इलाम : नेपाल पत्रकार महासंघ इलामद्वारा प्रकाशित स्मारिका ‘इलाम’ मङ्गलबार विमोचन हुँदैछ ।
इलामको पत्रकारिता र समग्र जिल्लालाई समेटेर तयार गरेको स्मारिका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विमोचन गर्नेछन् ।
विहान ११ बजे जिल्ला समन्वय समितिको समीक्षा हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकारमहासंघ इलामका अध्यक्ष विप्लव भट्टराले जानकारी दिए ।
स्मारिकामा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराले बताए । स्मारिकामा खण्ड-१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड-२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड-३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।
नेपाल पत्रकार महासंघ इलामले पहिलोपटक स्मारिका प्रकाशन गरेको हो । महासंघले पाँच सय प्रति स्मारिका प्रकाशन गरेको हो ।
त्यसैगरी मङ्गलबार नै सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकारको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम समेत हुने भएको छ । स्मारिका विमोचनपछि सो कार्यक्रम जोडिने अध्यक्ष भट्टराईले जानकारी दिए । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
कार्यक्रममा इलामका पत्रकार एवम् विभिन्न सरोकारवाला तथा झापा, पाँचथर, तेह्रथुमलगायत छिमेकी जिल्लाका पत्रकारहरुको समेत सहभागिता रहने अध्यक्ष भट्टराईले बताए ।