इलाम : ‘३० औँ जनयुद्ध दिवस ०८१’ को अवसरमा इलाम सदरमुकामस्थित चोक बजारमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ ।
२०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) ले विभिन्न स्थानीय तहसहित सदरमुकाममा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो । कार्यक्रममा पार्टी तथा विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
सदरमुकाममा आयोजित दिवसमा दीपावली गर्दै माओवादी नेता राजेन्द्र किराती, सोममाया राई (सिन्धु) र मुक्कुमलुङ संरक्षण समिति संयोजक योगेन्द्र लावतीले सम्बोधन गरेका थिए ।
नेता किरातीले जनयुद्धमा होमिएको माओवादीकै कारण आज देशमा अढाई सय वर्ष लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । उनले माओवादीले तत्कालीन समयमा उठाएका अधिकांश अधिकारका माग पूरा भएपनि बाँकी अधिकार पाउन प्राप्त अधिकारको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
दश वर्षे जनयुद्धले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था प्राप्त भएको तथा महिला, आदिवासी, जनजाति, दलित, पिछडा वर्ग र सीमान्तकृत समुदायले वर्षौँपछि राजनीतिक र सामाजिक अधिकार पाएर समान नागरिकको हैसियत बनाएको उनको भनाई थियो ।
सिन्धुले सदियौँदेखि दोस्रो दर्जाको नागरिकको रुपमा रही आएका महिलाहरु जनयुद्धले चेतना भर्दै चुला चौका छाडेर काखको बच्चा पिठ्युँमा च्याप्दै बन्दुक बोकेर युद्ध लड्न सक्ने भएको बत्ताइन् । उनले आज देशमा समावेशी समानुपातिक व्यवस्था ल्याएर गाउँ गाउँमा सिंहदरबारको अधिकार पाउनुको मुख्य कारक जनयुद्ध भएको बत्ताइन् । जनयुद्धकै कारण देशमा संघीयता र गणतन्त्र प्राप्त भएको भन्दै अझै धेरै अधिकार पाउन बाँकी रहेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि लड्न जनयुद्ध दिवसले ऊर्जा थप्ने बत्ताइन् ।
मुक्कुमलुङ संघर्ष समिति संयोजक लावतीले अहिलेको उपलब्धि माओवादी जनयुद्धकै उपलब्धि रहेको बताए । उनले मुक्कुमलुङजस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको राज्यबाट अतिक्रमण भइरहेको बताउँदै मुक्कुमलुङ संरक्षणको आन्दोलनमा सहयो गर्न माओवादीसँग अपिल समेत गरे ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्र इलाम नगर सचिव कमल दुलालले गरेका थिए । जनयुद्ध दिवस फाकफोकथुम, माङसेबुङ गाउँपालिकालगायतमा समेत मनाईएको छ ।