इलामको माङसेबुङ गाउँपालिका-२ र ६ मा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र माङमालुङ । तस्बिर : राम योङहाङ
१. माङमालुङको परिचय :
माङमालुङ इलाम जिल्लाकै एक प्रशिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो । यस क्षेत्रलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरू मध्येको एक मानिएको छ । धार्मिक, साँस्कृतिक, जैविक विविधतासहित प्राकृतिक कारणले माङमालुङ विविध आयाम बोकेको पहाड पनि हो । यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणले बढी सम्भावना बोकेको क्षेत्र मानिन्छ । इलाम जिल्लाको साबिक बाँझो गाविस वडा नम्बर ६ र इभाङ गाविसको वडा नम्बर ४ र ५, हाल माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङ क्षेत्र समुद्री सतहबाट करिब दुई हजार एक सय मिटिर उचाईमा रहेको छ । करिब १५ वर्ग किलोमिटरमा छरिएर रहेको माङमालुङ क्षेत्र प्राकृतिक सौन्दर्य, ध्यानी, तपस्वीहरुको तपोभूमिका रूपमा प्रशिद्ध छ । साथै, दुष्ट नाग मार्न बिजुवानी (माङ्मा) ले गरेको अलौकिक तन्त्र विद्याको प्रदर्शन जस्ता किंवदन्ती आदिले पनि प्रचलित छ । इलाम सदरमुकामदेखि १५ कोश पश्चिममा अवस्थित माङमालुङको अर्को विशेषता भन्नु यहाँस्थित माङमालुङ चिया बगानको हरियाली पनि हो । हरेक वर्ष उभौली र उधौली चाडमा किरात धर्मावलम्बी, ज्योतिनन्दका अनुयायीहरुले माङमालुङमा आएर पूजा गर्ने चलन छ । वर्षेनी यस स्थानमा आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ । इलाम सदरमुकामदेखि मंगलबारे, गजुरमुखी, इभाङ हुँदै माङमालुङ पुगिन्छ । यहाँ पुग्न झापाको दमकदेखि लारुम्बा हुँदै चिसोपानी पञ्चमी जोड्ने दमक –रवि–चिसोपानी सडक (फाल्गुनन्द) मार्ग प्रयोग गर्न सकिन्छ । त्यसैगरी भेडेटार–रवि–राँके सडकबाटसमेत माङमालुङ पुग्न सहज हुन्छ । त्यस्तै, दमक र मधुमल्लाबाट पेरुङ्गे, टोड्के कुसुण्डे हुँदै करिब ८ घण्टाको पैदल यात्राबाट पनि माङमालुङ पुग्न सकिन्छ ।
२. माङमालुङ र यसको विशेषता :
माङमालुङ सुन्दर प्राकृतिक स्थल मात्रै नभएर धार्मिक मूल्य मान्यतासँग प्रगाढ सम्बन्ध जोडिएको पहाड पनि हो । त्यसका साथै यससँग विभिन्न किंबदन्ती पनि जोडिएका छन् । यहाँका ढुङ्गा, पत्थर, पहरा र तीसँग जोडिएका विभिन्न वस्तुले पनि यो क्षेत्रको महत्त्वलाई थप वृद्धि गरेको छ । यहाँ पाइने पशुपंक्षी, वनस्पति, प्राकृतिक शीलाहरुमा कुँदिएका विभिन्न प्रकारका आकृतिहरु जो कसैका लागि मनमोहक र खोजी एवम् चासोको विषयसमेत हुन सक्छ । माङमालुङ क्षेत्रमा हरेक वर्ष उधौली र उभौलीमा विशेष पूजाआजा हुने गर्दछ । प्रकृति पूजक किरातीहरुले यस क्षेत्रलाई आफ्नो पवित्र आस्थाको केन्द्र मान्दछन् । माङमालुङ क्षेत्रमा कुनै पनि जनावरको बलि नदिइनु यसको अर्को विशेषता हो । यस क्षेत्रको उत्खननकर्ता मानिने ज्योतिनन्दले माङमालुङ क्षेत्रलाई बलि रहित देवस्थलका रूपमा विकास गरेको पाइन्छ । सबै धर्ममा आस्था राख्ने मानिसहरुका लागि माङमालुङ खुला पर्यटकीय क्षेत्रका रूपमा रहेको छ । यहाँस्थित एकै औँलाले हल्लाउन सकिने चक्रशिला ढुङ्गा, माङमालुङको किंवदन्ती जोडिएको बिजुवानी देवीको ढुङ्गा (थालाचेप्पा), बाघढुङ्गा, बेउला–बेउली ढुङ्गा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफालगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु पाइन्छन् । साथै विभिन्न प्रजातिका पंक्षीहरु तथा चराचुरुङ्गी, लोपोन्मुख सुनाखरी (अर्किड), रङ्गीचङ्गी फूलहरु, यहाँस्थित पोखरीहरु, अवतारी डाँडा, हरियाली चियाबारी आदि माङमालुङको विशेषता हुन् । माङमालुङको सन्दर्भमा निम्न पक्षलाई थप चर्चा गर्न आवश्यक छ :
(क) गुरु ज्योतिनन्द :

२०१४ मंसिर ७ गते शुक्रबारका इलाम साविक पुवामझुवा–७, जल्केनीमा दिलमाया राईको कोखबाट जन्मिएका बालक नन्दबहादुरको सिद्धी नाम ज्योतिनन्द हो । उहाँका पिता हालको मांसेबुं २, पावाका दिलबहादुर राई भारतीय गोर्खा सैनिक भएको कुरा मणीश्वर राई (पांमाली) ले ज्यातिनन्दको संक्षिप्त जीवन बारे लेखेको ‘हराउन लागेको इतिहास, निभ्न लागेको ज्योति’ नामक पुस्तिकामा उल्लेख भएको सचित राईले आफ्नो निबन्ध कृति ‘माङखिम’ (पृ.९४) मा उद्धृत गर्नुभएको छ । गुरु ज्यातिनन्दलाई माङमालुङ क्षेत्रको उत्खननकर्ता मानिन्छ । उहाँमा बाल्यकालदेखि नै ज्यतिनन्दमा अलौकिक शक्ति रहेको थियो भनिन्छ । २०३७ सालको चैतदेखि तीन महिना माङमालुङको गुफामा कठोर तपस्या गरेर ज्योतिनन्दले सिद्धी प्राप्त गर्नुभएको मानिन्छ । उहाँले आफ्ना अनुयायीहरुलाई उपदेश दिने क्रममा ‘ईश्वरको भोग (बलि) नढाल्नु, यो इश्वरको विरुद्ध हो । एउटा गाई दान गरेको र एक दाना नरिवल दान गरेको फल बराबर मिल्छ’,(राई, २०७२) भन्ने जस्ता ज्ञान र चेतना सञ्चार गरेबाट पनि समाज सुधारको कार्यमा ज्यातिनन्दको योगदानलाई स्मरणीय मान्नु पर्ने हुन्छ । माङमालुङमा २०३८ सालदेखि किराती चाड उभौली र उधौलीमा ज्योतिनन्दले नै औपचारिक पूजाआजा सुरुवात गराउनु भएको बताइन्छ । जाँड रक्सी र मासुमंसबिना संस्कार संस्कृति नचल्ने भनिएको समाजलाई ज्योतिनन्दले सात्विक मार्ग देखाइदिएको धेरैको दावी छ । २०४१ साल पुष महिनाको ८ गते समाधिमा लीन हुनुभएका ज्योतिनन्दको पार्थिव शरिीरलाई माङमालुङ डाँडामा पुष ११ गते समाधिस्थ गरिएको थियो । जोतिनन्दको पार्थिव शरीरलाई माङमालुङ डाँडामै समाधिस्थ गरिएको हुनाले पनि उहाँका अनुयायीहरुका निम्ति यो पवित्र आस्थाको केन्द्र बनेको छ ।
(ख) चक्रशिला :

झट्ट हेर्दा बडेमानको ढुङ्गामा अडिएको अर्को ठूलो आकारको ढुङ्गा छ । दशौँ जना मानिसले पनि त्यस ढुङ्गालाई लडाउन वा हटाउन सकिँदैन । तर, हल्लाउँदा भने एकै औँलाले जो कसैले सजिलै हल्लाउन सक्छन् । प्रकृतिक अवस्थामा सदियौँदेखि रहेको यो अद्भूत एक औँलाले हल्लाउन सकिने ढुङ्गालाई ‘चक्रशिला’ नाम दिइएको छ । माङमालुङ क्षेत्रमा आउने जो कोहीले यो ढुङ्गा हल्लाएपछि आश्चार्य मान्ने गरेका छन् । यसै ढुङ्गाको चर्चाले पनि माङमालुङ बारे धेरैको कौतुहलता बढाएको छ । दुई वटा ढुङ्गाबीचको यो तादम्यताको बैज्ञानिक कारण बारे आवश्यक खोज, अनुसन्धान हुन जरुरी छ । त्यसो हुन सके यस बारे थप रोचक विषय र जानकारी उजागर हुने थियो ।
३. माङमालुङ बारेका पूर्वचर्चा :
माङमालुङलाई जति प्राकृतिक रूपले चर्चा गरिएको छ, यसको धार्मिक महत्त्व र साँस्कृति पाटोसँगै आस्था र विश्वासका दृष्टिले पनि उत्तिकै महत्त्वका साथ चर्चा गरिएको पाइन्छ । माङमालुङ बारे जे. एम. खुँजेली (जितमान राई वास्तविक नाम) ले ‘माङमालुङ देवस्थल एक परिचय’ (२०६२, दोस्रो संस्करण २०६८) मा उल्लेख गरेअनुसार महागुरु फाल्गुनन्द लिङदेन, सानो गुरु बद्रीनाथ तुम्बापो, गुरु ज्यातिनन्द राई, गुरु आत्मानन्द लिङदेन, गुरु सचितानन्द राई आदिले यहाँ आरधना गरेर ज्ञान प्राप्त गरेका उल्लेख गर्नुभएको छ । माङमालुङ बारे इलाम समाज हङकङले प्रकाशन गरेको ‘इलाम अङ्क २ स्मारिका’ (२०७३) मा राष्ट्रगानका रचनाकार ब्याकुल माइलाले ‘भर्जिन पर्यटकीय गन्तव्य स्थल : धार्मिक क्षेत्र माङ्मालुङ’ (पृ. ७–८) शीर्षकमा लेख लेख्नु भएको छ । सो लेखमा उहाँले माङमालुङ क्षेत्रको विकासको आधार पर्यटन हुनेमा जोड दिनुभएको छ । माङमालुङ बारे माङसेबुङ घर भइ राजधानी काठमाडौं बसेर पत्रकारिता गर्नुहुने सचित राईले आफ्नो निबन्ध कृति ‘माङखिम’ (२०७२) को ‘शाकाहारी माङ्मालुङ’ (पृ. ८६–९६) शीर्षको निबन्धमा वृतान्त ब्याख्या गर्नुभएको छ । जहाँ माङमालुङको नामाकरण बारेको मिथकलाई चर्चा गरिएको छ । उनै राईले इलाम समाज हङकङले प्रकाशन गरेको ‘इालम २ स्मारिका’ (पृ. ६३–६४) मा माङमालुङ क्षेत्रको उत्खननकर्ता अहिंसाका उपाषक गुरु महाप्रभु ज्योतिनन्द भएको किटान गर्नुभएको छ । त्यस लेखमा एकै औँलाले हल्लाउन सकिने अद्भूत ढुङ्गा (चक्रशिला) का बारेमा बताइएको छ । आफ्नो संस्मरण कृति ‘म उभिएको पहाड’ (२०७७)मा ‘माङमालुङको उत्पत्ति कथा’ (पृ. ५९–७१) शीर्षकमा माङसेबुङ–६ चिसोपानी पञ्चमीका बासिन्दा उजित राईले कसरी यस क्षेत्रको नामाकरण माङ्मालुङ बनेको बारे रोचक गरी वर्णन गर्नुभएको छ । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङको प्रकाशन र कमन देवानले सम्पादन गरेको ‘माङसेबुङ बुलेटिन १’ (चैत–बैशाख २०७८/०७९) मा ‘माङमालुङको ढुङ्गा’ (पृ. ३१) मा माङ्मा (बिजुवानी) ले नागलाई थाल प्रहार गर्दा थालले लागेको ढुङ्गा (लुङ) सात चिरा परेको भन्ने कथालाई संक्षिप्तमा उद्धृत गरिएको छ । माङ्मा र लुङ (बान्तावा भाषामा ढुङ्गा) जोडेर यस ठाउँको नामा माङ्मालुङ रहेको उल्लेख छ । माङसेबुङ गाउँपालिकाको प्रकाशन र माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र किारत इङभो पान्जुम्भोको प्रकाशन संयोजनमा ज्ञानु केदेम र अरुले सम्पादन गरेको ‘माङसेबुङ दर्पण’ (२०८१) को ‘पर्यटकीय स्थल माङमालुङ’ (पृ. ८–९) मा उल्लेख भए अनुसार यो ठाउँबाट मकालु, फक्ताङलुङ, कञ्चनजंघालगायत हिमाल र तराईका विभिन्न क्षेत्रहरु नियालन सकिने र सूर्योदय र सूर्यास्त देख्न सकिने उल्लेख छ । माङसेबुङ गाउँपालिकाका विभिन्न सरकारी प्रकाशनहरु पनि माङमालुङ र यसको गुरुयोजना निर्माण भएको बारे उल्लेख छ । विभिन्न लेखक, साहित्यकारहरुले माङमालुङ बारे लेख्नु भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा समेत माङमालुङका बारेमा चर्चा गरिएको पाइन्छ ।
४. माङमालुङको नामाकरणको मिथक :

माङमालुङको नामाकरणसँग परापूर्वकालमा यस क्षेत्रमा रहेको पोखरी र त्यहाँ लुकेर बस्ने नागको कथा जोडिन्छ । नागले चौपाया, मानिससमेतलाई खाने गरेको कथा छ । त्यो नागलाई मार्न माङ्मा (विजुवानी) ले थाल प्रहार गर्दा ढुङ्गामा बसिरहेको नाग पोखरीमा लुक्न गएको तर थाल भने ढुङ्गामा बजारिँदा माङ्माको शक्तिले ढुङ्गा नै सात चिरामा काटिएको बखान सुनिन्छ । ‘अतः किरात महिला महारानीले तपस्या गरी पोखरीको प्राणघातक भूत प्रेतलाई हटाई सबैलाई शान्ति प्रदान गरेकोले हुँदा उनीको नामबाट यस ठाउँको नाम माङमालुङ रहन गएको किंवदन्ती यहाँको जनसमुदायमा रहेको छ’ (खुँजेली, २०६८) ।
उजित राईले आफ्नो पुस्तक ‘म उभिएको पहाड’मा लेख्नु भएको छ –‘… शक्तिशाली भाले नागलाई मारेपछि र पोथी नागलाई वाचा कसम बाँधेर चित्रे दहमा पठाई दिएपछि फेरि फेरि त्यहाँ कुनै नागको वास नरहोस् भनेर माङ्माले मन्त्रद्वारा पोखरीलाई बाँधिन् । त्यस घटनापछि माङमालुङ पोखरीमा कुनै नागरूपी प्रेतआत्माहरुले बस्न पाएनन् भन्ने विश्वास छ’, (राई, २०७७) । यसबाट माङ्मलुङ क्षेत्रकै चित्रे दहको विषय पनि उद्घाटित हुन जान्छ ।
माङ्माले प्रहार गरेको थालले ढुङ्गा (लुङ) सात चिरा परेको भन्ने अर्थमा माङ्मा र लुङ शव्द जोडिएर माङमालुङ रहन गएको भन्ने मत सर्वत्र छ । विभिन्न लेखकले यो मिथकलाई नै नामाकरणको आधारका रूपमा भन्दै आएका छन् । माङमालुङ क्षेत्रमा सात चिरा परेको ढुङ्गा (जसलाई बिजुवानी ढुङ्गा र लिम्बू भाषामा थालाचेप्पा पनि भनिन्छ) आज पर्यन्त देख्न सकिन्छ । पोखरीको भग्नावशेष देखिए पनि हाल यहाँ पानी भने जम्दैन । २०५४ साल साउन महिनामा पोखरी फुटेर पानी बगेको (जे. एम. खुँजेली) जितमान राईले आफ्नो पुस्तक ‘माङमालुङ देवस्थल एक परिचय’ मा उल्लेख गर्नुभएको छ । यो अनुसन्धानमूलक लेखनका लागि कुराकानी गर्दा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, स्थानीय सामाजिक अगुवा भक्त एवाई राई, पत्रकार सचित राईले बिगतमा पोखरी देखेको तर पछि पोखरी फुटेर गएपछि पानी जमेको नदेखेको बताउनु भयो । (कुराकानीमा आधारित)
६. पर्यटनको सम्भावना :

माङमालुङलाई धार्मिक, साँस्कृतिक र प्राकृतिक तीनै किसिमले उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने प्रसस्त आधार छन् । ती आधारहरुबारे समेत विभिन्न समयमा विभिन्न सामग्री प्रकाशित छन् । २०७३ सालमा इलाम समाज हङकङको प्रकाशन र सचित राईको सम्पादन रहेको इलम स्मारिका २ मा राष्ट्रगानका रचनाकार ब्याकुल माइलाले ‘भर्जिन पर्यटकीय गन्तव्य स्थल : धार्मिक क्षेत्र माङ्मालुङ’ शीर्षको लेखमा लेख्नु भएको छ –‘वास्तवमा यस पवित्र धार्मिक क्षेत्र माङमालुङ पर्यटनका लागि प्रचुर सम्भावना भएको भर्जिन गन्तव्य स्थल हो । यहाँ थुप्रै धर्मगुरुहरुले तपस्या गरी धान र पुण्य प्राप्त गरेका छन् । यातायात र धामहरुको विकास गरिने हो भने यहाँ पर्यटन आफै फस्टाउने छ’(माइला, २०७३) ।
आफ्नो निबन्ध कृति माङखिमको ‘शाकाहारी माङमालुङ’ मा सचित राईले निष्कर्ष दिनुभएको छ –‘मैले चाहिँ ‘माङमालुङलाई सरकारी निकायको नजरमा पार्न स्थानीय बासिन्दा जागरुक हुनुपर्छ’ भन्दै आएको छु । स्थानीय अगुवाहरु माङमालुङका लागि धेरै काम भयो तर प्रचार कम भयो भन्छन्’, (राई, २०७२) ।
पर्यटक तान्दै ‘हल्लिने ढुंगा’ शीर्षकमा कान्तिपुरकर्मी विप्लब भट्टराईले ‘माङमालुङको प्रचार र पूर्वाधार विकास गर्दै पर्यटकीय गन्तव्य बनाउन सके नजिकैका रक्से, चिसोपानी पञ्चमी, चतुरेलगायत बजारको चहलपहलमा उल्लेख्य सुधार हुने स्थानीयको बुझाइ छ’, (भट्टराई, २०७४) लेख्नु भएको छ ।
नयाँ बुलन्दमा राम योङहाङले ‘यो ढुङ्गाको छुट्टै आकर्षण छ । त्यस ढुङ्गालाई चक्रशिला भनिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एक औँलाले सजिलै हल्लउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिदैँन’, (योङहाङ, २०७६) भनी उल्लेख गरेका छन् ।
ब्लाष्ट राष्ट्रिय दैनिकमा भूमिराज पराजुलीले लेख्नु भएको छ –‘यहाँ उँधौली र उभौलीमा गरी वर्षमा दुई पटक पूजापाठ हुने गरेको छ । विशेष गरी किरात धर्मावलम्बीहरूको उपस्थिति रहने गरेको भए पनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरू आउने गरेका छन् । सबै प्रकारका धर्मावलम्बीहरूका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ’, (पराजुली, २०७६) ।
माङमालुङ क्षेत्रको विकासका लागि बिगत तीन दशक बढी समयदेखि कार्य गर्दै आउनुभएका स्थानीय भक्त एवाई राईको विचारमा यश क्षेत्रलाई योजनाबद्ध काम गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने धारणा राख्नु हुन्छ ।
७. माङमालुङमा माङसेबुङपालिका र प्रदेश सरकारको योगदान :
(क) नीतिगत व्यवस्था :
माङसेबुङ गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन शीर्षकअन्तर्गत आ. व. २०७७/०७८ यता निरन्तर प्रवेश पाएको विषय हो
– माङसेबुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेबुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेको हुनाले उक्त गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकार, सङ्घीय सरकारसँग लागत साझेदारी कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन शीर्षकअन्तर्गत आ. व. २०८०/०८१ र २०८१/०८२ को नीति तथा कार्यक्रममा निम्न नीति समावेश छन्
– धार्मिक तथा पर्यटकीय क्षेत्र माङमालुङलाई सुनाखरी क्षेत्रको रूपमा विकास गर्न सरोकारवाला, विभिन्न सङ्घ संस्थाहरु तथा व्यक्तिहरुसँगको सहकार्यमा सुनाखरी फूल रोपन गर्ने नीति लिइनेछ ।
– गजुरमुखीधाम, माङमालुङ धामको विकासको लागि सरोकारवालाहरुसँग छलफल गरी धार्मिक पर्यटकीय क्षेत्र विकास ऐन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याउन पहल गरिनेछ ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन शीर्षकअन्तर्गत चालु आ. व. २०८१/०८२ को नीति तथा कार्यक्रममा निम्न नीति समावेश छ
– माङमालुङ वन क्षेत्रलाई सामुदायिक वन उपभोक्ता समितिको अवधारणामा लगि ब्यवस्थित गरिने छ ।
(घ) कला, भाषा तथा संस्कृति प्रवद्र्धनमा
– माङमालुङ धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न ऐन निर्माण गरी गाउँपालिकास्तरीय ‘माङमालुङ धार्मिक पर्यटन विकास समिति’ गठन गरिनेछ ।
(ख) आर्थिक लगानी :
माङसेबुङ गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख रूपैयाँ बिनियोजन भई भक्तजनहरुको समेत सहयोग संकलनबाट करिब ६० लाख लागतमा माङमालुङ क्षेत्रमा ज्योतिनन्द गुरुको पूर्णकदको शालिक निर्माण र अन्य भौतिक निर्माणका कार्य भएको छ । २०७७ साल मंसिर २६ गते शुक्रबारका दिन प्रदेश नम्बर १ का तात्कालीन मुख्यमन्त्री शेरधन राईले शालिक अनावरण गर्नुभएको थियो । माङमालुङको गुरुयोजना निर्माणमा पालिकाले आ. व. २०७५/०७६ मा २० लाख खर्च गरेको तथ्यांकमा भेटिन्छ । त्यस्तै, माङमालुङ प्रवेशद्वार निर्माणका लागि पालिकाकै पहलमा प्रदेश सरकारबाट दुई आर्थिक वर्षमा गरी २६ लाख विनियोजन भई कार्य सम्पन्न भएको गाउँपालिका प्रवक्ता सुसन राईले जानकारी दिनुभएको छ । (कुराकानीमा आधारित)
७. निष्कर्ष र सुझाव :

स्थानीय कृष्णकुमार राईले २०६५ सालमा आफ्नो एमए (ग्रामीण विकास) को स्नाकोत्तर उपाधिका लागि माङमालुङ क्षेत्रमा ग्रामीण पर्यटन प्रवद्र्धनको विषयमा गर्नुभएको शोधकार्यले ग्रामीण पर्यटनको सम्भावना उजागर गरेको उहाँको दावी छ । ‘मैले आफ्नो शोधको निष्कर्षमा पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार अन्तर्गत बाटोघाटो र मठमन्दिर र आवश्यक संरचना निर्माण, माङमालुङ क्षेत्रको व्यापक प्रचार प्रसार, पर्यटन र पर्यटकका बारे चेतना अभिवृद्धि र होटलसहित होमस्टेको विकास बारे उल्लेख गरेको थिएँ’, (कुराकानीमा आधारित)
यस क्षेत्रलाई प्रकृतिक र धार्मिक सम्पदाका रुपमा संरक्षित गर्न सक्नुपर्ने सामाजिक अगुवा जितमान राईको सुझाव छ । ‘यहाँ कालो, सेतो, पहेँले गुजुरगाना थिए । कटुसका रुखहरु थिए । एक्लेवीर भन्ने जडी दबाई यहाँ पाइन्थ्यो । अरु थुप्रै रुख, बिरुवा थिए । तिनलाई पुनः स्थापना (वृक्षारोपण गरेर यो माटो र पर्यावरणलाई जोगाउनु पर्छ, भोलिका पुस्ताको लागि माङमालुङ सुरक्षित रहोस्’, आफूले २०२०/०२१ सालतिर एक कक्षामा पढ्दाको स्मरण गर्दै उहाँ भन्नु हुन्छ ।
वास्तवमै माङमालुङलाई जति धार्मिक र साँस्कृतिक महत्त्वका साथ चर्चा गरिन्छ, यसको भू बनोट, यहाँको पर्यावरण र हावापानी आदिलाई नियाल्दा र विश्लेषण गर्दा यो क्षेत्र प्रकृतिको अनुपम र अदितीय गुणले भरिपूर्ण छ । यहाँको प्राकृतिक हरियाली होस् वा माङमालुङ चियाबगानले थपेको रौनकताको कुरा गरौँ, यो क्षेत्रले यहाँ एक पटक आएका जो कोही पर्यटकलाई लोभ्याउने र पटक–पटक तान्ने पक्का छ । स्थानीय तह र अन्य तहका सरकारले माङमालुङको विकासमा हात फुकाएर लगानी गरे पछुताउनु पर्दैन । तर, यहाँको विकासलाई केवल भौतिक पूर्वाधारमा मात्रै केन्द्रित रहेर कँक्रिट जङ्गल बनाउने भन्दा पनि वातावरणीय पक्षको उच्चतम ख्याल राखेर पर्यापर्यटनको मोडेलबाट माङमालुङलाई अगाडि बढाएमा त्यो नै लाभदायक हुने देखिन्छ ।
सन्दर्भ सामग्री :
जे.एम. खुँजेली (२०६८, दोस्रो सं.), माङमालुङ देवस्थल एक परिचय । कौशिला देवी राई ।
भट्टराई , विप्लब (२०७४), ‘पर्यटक तान्दै ‘हल्िलने ढुंगा’’ (४ बैशाख, शनिबार)
इकान्तिपुर, https://ekantipur.com/koshi-pradesh/2021/04/17/16186289061942854.html
माइला, ब्याकुल (२०७३), ‘भर्जिन पर्यटकीय गन्तव्य स्थल : धार्मिक क्षेत्र माङ्मालुङ’, इलाम अङ्क २ स्मारिका । सचित राई (सं.), इलाम समाज हङकङ ।
माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको बेवसाइट
https://mansebungmun.gov.np/
माङसेबुङ दर्पण (२०८१), ‘पर्यटकीय स्थल माङमालुङ’, ज्ञानु केदेम र अरु … (सं.), इलाम : माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ ।
माङसेबुङ बुलेटिन अङ्क १ (चैत–बैशाख २०७८/०७९), ‘माङमालुङको ढुङ्गा’, कमन देवान (सं.) । इलाम : माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ ।
योङहाङ, राम (२०७६), ‘धार्मिक पर्यटकीय स्थल ‘माङमालुङ’ कसरी पुग्ने ?’ (२२ मंसिर, आइतबार)
नयाँ बुलन्द, https://www.nayabulanda.com/2019/12/08/38257
राई, उजित (२०७७), म उभिएको पहाड । दमक : समदर्शी मासिक पत्रिका ।
राई, सचित (२०७२), माङखिम । काठमाडौं : पुष्पा लोहोरुङ ।