इलाम : इलामको सूर्योदय नगरपालिकामा यस वर्ष एकसाथ १९ वटा सडक कालोपत्रे गरिँदैछ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरका विभिन्न वडामा ३७ करोड बढीको लगानीमा सडक कालोपत्रे सुरु भएको हो । नगरपालिकाले विभिन्न दातृ निकायसँगको साझेदारी र आफ्नै बजेटमा सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रणबहादुर राईले बताए । एकीकृत सहरी विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र नगरको अवलेदर सडक कार्यक्रमअन्तर्गत वडा–वडाका सडकहरू कालोपत्रे गर्न थालिएको उनले जानकारी दिए ।
यसै वर्ष सबै वडामा कालोपत्रे सडक बिस्तार भइसक्ने उनले बताए । ‘वडावडामा पुग्ने अलवेदर सडकलाई कालोपत्रे गर्नका लागि कतिपय सडक विभिन्न दातृ निकायसँगको साझेदारीमा कालोपत्रे सुरु गरिएका छन् भने कतिपय सडक नगरपालिकाले आफैँ बजेट विनियोजन गरेर समेत कालोपत्रे सुरु गरिएको छ’, उनले भने, ‘यी योजनाहरू सम्पन्न भएपछि सबै वडामा कालोपत्रे सडक बिस्तार भइसक्नेछ ।’
नगरपालिकाको अलवेदर सडक कार्यक्रमअन्तर्गत १० वडा सडक कालोपत्रे सुरु गरिएको छ । नगरपालिकाको १ करोड ८० लाख रुपैयाँको लागतमा सूर्योदय नगरपालिका–१ को ऋषिमोड–गोर्खे–मंगलबारे–मानेभन्जाङ सडक (पहिलो खण्ड) कालोपत्रे सुरु भएको छ ।
सोही कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा वडा–६ को हर्कटे–तारगाउँ सडक, ५० लाखको लागतमा सोही वडाको शान्तिचोक–सुवेदीगाउँ कालोपत्रे सडक, ७० लाखको लागतमा वडा–७ को पाल्टाङे–भाग्योदय–राईगाउँ हुँदै बिररिङ कालोपत्रे सडक कालोपत्रे सुरु गरिएको उनले जानकारी दिए ।
त्यस्तै २ करोडको लागतमा वडा–९ र ३ जोड्ने बरवोटे–कट्टेबुङ–छिरुवा सडक, ७० लाखको लागतमा वडा–९ को बरवोटे–गैह्रीगाउँ सडक, ७० लाखको लागतमा वडा–१० को फिक्कल–सहिदचोक–रत्नचोक कालोपत्रे सडक, ७५ लाखको लागतमा सोही वडाको फिक्कल–मलिम–जुरेभज्याङ सडक र ९० लाखको लागतमा सोही वडाको नयाँचोक–केराबारी सडक कालोपत्रे भइरहेको छ । अलवेदर सडकअन्तर्गत वडा–८ को पाल्टाङे–सिद्धीखोला सडकको लगत स्टिमेट तयारी भइरहेको नगरप्रमुख राईले बताए ।
एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ६ वटा सडकहरू कालोपत्रे भइरहेका छन् । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत ७ करोडको लागतमा वडा–१ को ऋषिमोड–गोर्खे–मंगलबारे–मानेभन्जाङ सडक (दोस्रो खण्ड) कालोपत्रे सुरु भएको छ ।
त्यस्तै ६० लाखको लागतमा वडा–४ को छिरुवा–ठाकुरचोक सडक, ११ करोड लागतमा वडा–५ को रातोमाटे–वडा शान्तिबजार–नमुनावस्ती सडक, ७ करोडको लागतमा वडा–६ को हुरहुरे भन्जाङ–वडा कार्यालय–फाजिगाउँ सडक, २ करोडको लागतमा वडा–९ को छिरुवा–छब्बिसे सडक र १ करोड लागतमा वडा–१० को फिक्कल–पञ्चकन्या–रिङरोड कालोपत्रे भइरहेको छ ।
त्यस्तै स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १ करोड १३ लाखको लागतमा वडा–५ को अन्तु–शान्तिबजार कालोपत्रे सडक र १ करोडको लागतमा वडा–९ को बरवोटे–पाथीभरा मन्दिर–विपसना केन्द्र कालोपत्रे सडक निर्माण भइरहेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गतको भालुखोप–खुदुनाबारी सडक पनि कालोपत्रे भइरहेको छ । ३ करोड ६० लाखको लागमा सडक विभागले सो सडक निर्माण गरिरहेको सडक विभागका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।
नगरपालिकाले ५ वर्षअघि सडक निर्माणको २८ वर्षे गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाअनुसार काम अगाडि बढाइएको नगरप्रमुख राईले बताए । उनले यसवर्ष सबै वडामा कालोपत्रे पु¥याउने र आगामी वर्ष टोलटोलका सडकहरू समेत कालोपत्रे गर्न सुरु गरिने बताए ।
सडक सञ्जाल नै विकासको मुख्य आधार भएकाले यसको बिस्तारका लागि नगरपालिका सक्रिय भएर लागेको उनले बताए । सडकको गुणस्तरीयतामा पनि उत्तिकै ध्यान दिएको बताउँदै उनले आगामी दिनमा समेत टोलटोलका सडक कालोपत्रेलाई नै प्राथमिकता दिएर अघि बढ्ने बताए ।
स्थानीय तहको पुनर्संरचना हुनुअघि वडाका स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यमा थियो । स्थानीय जनप्रतिनिध आएपछि पालिकाको विकासले गति लिएपछि स्थानीयबासीसमेत खुसी छन् । वडावडामा कालोपत्रे सडक पुगेसँगै गाउँबाट कृषिजन्य वस्तुहरू बजारसम्म ल्याउन ढुवानीमा सहजता, सेवाग्राहीलाई आवतजावतमा सहजताभएसँगै बढ्दो बसाइँसराइ नियन्त्रणमा समेत टेवा पुग्ने नगरको अपेक्षा छ । सूर्योदय नगरपालिका मेची राजमार्गले समेत छोएको पालिका हो ।