इलाम : कृषि क्षेत्रमा विभिन्न प्रविधि र अन्नबालीको विकाससँगै हराएको कन्दमूल खेती इलामको माङसबुङ गाउँपालिकामा सुरु गएको छ । माङसेबुङ गाउँपालिका–६ स्थित हात्ती ढुङ्गे टोलका किसानले पालिकामा पहिलोपटक व्यावसायिक रुपमा सामूहिक कन्दमूल खेती सुरु गरेका हुन् ।
हात्ती ढुङ्गे टोलका १३ जना किसानले कृषक समूह गठन गरी व्यावसायिक कन्दमूल खेती सुरु गरेका हुन् । १४ रोपनी जग्गा लिजमा लिएर गत वर्षदेखि सामूहिक रुपमा कन्दमूल खेती सुरु गरिएको हात्ती ढुङ्गे कृषक समूहका अध्यक्ष सुरजकुमार राईले बताए ।
‘यस टोलका हामी १३ जना किसान मिलेर पालिकामा पहिलोपटक व्यावसायिक कन्दमूल खेती सुरु गरेका छौं,’ अध्यक्ष राईले भने, ‘अहिले १४ रोपनी जग्गामा खेती गरिएको छ, यसलाई अझ विस्तार गर्ने योजनामा छौं ।’ समूहले २५ हजारमा जग्गा लिजमा लिएर खेती सुरु गरेको उनले जानकारी दिए ।
समूहले अहिले एक सय ५० बोट गिठा, चार सय बोट भ्यागुर र १६ हजार बोट वनतरुल लगाएर व्यावसायिक कन्दमूल खेती गरेको समूहका सचिव रामप्रसाद राईले बताए । ‘कन्दमूल खेतीले उत्पादन दिन सामान्यतया ३ वर्ष लाग्छ, हामीले गत वर्षदेखि मात्र सुरु गरेको हुनाले अब २ वर्षपछि मुख्य उत्पादन हुन्छ’ उनले भने, ‘यसलाई बर्सेनि विस्तार गर्ने योजनामा छौं ।’
हात्ती ढुङ्गेका किसानहरुले व्यावसायिक रुपमा कन्दमूल खेती सुरु गरेपछि कन्दमूल खेती विस्तारका लागि माङसेबुङ गाउँपालिकाले एक लाख सहयोग गरेको छ । माङसेबुङ गाउँपालिकाले परम्परागत कन्दमूल खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत गतवर्ष गाउँपालिकाले एक लाख उपलब्ध गराएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
‘यहाँका किसानले कन्दमूल खेती सुरु गरेपछि थप विस्तारका लागि हामीले गाउँपालिकाबाट रु एक लाख सहयोग गरेका छौं’ अध्यक्ष राईले भने, ‘उहाँहरुको खेती विस्तार हेरेर प्रवद्र्धनका लागि आगामी वर्षमा समेत गाउँपालिकाले सहयोग गर्नेछ ।’
कन्दमूल खेती विस्तारका लागि बिउ नजिकैको जंगलबाट नै सङ्ककलन गर्ने गरिएकाले खेती विस्तारमा सहज नै रहेको समूहका सदस्य प्रेमकुमार राईले बताए । ‘हामीलाई खेती विस्तारका लागि बिउ खोज्न पनि खासै समस्या छैन, नजिकैको जंगलमा प्रशस्त मात्रामा कन्दमूलका बिउ पाइन्छ,’ उनले भने, ‘पाखो बारी र खाली जमिनलाई उपयोग गरी प्रशस्त आम्दानी गर्न सकिने देखिएपछि यसको व्यावसायिक खेतीमा लागेका हौं ।’
गहिरो खाल्डो खनेर प्रशस्त मल राखेर एकपटक बिउ रोपेपछि पटकपटक रेखदेख समेत गर्नु नपर्ने भएकाले कन्दमूल खेती गर्न अन्य खेतीभन्दा सजिलो हुने गरेको उनले बताए ।
कन्दमूल सेवन मुटु, मिर्गौला, पाचनशक्ति, बच्चाको वृद्धिविकास र आन्द्राको समस्यालगायत गर्भवती महिला, बालकालिका र वृद्धवृद्धाका लागि पनि अतिस्वास्थ्यवद्र्धक मानिएको छ ।