चुम्लुङको स्थापना दिवसमा चार जनालाई ३० हजार छात्रवृत्ति वितरण (तस्बिरहरु)

इलाम : किरात याक्थुङ चुम्लुङ इलामले चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३६ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी विभिन्न तीन क्षेत्रको छात्रवृत्ति वितरण गरेको हो ।

चुम्लुङले स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न दिने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति इलाम नगरपालिका-५ स्थित अमर माध्यमिक विद्यालय कक्षा-११ का सेसेहाङ लिम्बू जवेगूलाई प्रदान गरेको छ । सो छात्रवृत्ति सेसेहाङले अर्को साल पनि पाउनेछन् ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट कक्षा ६ देखि १० सम्म अध्ययन गर्न बर्सेनि प्रदान गर्ने रु १० हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति माङसेबुङ गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा-६ का छात्र लिहाङ माबोहाङले पाएका छन् । सो छात्रवृत्ति माबोहाङलाई ५ वर्षसम्म निरन्तर उपलब्ध गराईने किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

त्यसैगरी, किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट दुई जनालाई उपलब्ध गराउँदै आएको रु. पाँच/पाँच हजार राशीको गरिब तथा जेहेन्दार छात्रवृत्ति माइजोगमाई गाउँपालिका-६ स्थित प्याङ माध्यमिक विद्यालय कक्षा-९ की मौसमी सोङ्मी र चुलाचुली गाउँपालिका-१ स्थित जनता माध्यमिक विद्यालय कक्षा-८ का सुनिल लावतीले पाएका छन् ।

उनीहरुलाई किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले नगद र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा थेवेसहित इलाम नगरपालिका-७ का वडाअध्यक्ष नरेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ इलामका उपाध्यक्ष भक्त थामीलगायतले चुम्लुङको स्थापना दिवसको अवसरमा प्रदान गरिएको छात्रवृत्तिले शैक्षिक सुधारमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका थिए ।

यसैबीच, चुम्लुङको स्थापना दिवसको अवसरमा धाननाच, च्याब्रुङ नाच, पालामलगायत समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष पदम ताम्लिङले गरेका थिए ।

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार