इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले सहिदहरुको सपना पूरा गर्न परिवर्तनकारी दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बुधबार सहिद रत्नकुमार वान्तावाको ७३ औं जन्मजयन्त्री तथा ४६ औं स्मृति दिवसको अवसरमा एमाले इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले सो कुरा बताएका हुन् ।
कोशी प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका राईले सहिदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र विरुद्ध केही षडयन्त्र हुन खोजेपनि त्यो सफल नहुने ठोकुवा गरे । उनले विश्वको उन्नत राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र भएको दावी गरे ।
‘राजनीतिको उन्नत प्रणाली संघीय गणतन्त्र ल्याएका छौं । यो कसैको दानमा आएको होइन । हामीले सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका हौं,’ राईले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौं, नेपाली जनताले उल्टो हिँड्न जानेकै छैन ।’
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नेपालमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन हुन केही समय लाग्ने भएकाले नआत्तिन अनुरोध गरे । ‘नेपाली जनताको त्याग र बलिदानबाट व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन हुने क्रममा छ,’ उनले भने, ‘यसका लागि सबै दल प्रतिवद्ध छौं । ’ प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री राईले सहिदहरु कुनै पार्टी वा क्षेत्रको नभई साझा हुने बताउँदै सहिदहरुको सपना साकार पार्न आम नेपानी एक हुनुपर्नेमा जोड दिए ।
सहिद रत्नकुमार वान्तवा हत्याको साक्षी रहेकी प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठले देशमा थुप्रै परिवर्तनका लागि सहिद भएकाहरुको सम्मानमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन् । त्यतिबेलाको घटना स्मरण गर्दै श्रेष्ठले आफू पक्राउ परेपनि केही समयपछि भाग्न सफले भएकाले देश र जनताको लागि थप योगदान गर्ने अवसर मिलेको बताइन् ।
२०३५ साल चैत २७ गते निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि नेपाली जनताको पक्षमा लडिरहेका वान्तवाको इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित जङ्गलमा हत्या प्रहरीले गरेको थियो वान्तवालाई हत्या गरिएको स्थानमा एमालेले बर्सेनि स्मृति दिवस मनाउँदै आएको छ ।