इलामको रोङ गाउँपालिकाका ७२ भूमिहीनलाई लालपुर्जा वितरण

  राम योङहाङ
217 Shares

इलाम : इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

वर्षैदेखि बसोबास गर्दै आएका शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीलाई आज मङ्गलबार जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए ।

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरीप्रसाद रिजालले भूमिहीन दिलबहादुर सुब्बालाई लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले शान्तिपुर पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

रोङ गाउँपालिकामा दुई सय १२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय ५० जनाको निर्णय भएको अध्यक्ष अधिकारीले बताए । जसमध्ये ७२ जनाले मङ्गलबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।

‘हामी जतिसक्दो चाँडो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनी बनाउन लागिपरेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘हामीले पाएको जिम्मेवारीअनुसार जनताको अपेक्षा पूरा गर्ने कोसिस गरिरहेका छौं । असार मसान्तसम्म करिब सात सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।’

रोङ गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुले समेत जिम्मेवारपूर्ण तरिकाले सघाईरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ ।’ सरकारले अघिल्लो आयोग विघटन नगरेको भए १ वर्ष पहिल नै रोङका सबैले लालपुर्जा पाइसक्ने उनको भनाई थियो ।

पहिलो चरणमा अहिले इलामको रोङ गाउँपालिकासहित माङसेबुङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत रुपमा काम भईरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले बताए । उनले फिल्डमा आउने ससाना समस्यामा नअल्झिएर आवश्यक समन्वय र सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।

भूमि आयोगका केन्द्रीय अध्यक्ष रिजालले संविधानले नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने अधिकार सुनिश्चित भएको बताउँदै आयोगले सबैलाई लालपुर्जा उपलब्ध गराउने बताए । देशभर जिल्ला आयोगबाट लालपुर्जा वितरण सुरु भएको बताउँदै उनले २ वर्षभित्र सबै भूमिहीन जग्गाको मालिक बन्ने दावी गरे ।

यता वर्षौंदेखि जोतपोत र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हात परेपछि लाभग्राहीहरुले खुसी भएका छन् । रोङ गाउँपालिका–१ का लाभग्राही दिलबहादुर सुब्बाले करिब तीन दशकदेखि जोत्दै आएको जग्गाको लालपुर्ज हात पारपछि खुसी व्यक्त गरेका छन् । ‘अब आफ्नै जमिनको लालपुर्जा हात परेपछस आत्मविश्वास बढेको छ,’ उनले भने, ‘अब कृषि ऋण लिनदेखि लिएर योजना बनाउन सजिलो हुनेछ ।’

अर्का लाभग्राही खगेन्द्रप्रसाद ढकालले बिसौं वर्षौंदेखि भोगचलन गर्दै आएपनि कानुनी धनी प्रमाण नभएकालाई लालपुर्जा प्राप्त भएपछि आफ्नै जमिन भएको अनुभूति भएको बताए । ‘आफैंले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा जब हात पर्यो, तब जग्गाको हकअधिकार सुरक्षित भएको महसुस भएको छ,’ उनले भने, ‘अब कसैले पनि हाम्रो जग्गा कब्जा गर्न सक्दैन भन्ने भरोसा भयो ।’

रोङ गाउँपालिकाभरीबाट एक हजार आठ सय ६० जनाको आवेदन परेको छ । १ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम गर्न पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ जहार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार