माङसेबुङमा साकेला सिली प्रदर्शन (तस्बिरहरू)

  नयाँ बुलन्द
217 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ होस्टेमा किरात राईको सांस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ । किरातीहरुको मुख्य चाड उभौलीको अवसर पारेर साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिको आयोजनामा साकेला सिली प्रदर्शन गरिएको हो ।

साकेला सिली प्रदर्शनका लागि पाँचथर र इलामका १४ वटा साकेला समूहले सहभागिता जनाएका थिए । जातीय भेषभूषामा सझिएका राई समुदायका कलाकारले आफ्नो सांस्कृतिक नाच साकेला सिली प्रदर्शन गरेका थिए ।

गत वर्षदेखि होस्टेमा बृहत् साकेला प्रदर्शन गरिँदै आएको छ । गत वर्ष हस्टेमा वाबुक (चिन्डो) को प्रतिमाको राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले किरात समुदाय संस्कृतिको धनी भएको बताए । उनले किरात समुदायको संस्कृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका रूपमा अगाडि बढाउनुपर्ने बताए । यस्ता चार्डपर्व पहिचान झल्कने अवसर भएको बताए ।

कार्यक्रममा बोल्दै पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए । यसका लागि पर्यटन कार्यालय सहकार्य गर्न तयार भएको उनको भनाइ थियो ।

पूर्वमा बस्ने किराती समुदायले उधौली र उभौली विशेष कर्यक्रम गरेर मनाउँदै आएका छन् । बैशाखे पूर्णिमामा उभौली मनाउने गरिन्छ । प्रकृति पूजक किरातीहरूले वैशाखमा बाली लगाउने वेलामा उभौली र मंसिरे पूर्णिमामा बाली भित्र्याउने समयमा उधौलीको अवसरमा विशेष कार्यक्रम गरेर मनाउने गरेका छन् ।

चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ। साकेला उभौली तथा उधौली किराँतीहरू राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मनाउने गरेका छन् ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्वाङ, पूर्वउपाध्यक्ष सुनिता सुब्बा, केचना-कञ्चनजङ्गा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौराली, होटल व्यवसायी संघ कोशीका अध्यक्ष राजन दंगाललगायतको उपस्थिति थियो ।

 

 

-चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार