सूर्योदय नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु/भिडियो)

  नयाँ बुलन्द
63 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८१।०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बुधबार पशुपतिनगर बजारमा सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

नगर कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ७२ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा १५ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । उनीहरुले विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ सूर्योदय नगरप्रमुख रणबादुर राई, स्वास्थ्य शाखा प्रमुख विपुल अधिकारीलगायतले दिएका थिए । उनले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख राईले सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नगरबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले नगरपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।

त्यस्तै इलाम मल्टिपर्पोज कम्पनी प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

त्यस्तै, अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका सवालको कार्यान्वयनको अवस्थाको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो फिक्कल, रेडियो बुद्धवाणी एफएम र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रम सूर्योदय नगरपालिकाको आयोजना र इलाम मल्टिपर्पोज कम्पनी प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

कार्यक्रमको तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार