
इलाम : इलामको माङसेबुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ अधिवेशन समापनको अवसरमा पालिका अध्यक्ष हेमन्त राईले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
सो अवसरमा अध्यक्ष राईले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राईले बताउनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार पालिकाका ६ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको उनले बताए ।





























































