राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : कार्यसम्पादनमा सूर्योदय जिल्लामा पहिलो, देशभरमा दोस्रो

इलाम : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरको पालिकामध्ये दोस्रो भएको छ । गतवर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यसवर्ष पनि ८० दशमलव २ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव ७ अङ्क प्राप्त गरी डडेलधुराको अमगरगढी नगरपालिका उत्कृष्ट भएको छ ।

जिल्लाका १० पालिकामध्ये देउमाई नगरपालिका र माई नगरपालिकाले समान ६८ दशमलव १ अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव ३ अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो भएको छ ।

चुलाचुली गाउँपालिका जिल्लाको गाउँपालिकामध्ये पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चुलाचुली गाउँपालिकाले ५८, सन्दकपुर गाउँपालिकाले ५७ दशमलव ९, फाकफोकथुम गाउँपालिकाले ५६ दशमलव ३, रोङ गाउँपालिकाले ५४ दशमलव ९, माङसेबुङ गाउँपालिकाले ५४ र माईजोगमाई गाउँपालिकाले ४६ दशमलव २ अङ्क प्राप्त गरेका छन् ।

सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले जनप्रतिनिधि र कमर्चारीको सहकार्य, समन्वय एवम् तालमेल र सरोकारवालाहरुको सहयोगका कारण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा आफ्नो पालिका देशभरमा दोस्रो स्थान हासिल गर्न सफल भएको बताए ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मुल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फर्छ्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रुपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मुल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार