कुलु रिदुम् ।’
हुनत यो कामको सुरुवात चाहिँ विगत ५, ६ वर्ष नै सुरु गरिएको हो भने, यसको सुरुवात चाहिँ ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम) बाला इकाई’ संखुवासभाले गरेको हो । त्यसै क्रममा बालाकै प्रेमचन्द्र सोम्फोरु (तर, यो किताबमा सम्फरु लेखिएका्‌े छ ।) जे–जस्तो भए तापनि प्रेमचन्द्र सम्फरु ज्यूले सो किताब (नाम अर्कै रहेको थियो) लाई फाइनल रुप दिने क्रममा हेर्दा त्यसलाई त अझ बृहत रुपमा समेट्न सकिने संभावना देखेपछि उहाँले विसं २०७९/०८० देखि नै अनौपचारिक रुपमा जे–जति नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिलाई भेट्न र सम्पर्क गर्न सक्नु भयो उहाँहरुलाई भेट्ने, सोध्ने, खोज्ने र लेख्ने क्रम सुरु गर्नु भयो ।
त्यसै क्रममा फाइनल गर्न भनी गएको वैसाख २९ (विसं २०८१) गतेदेखि जेठ ४ गतेसम्म संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गाउँ पालिका वडा नम्बर–३ ताम्कूको लकूवा गाउँमा वृहद रुपमा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू एवम् कुलुङ बुद्धिजीवीहरुका साथै सरोकारवालाहरुलाई भेला गरेर छलफल एवम् बहस चलाएर अन्तिम निचोड निकालिएको थियो । अझ त्यसलाई पनि अन्तिम रुप दिन लेखक पे्रम च्रन्द्र सम्फोरु ज्यू, जंगबहादुर दावार लगायतको टोली कुलुङ जाति ऐतिहासिक भूमि अर्थात् आधुनिक मानव विकासका क्रममा घुमन्ते तथा शिकारी युगका साथै कृषि युग सुरु भएपछि कुलुङ चार पूर्खाहरु राताप्खू खप्दूलू, ताम्सी र छेम्सीले स्थाई रुपमा रासोबासो सुरु गरेको भूमि ‘महाकुलुङ भूमिको विभिन्न गाउँका पिता पूर्खाहरुलाई भेट्न र उनीहरुका राय सल्लाह लिन जानु भएको थियो ।
हुन पनि आजै, अहिल्यै हामी कुलुङ जातिका पढालेखा, विद्धान, सामाजिक कार्यकर्ता तथा अगुवा केही जान्ने बुभ्‌mने मानिसहरुले हाम्रो पिता पूर्खाहरुको इतिहास, हाम्रो ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, मेला, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरुको इतिहास, त्यसमा पनि अझ खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आप्‌mनो काम–कर्म गर्ने– गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) र फर्कने बाटाको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोडमा आएको छ । निश्चय नै एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएअनुसार युद्ध हुने क्रममा हार्ने पक्षका लागि लडेका–लड्ने इच्छा देखाएका किरातीका सन्तान हामी एक जाति मात्रै नभएर महाजाति, सभ्यता, इतिहास, भूगोल, धर्मका रुपमा पनि स्थापित भएको किरात वा किरती हौं । हो, त्यही महाजातिभित्रको एक जाति हो ‘–कुलुङ जाति ।’
यसरी हेर्दा कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत, संगीत, बाजागाजा, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरु, त्यसमा पनि खास गरिकन नागीरे, नोक्छो, कूबीमी, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आप्‌mनो कर्म गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरु पुग्ने अन्तिम विन्दु (ठाउँ) हरुको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नु पर्दाखेरि कुलुङ जातिमा रहेका विभिन्न संस्कार र संस्कृतिहरुमा जन्म संस्कार, विवाह संस्कार, विवाहमा पनि २/३ प्रकारका विवाह, मृत्य संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’, ‘चीचीमा सी’ र…आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको छ, सो किताबमा ।
निश्चय नै माथि भनिएझैँ एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएका किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा सबै कुरो ७ दिनको छलफल, अन्तक्रिया र बहसमा आउने कुरो भएन, आउन सक्दैन । र, यस्तो कुरो कसैले आशा गरेको पनि हुँदैन, गर्नु हुँदैन । तर पनि ७ दिने कार्यक्रममा उपस्थित हुनु भएका हाम्रा आदरणीय खूलू (पूर्खा) हरुले सौहार्दपूर्ण ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल बहस गरेर एक मतले यो कुरो यस्तो हो है भनी निचोड निकाल्दै पारित गरेका थिए । जुन कुरो (खूलू ज्युहरुको निचोड) लाई प्रेम सम्फोरु ज्यु (उहाँ आफूले आफूलाई प्रेम किराती लेख्नू हुन्छ, प्रेम किरातीको नामले चिनाउनु हून्छ) ले लिखितमा उतार्नु भएको थियो । सो काम फाइनल गेर हालै (जेठ अन्तिम २०८२ मा) किताबका रुपमा प्रकाशित गरिएको हो । यस्तो ऐतिहासिक कामको सबैभन्दा ठूलो जस प्रेम सम्फोरु ज्युलाई नै जान्छ । किनभन्देखिन् उहाँ एक धनी एवम् सम्पन्न परिवारको मान्छे भएर पनि अझ त्यसमा पनि नेपाल सरकारको निजामती कर्मचारीको राम्रै पदमा रहेर पनि उहाँले आप्‌mना समुदाय एवम् भावी पुस्ता र समग्र कुलुङ जातिको लोप हुन लागेको, कतिपय त लोप भएको संस्कार, संस्कृति आदि सम्झेर अहोरात्र खटेर गर्नुभो, अनि त्यस क्रममा रुघाखोकी, चिसो आदि केही नभनी बिहान सबेरै उठेर यसो यताउता हेरेर खूलूहरु उठ्ने बित्तिकैदेखि रातको लगभग साढे १०–११ बजेसम्म खट्नु भएको थियो, त्यो मैलै एक सहभागीको हिसावले बिर्सिसकेको छैन । त्यो वेलाको काम सम्झेर यो लेख लेखीरहँदा शनैः शनैः म आफ से आफ द्रवीभूत भई रहेको छु, । त्यस्तै गरेर व्यवस्थापनमा खट्नु भएका र , किताबा लागि खूलू ज्यूहरुले भनेकै आधारमा त्यति राम्रो चित्र कोर्न सक्नेसक्नु भएका (चित्र कोर्ने काममा खट्नु भएका) लकुवा गाउँकै जंगबहादुर दावार ज्यूको योगदानलाई पनि हामीले कम आँक्नुु हुँदैन । हामीले त्यसो गर्दा उहाँ प्रति सरासर अन्याय गरेको ठहर्छ ।
अन्त्यमा केवल आफ्‌नो समुदायको स्वार्थलाई केन्द्रमा राखेर यो किताब ‘कुलु रिदुम्‌’लाई यो स्तरमा गहकिलो र खँदिलो किताबका रुपमा ल्याउन मेहनत गर्नु भएकोमा म सम्पूर्ण कुलुङ जातिका तर्पmबाट संकलक, सम्पादक, लेखक तथा मोटिभेटरका साथै चिन्तक प्रेम सम्फोरु ज्यूलई फेरि पनि अन्तर–ह्रदयदेखि नै आभार व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार