इलाम : इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । मङ्गलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे ।
वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निदिष्ट गरेका सूचकहरु पूरा गरेसँगै वडालाई औपचारिक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले बताए ।
वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसारका ५१ वटा सूचकहरु पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उनले बताए । वडाले बाल अधिकारसँग सम्बन्धित बाल बचाउका क्षेत्रमा १४, बाल संरक्षणका क्षेत्रमा १०, बाल विकासका क्षेत्रमा छ, बाल सहभागिताका क्षेत्रमा छ र संस्थागत विकासको क्षेत्रमा १५ गरी ५१ वटा सूचकमध्ये ९७ प्रतिशत सूचकहरु पूरा गरेको उनले बताए ।
उनले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक सूचकहरु पूरा गर्न वडास्थित विद्यालय, बालक्लब र बाल सञ्जाल, नागरिक समाज, राजनैतिक दल, टोल विकास संस्था, सञ्चारकर्मीलगायत सरोकारवालाहरु सबैको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पालिकालाई आगामी वर्ष स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने अभियान अन्तर्गत वडा नं. ३ बाट वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको सुरुवात गरिएको बताए ।
उनले बालबालिकाको चौतर्फी विकासका लागि गाउँपालिकाले ठोस योजनासहित बजेट तर्जुमा गर्ने बताए । उनले बालमैत्री शासनयुक्त वडा घोषणा भएर मात्र नपुग्ने भएकाले कालबालिकाको विकासका लागि अन्य कार्य गर्न सुरु गर्ने बताए । अभियान अन्तर्गत वडा नं. ५ लाई समेत बुधबार बालमैत्री घोषणा गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
‘गाउँपालिकामा भएका सम्पूर्ण बालबालिका विरुद्ध हुने सबै खाले हिसां, यातना, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध गाउँपालिका बनाउन चुलाचुली गाउँपालिका लागिरहेको छ,’ अध्यक्ष केरुङले भने, ‘यसमा तपाईं सम्पर्ण सरोकारवालाहरुको साथ र सहयोगले नै यो सम्भव भएको हो ।’वडास्तरीय बाल सञ्जालका अध्यक्ष जोसन गहतराजले चुलाचुली–३ का बालबालिकाले आफ्नो हक अधिकार उपभोग गर्न सक्षम भइसकेको बताए ।
उनले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नु गर्वको विषय रहेको बताउँदै कार्यान्वयन समेत उत्तिकै ध्यान जान जरुरी रहेको औंल्याए । कार्यक्रमका अन्य वक्ताहरुले समेत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभन्दा कार्यान्वयन पक्ष अझ चुनौतीपूर्ण रहेको उल्लेख गर्दै वडा र गाउँपालिका अझ जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिसस प्रमुख राईसहित गाउँपालिका अध्यक्ष केरुङ, उपाध्यक्ष दिलकुमारी लिम्बू, ५ नं. वडा अध्यक्षलगायतले सम्बोधन गरेका थिए ।
नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय घोषणा कार्यविधि २०७९, विवाह सम्बन्धी विभिन्न ऐन, बालबालिका सम्बन्धी ऐन २०७५, बालकालिका सम्बन्धी नियमावली २०७८, बालश्रम निशेष ऐन २०५६, घरेलु हिंसा निषेध ऐन २०६६, चुलाचुली गाउँपालिकाको बालबालिकाको संरक्षणा तथा सम्वर्द्धन कार्य सञ्चालन कार्यविधि २०७५, बाल संरक्षण नीति २०७५, बालकोष सञ्चालन कार्यविधि २०७८, बालबालिकाका लागि संस्थागत आचारसंहिता पालना गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । चुलाचुली गाउँपालिकाको सर्वेक्षण अनुसार सो वडामा एक हजार ४९ घरधुरी र चार हजार तीन सय नौ जनसङ्ख्या रहेको छ ।