इलाम : इलामको सूर्योदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८१।०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई आइतबार फिक्कलमा सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
नगर कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ९९ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा १९ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा राजकुमार श्रेष्ठ, कृष्ण खड्का, भीष्म प्रधान, कमल गदाल, दुर्गाबहादुर राइ, संजोग घिमिरे, सन्तोष मुक्तान, प्रेमबहादुर लेप्चा, अशोक गुरुङ, सितलकुमार सुनुवार, केदारनाथ अर्याल, कोकिला अधिकारी, रमला वस्ती, चित्रबहादुर बुढाथोकी, राजेन्द्र सुवेदी, नेत्रप्रसाल रेग्मी र डुपछिरिङ काजी लेप्चाले प्रत्यक्ष रुपमा एवम् एलिसा दास र प्रवेश खड्काले लिखित रुपमा विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ सूर्योदय नगरप्रमुख रणबादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले दिएका थिए । उनले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख राईले सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नगरबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले नगरपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।
त्यस्तै इलाम मल्टिपर्पोज कम्पनी प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो बुद्धवाणी एफएम र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
कार्यक्रम सूर्योदय नगरपालिकाको आयोजना र इलाम मल्टिपर्पोज कम्पनी प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
कार्यक्रमको तस्बिरहरु :