आज किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव, उद्घाटन गर्न रक्षामन्त्री राई माङसेबुङ आउँदै

  नयाँ बुलन्द
168 Shares

इलाम :  आज (मङ्गलबार) १८ मंसिर, किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औं जन्मोत्सव मनाइदैछ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ ।

माङसेबुङ गाउँपालिक-५ माङसेबुङ (लारुम्बा) मा दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ७१ औं जन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

बुधबार धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । बिहीबार माङगेन्ना चामल वितरणसँगै विदाई गरिने माङेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष रक्षामन्त्री मानविर राई आउने भएका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन राई पहिलो पटक माङसेबुङ आउन लागेका हुन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिका-३ र ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा जाँडरक्सी, मासुमंश, धुम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत निषेधित छ ।

माङसेबुङर माईमा सार्वजनिक विदा

यसैबीच धर्मगुरु लिङदेनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिाले सोमबार सार्वजनिक विदा दिएको छ ।

दुवै पालिकाले सूचना प्रकाशित गरी १८ मंसिरमा धर्मगुरुको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार