विद्यावारिधि गर्ने लिम्बूद्वयलाई माङसेबुङ गाउँपालिकाद्वारा जनही साढे दुई लाखको छात्रवृत्ति

  नयाँ बुलन्द
4.1k Shares

फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति उपलब्ध गराएको हो। माङसेबुङ गाउँपालिकाले आज ‘विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रम’ आयोजना गरी पीएचडी अध्ययनरत माङसेबुङ–२ का मनोजकुमार लिम्बू र गोविन्दप्रसाद लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही रु दुई लाख ५० हजारका दरले उपलब्ध गराएको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले दुवै जनालाई जनही रु दुई लाख ५० हजारको चेक हस्तान्तरण गरे।

गतवर्ष सम्पन्न गाउँसभाको १४औँ अधिवेशनले पारित गरेको नीति तथा कार्यक्रममा पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको थियो। उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्ति दिन थालिएको अध्यक्ष राईले बताए। आफ्नो पालिकावासी नागरिकलाई पीएचडी गर्न उत्प्रेरणा दिने उद्देश्यले ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति वितरणसम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति वितरण सुरुआत गरिएको उनले जानकारी दिए।

‘हाम्रो पालिकामा विद्यावारिधि गरेका विद्यार्थी पाउनै गाह्रो छ। कतिपयले पैसा नभएर विद्यावारिधि गर्न पाएका छैनन्’, अध्यक्ष राईले भने, ‘पालिकावासी विद्यार्थीलाई विद्यावारिधिमा उत्प्रेरणा दिन छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ।’

छात्रवृत्ति लिन माङसेबुङ गाउँपालिकाभित्रकै स्थायी बासिन्दा र नेपालकै कुनै एक विश्वविद्यालबाट विद्यावारिधि गर्नुपर्ने मापदण्ड ऐनमा उल्लेख छ। त्यसैगरी गाउँपालिकाले विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एएइई)मा पालिकाबाट सर्वोत्कृष्ट अङ्क प्राप्त गरी उत्तिर्ण छात्रछात्रालाई जनही रु पाँह हजार नगदसहित सम्मान गरेको छ। आज आयोजित कार्यक्रममा तीन दशमलव २१ जिपिए प्राप्त गरेकी महेन्द्रोदय माध्यमिक विद्यालय माङसेबुङ–१ की प्रकृति बराल र तीन दशमलव ०७ जिपिए प्राप्त गरेका सोही विद्यालयका अप्सन योङहाङलाई सम्मान गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार