इलाम : भूमि समस्या समाधान आयोग इलामले पूर्णता पाएको छ । यसअघि अध्यक्ष मात्रै नियुक्त गरिएकोमा आयोगमा विज्ञसहितका सदस्य नियुक्त भएसँगै जिल्लाले पूर्णता पाएको हो ।
भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसअघि जिल्ला अध्यक्ष प्रकाश अधिकारीलाई नियक्त गरेको थियो । पछि विज्ञ सदस्यमा श्यामप्रसाद खड्गी एवम् सदस्यहरु रणबहादुर लिम्बू र उर्मिला खड्कालाई नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हो । अध्यक्ष अधिकारी र सदस्य लिम्बू नेकपा एमालेबाट र विज्ञ सदस्य खड्गी र सदस्य खड्का नेपाली कांग्रेसबाट नियक्त भएका हुन् ।
यसैबीच आयोगले पूर्णता पाएसँगै सदस्यहरुले आज (बिहीबार) सपथ ग्रहण तथा पदभार सम्हालेका छन् । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा अध्यक्ष सदस्यत्रयलाई अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले आयोगले पूर्णता पाएसँगै विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै तिव्रतर रुपमा भूमि सम्बन्धी समस्या समाधानतर्फ अघि बढ्ने बताए । उहाँले ३ वर्षको कार्यकालमा जनतालाई जमिनको मालिक बनाउने संकल्प गरेको बताए ।
जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले जनताको समस्या समाधान गर्नेतर्फ आयोग लाग्नुपर्नेमा जोड दिए । भूमि आयोगका निवर्तमान अध्यक्ष भक्त केसीले आफूहरुको कार्यकालमा झण्डै ३६ हजार हाराहारीमा अव्यवस्थित बसोबासी, भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको फाराम सङ्कलन भएको बताउँदै त्यसको स्वामित्व ग्रहण गर्दै अघि बढ्न आग्रह गरे ।