
इलाम : प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवाको पहुँच गाउँगाउमा पुगेको बताएका छन् ।
शनिबार इलाम जिल्लाको माई नगरपालिका–२ स्थित दानाबारीमा निर्माण गरिएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको विकट भेगसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुरयाउन यस्ता अस्पतालहरूको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।
नेपाल सरकारको रु १० करोड ७० लाखको लागतमा निर्माण गरिएको सो अस्पतालमा प्रारम्भिक चरणमा १५ शय्या राखिएको छ । आधुनिक स्वास्थ्य सेवा सुविधासहित सञ्चालनमा ल्याइएको यो अस्पताल माई नगरपालिकाका साथै आसपासका स्थानीयवासीका लागि स्वास्थ्य सेवामा सहज पहुँचको प्रतीक बन्ने विश्वास लिइएको छ ।
यस अवसरमा प्रधानमन्त्री ओलीले भने, ‘अब उपचार नपाएर मर्न पर्दैन । हरेक नागरिकले सहज सेवा पाउनुहुनेछ बाल रोग र प्रसुती रोग विशेषज्ञको सेवा पहिलो प्राथमिकता हुनेछ ।”
यसै क्रममा, प्रधानमन्त्री ओलीले लालपुर्जावितरण कार्यक्रममा समेत सहभागिता जनाएका छन् ।
माई नगरपालिकामा आयोजित कार्यक्रममा अवस्थित १५२ घरधुरी अव्यवस्थित बस्तीलाई भूमि आयोगमार्फत लालपुर्जा वितरण गरिएको हो ।
उनले लाभग्राही परिवारलाई लालपुर्जा हस्तान्तरण गर्दै देशमा भूमिहीन समस्या अन्त्य गर्दै जाने सरकारको प्रतिबद्धता पुनः दोहोर्याए ।
ओले!ले पानीको प्यास भन्दा महत्त्वपूर्ण रहेको माईका नागरिक जग्गा धनीपुर्जा पाउने काम आज पूरा भएको समेत बताए ।
शनिबार नै प्रधानमन्त्री ओलीले माई नगरपालिकामा खानेपानी आयोजनाको शिलान्याससमेत गरे । उनले यो आयोजना २ बर्ष भित्रमा सम्पन्न हुने समेत बताए । सो आयोजना सम्पन्न भएपछि स्थानीयवासीलाई सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री ओलीको यो भ्रमण माई नगरपालिकाका जनताका लागि बहुआयामिक विकासका संकेतका रूपमा लिइएको छ ।
























































