सोलुखुम्बु : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे । थामे गाउँमा बाढीले क्षति पु-याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिए । उनले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताए ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताए । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।
दूधकोशीका तल्लो तटीय क्षेत्रका बासीलाई सतर्क रहन अपिल
सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’
त्यस्तै गृह मन्त्रालय विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले सोलुखुम्बु थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठुलो क्षति पुर्याएको हुन सक्नै भन्दै तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘थुलुङ गाउँपालिका स्थित दूधकोशी नदी आसपास क्षेत्रहरू अति जो रहेको हु खिममा रहेको हुँदा दूधकोशी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सचेत रहन र सुरक्षित स्थानमा बस्नुहुन थुलुङ दूधकोशी गाउँपालिका हार्दिक अपिल गर्दछ।’
आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ ।