इलाम : इलामको सन्दकपुर गाउँपालिका-४ माबुमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
फाल्गुनन्दको १४० औं जन्मजयन्तीको अवसरमा आज (आइतबार) माबुमा आयोजित कार्यक्रममा सालिक अनावरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाको उपस्थितिमा किरात धर्मगुरु आत्मानन्द लिङदेनले फाल्गुनन्दको सालिक अनावरण गरे ।
कोशी प्रदेश सरकारको रछ लाख र भक्तजनहरुबाट भेटी सङ्कलन गरी ४५ लाख बढीको लागतमा सालिक निर्माण गरिएको निर्माण समिति सचिव बिबीहाङ साउदेनले जानकारी दिए ।
लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान एवम् सत्मार्ग दर्शनमा डोर्याउन फाल्गुनन्दले विशेष योगदान गरेका थिए । उनको ‘सत्य, शान्ति र अहिंसावादी’ दर्शनलाई पछिल्लो समय किरात समुदायले अनुसरण गर्दै आएका छन् ।
फाल्गुनन्दले तत्कालीन कुरीति कुसंस्कारमा रुमलिएका समाजलाई सधार गर्नका लागि वि.स. १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङ्गी, कारवारी, बुद्धिजीविहरुलाई आम भेला गराई साट्ट बुँदे ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेका थिए ।
पूर्वी नेपालको इलाम माङसेबुङ गाउँपालिका-२ (साविक इभाङ-५) चुक्चीनाम्बामा वि.स. १९४२ कात्तिक २५ गते जन्मिएका फाल्गुनन्दको वि.स. २००५ चैत २२ गते ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । फाल्गुनन्दलाई नेपार सरकारले वि.स. २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यसैबीच सोही अवसरमा त्यहाँ निर्माण गरिएको किरात माङहिम (मन्दिर) समेत उद्घाटन गरिएको छ । सन्दकपुर गाउँपालिकाको १८ लाखसहित स्थानीय भक्तजनहरुको एक करोड बढीको लागतमा निर्माण गरिएको माङहिमको समेत धर्मगुरु लिङदेनले उद्घाटन गरेका हुन् ।