
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न विधाका १६ जनालाई नगदसहित सम्मान गरेको छ ।
मङ्गलबार माङसेबुङ गाउँपालिकाको सभाहलमा ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
माङसेबुङले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पालिका उत्कृष्ट भएका एक छात्र र एक छात्रालाई नगद पाँच हजारसहित सम्मान गरेको छ ।
तीन दशमलव २१ जिपीएका साथ एसइई परीक्षामा माङसेबुङ गाउँपालिका उत्कृष्ट भएकी महेन्द्रोदय माध्यमिक विद्यालय माङसेबुङ-१ की प्रकृति बराल र तीन दशमलव ०७ जिपीएका साथ छात्रतर्फ माङसेबुङ गाउँपालिका उत्कृष्ट भएका सोही विद्यालयका अप्सन योङहाङ सम्मानित भएका हुन् ।
त्यस्तै तीन दशमलव ५४ जिपीएका साथ २०८० को पालिकास्तरीय कक्षा ८ को परीक्षामा माङसेबुङ गाउँपालिका उत्कृष्ट भएका चिसोपानी मावि माङसेबुङ-६ का सुभोहाङ लिम्बू र तीन दशमलव ५० जिपीएका साथ माङसेबुङ गाउँपालिका उत्कृष्ट भएकी महेन्द्रोदय माविकी प्रसना लुइँटेल समेत जनही पाँच हजार सहित सम्मानित भए ।
त्यसैगरी गएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाईजम्पतर्फ इलाम जिल्ला प्रथम भएका महेन्द्रोदय माविका समीर मगर र सटफुटतर्फ जिल्ला प्रथम भएका विद्यासिर्जनात्मक माबिका निश्चल राई जनही पाँच हजारसहित सम्मानित भएका ।
भलिबलतर्फ जिल्ला भएका चिसोपानी माविका सुदिप राई, अर्पण लावती, सुजन लावती, भविन लावती, निमेष लिम्बू, बबिन लावती, सन्जोक लावती र विनोद लावतीलाई समेत जनही पाँचहजारसहित सम्मानित भए ।
उता विद्यावारिधि (पिएचडी) अध्ययरत माङसेबुङ गाउँपालिका-२ का गोविन्दप्रसाद लिम्बू र मनोजकुमार लिम्बू समेत ई लाख ५० हजारको छात्रवृत्तिसहित सम्मानित भए ।
उनीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चेक हस्तान्तरण गर्दै सम्मान गरे ।
कार्यक्रममा अध्यक्ष राईले शिक्षा क्षेत्रमा गरिएको लगानी खेर नजानेमा विश्वस्त रहेको बताए । माङसेबुङको ठूलो बजेट शिक्षा क्षेत्रमा लगानी भएको बताउँदै अध्यक्ष राईले भोलिका दिनमा प्रतिफल पनि राम्रै पाउनेमा आशावादी रहेको उल्लेख गरे ।
२०८० को एसइईको नतिजा सन्तोषजनक नरहेपनि आउँदो दिनमा राम्रो बनाउन लगानी खेर जान नदिन कटिबद्ध रहेको बताए ।
उपाध्यक्ष बिनोद नेम्बाङले पिएचडी गर्नुहुने दुबै जनालाई शुभकामना दिदै आउने दिनमा वौद्धिक व्यक्तित्वहरुबाट गाउँपालिका शिक्षा सुधारमा धेरै सहयोगको अपेक्षा रहेको बताए ।
माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राई, उपाध्यक्ष नेम्बाङसहित प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनम, २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, ५ नं. वडा अध्यक्ष नरेन्द्र राईलगायतको उपस्थिति थियो ।















































