सन्दकपुर गाउँपालिकाको आ.व २०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)

इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमित रुपमा सार्वजनिक सुनुवाई सुरुवात गरेको सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई मङ्गलबार सम्पन्न गरेको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सन्दकपुर गाउँपालिका-३ स्थित सेमेन्चोङ भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ९७ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ९ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा जीवन शिवा, नेत्र रिजाल, रेखराज पोख्रेल, धनप्रकाश राई, हर्कराज मगर, दिनेश सुवेदी, श्याबहादुर राई, बिसन खतिवडा, धनप्रसाद खतिवडाले गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज नेपाल, ३ नं. वडा अध्यक्ष लिलाबहादुर बुर्जा, इन्जिनियर राजकुमार यादवलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।

गाउँपालिका अध्यक्ष गुूरुङ, उपाध्यक्ष लुङ्गेली र निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपालले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले गाउँबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपालले गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रम सन्दकपुर गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।

सोही कार्यक्रमको अवसरमा आव २०८०।०८१ को वार्षिक समीक्षा र आव २०८१।०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रमको तस्बिरहरु :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार