‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत

  नयाँ बुलन्द
126 Shares

इलाम : यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८१’ बाट पत्रकार सुजता  सुनुवार पुरस्कृत भएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार १० हजार राशीको पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका संघीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङहाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गरे ।

२०६९ सालमा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील सुनुवार काठमाडौंको उज्यालो रेडियो नेटवर्कमा आवद्ध छिन् ।

फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसकेका छन् ।

फोनिज इलामले तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडा गरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताए ।

‘आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवसी जनजातिको क्षेत्रमा योगदान पुर्‍याउने एक जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने गरिएको छ’ उनले भने ।

फोनिज अध्यक्ष योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख थापासहित फोनिज संघीय उपाध्यक्ष देवान, प्रदेश नं. १ सदस्य अतित योङहाङ, नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष अभिषेक येक्तेन, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई र पुरस्कृत पत्रकार सुनुवारले मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष माबोहाङ र सञ्चालन सदस्य सरीता राईले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार