इलाम : नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औं वार्षिकोत्सवको अवसरमा इलाम जिल्लाको एक अनाथालयलाई सहयोग गरेको छ। इलाममा तैनाथ श्री रणशार्दूल गणले महाशिवरात्रीको अवसर पारेर इलाम नगरपालिका ९ मा रहेको श्री राहसल बाल अनाथालयलाई शैक्षिक सामग्री, खेलकुदका सामान र राशन हस्तान्तरण गरेको हो।
गणले अनाथालयका बालबालिकाका लागि बिहानको खाजाको व्यवस्थासमेत गरेको थियो। कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रमुख, वडा अध्यक्ष, पत्रकार र अनाथालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति थियो। सहयोग सामग्री गणका प्रतिनिधिले अनाथालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए।
अनाथालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली सेनाले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्न आग्रह गरे। नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। यसै क्रममा अनाथालयलाई सहयोग गरिएको हो।