इलाम : वर्षौंसम्म आफ्नो नाममा जमिनको लालपुर्जा नपाएर भूमिहीन जीवन बिताएका चुलाचुलीबासी अहिले साँचिकै मख्ख छन् । बुधबार चुलाचुली गाउँपालिकाको कार्यालय परिसर उत्सवमय देखिन्थ्यो, जहाँ ३१ जना अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि खुसी साटिरहेका थिए ।
६५ वर्षीय भक्तबहादुर फागोको मुहारमा उत्साह झल्किन्थ्यो । चुलाचुली–५ का उहाँ वर्षौंको पर्खाइपछि पहिलोपटक कानुनी रूपमा जग्गा धनी बनेका हुन्। “वर्षौंदेखिको पर्खाइ बल्ल सकियो,” फागोले गर्वसाथ भने, “हामीजस्ता गरिबका लागि लालपुर्जा त सपना जस्तै थियो, आज त्यो सपना साकार भएको छ।”
चुलाचुली–२ की ६२ वर्षीया पदमकुमारी राईले पनि पहिलोपटक आफ्नो नाममा लालपुर्जा पाएपछि जीवनमा नयाँ ऊर्जा थपिएको बताइन् । “लालपुर्जा पाएको दिन मेरो जीवनको दोस्रो जन्मजस्तै हो,” उहाँको भावुक भनाइ थियो ।
यस्तै, निरमाया तामाङले लामो समयदेखि भोगचलन गर्दै आएको जमिनमा अधिकारको प्रमाणपत्र पाउँदा गर्व महसुस भएको बताइन् । “अब कसैले हाम्रो जग्गा कब्जा गर्न सक्दैन भन्ने आत्मविश्वास पैदा भएको छ,” उनले भनिन् ।
भूमि समस्या समाधान आयोग इलामले चुलाचुली गाउँपालिकासँग समन्वय गर्दै चुलाचुली वडा नं. २, ४ र ५ का ३१ परिवारलाई ५४ कित्ता जग्गाको लालपुर्जा वितरण गरेको हो । आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीका अनुसार, बाँकीको प्रक्रिया अघि बढिरहेको छ ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजाल, कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलाम प्रमुख जयप्रकाश राई, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार भूमिहीन, दलित तथा सुकुम्बासीलाई कानुनी रुपमा जग्गाको हक सुनिश्चित गर्न आयोगसँग सहकार्य गरिंदैछ । “सबै सरोकारवालाको सहकार्यमा कामलाई तीव्रता दिइएको छ,” उनले भने ।
केन्द्रीय अध्यक्ष रिजालले संविधानले नै भूमिहीनलाई जग्गा प्राप्तिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र सबै भूमिहीनलाई लालपुर्जा उपलब्ध गराइने दाबी गरे ।
भूमिहीनलाई जग्गाधनी बनाउने अभियानले चुलाचुलीमा मात्र होइन, देशभर नै आशा र उत्साहको नयाँ लहर ल्याएको छ । लालपुर्जा पाएका अनुहारमा देखिएको खुसीले राज्यको योजनाले जनतामा कसरी गहिरो प्रभाव पार्छ भन्ने स्पष्ट पार्छ ।
यसअघि मङ्गलबार रोङ गाउँपालिका-१ का ७२ जनालाई आयोगले लालपुर्जा वितरण गरेको थियो ।
इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ जहार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।