इलाममा खानेपानी र सिँचाइ : जनतालाई प्रदेश सरकारको अनुभूति

  रामकुमार लिम्बू
182 Shares

कोशी प्रदेश सरकारको लगानीमा इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पामा सञ्चालित एकतप्पा खानेपानी आयोजना अन्तर्गत निर्मित ट्याङ्की । कोशी प्रदेश सरकारको लगानीमा चालु आवमा इलाममा ११ करोड ८० लाख ४० हजार रुपैयाँको लगानीमा एक सय ३० वटा साना ठूला खानेपानी आयोजना सञ्चालन भएका छन् । 

इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौं कुर्नुपथ्र्यो । उनले मात्रै होइन माङसेबुङ गाउँपालिका-६ का बासिन्दाले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताइन् । खानेपानी आयोजनाले स्थानीयको दैनिकीमा नै सहज बनाइदिएको छ । ‘खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहणी महिलालाई राहत मिलेको छ’ उनले सुनाइन् ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा इलाममा मात्र खानेपानीमा ११ करोड ८० लाख ४० हजार रुपैयाँ लगानी गरेको छ । प्रदेश सरकारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापामार्फत इलाममा एक सय ३० वटा साना ठूला खानेपानी आयोजना सञ्चालन भइरहेको डिभिजन प्रमुख विकास काफ्लेले जानकारी दिए ।

डिभिजन कार्यालयले दिएको जानकारी अनुसार ५७ वटा नयाँ योजना सुरु भएका छन् । ७५ वटा पुराना योजनालाई मर्मत सम्भार तथा पुनःनिर्माण गरिएका छन् । डिभिजन कार्यालयका अनुसार यस वर्ष प्रदेश सरकारले चार करोड ७० लाखको लागतमा ५७ वटा नयाँ योजना अघि बढाएको छ । त्यस्तै सात करोड १० लाख ४० हजार रुपैयाँको लागतमा ७५ वटा पुराना योजना मर्मत सम्भार तथा पुनःनिर्माण गरिरहेको छ ।

डिभिजन प्रमुख काफ्लेका अनुसार प्रदेश सरकारको लगानीमा चालु रहेका आयोजना सम्पन्न भएपछि इलामको २१ हजार एक सय ७५ परिवारका एक लाख पाँच हजार आठ सय ५५ जना जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्नेछ । जसमध्ये नयाँ योजनाबाट छ हजार २८ घरधुरीका ३० हजार एक सय ४० जना र पुराना योजनाबाट १५ हजार एक सय ४७ घरधुरीका ७५ हजार सात सय १५ जना इलामबासी जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्ने डिभिजन कार्यालय प्रमुख काफ्लेले बताए ।

प्रदेश सरकारले एकै वर्षमा खानेपानी आयोजनामा करौडौंको लगानी गरेपछि इलामबासी हर्षित भएका छन् । प्रदेश सरकारले खानेपानी आयोजनाको क्षेत्रमा गरेको लगानीले वास्तविक संघीयताको आभास दिलाएको माङसेबुङ गाउँपालिका-२ इभाङका सामाजिक अभियान्ता डम्बर लोरिन्देनको बुझाई छ । ‘खानेपानी क्षेत्रमा प्रदेश सरकारको लगानी हेर्दा विगतमा बिसौं वर्षसम्म खानेपानी नपाएका क्षेत्रका नागरिकसम्म प्रदेश सरकार पुग्न सफल भएको देखिन्छ’ लोरिन्देन बताउँछन् । प्रदेश सरकार तल्लो तहका जनताको विकास र समृद्धिको सहयोगी बनेको छ । जननाको वास्तविक समस्यासम्म प्रदेश सरकार पुग्न सक्दा जनताले पनि परिवर्तनको अनुभूति गर्न पाएका छन् ।

माङसेबुङ गाउँपालिका-२ इभाङका सुमन खनाल प्रदेश सरकारले पछिल्लो समयमा खानेपानीको क्षेत्रमा गरेको लगानीले जिल्लाबासी नागरिकलाई आशावादी बनाएको बताउछन् । ‘पछिल्लो समय प्रादेशिक संरचनामाथि नै केहिले प्रश्न उठाउन  थालेको समयमा प्रदेश सरकारको यो लगानी विश्लेषण गर्दा प्रंसशनीय छ,’ खनालले भने, ‘सबै क्षेत्रमा यसरी नै लगानी गर्दै जाने हो भने त्यसको प्रतिफल पनि जनताले चाँडै पाउनेछ, फलस्वरुप संघीयताको आभाष समेत सर्वसाधारणले गर्न पाउनेछन् ।’

फाकफोकथुम गाउँपालिका-७ एकतप्पाका सुमन दियाली बर्षायाममा बाढी आउदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो बिगत सम्झन चाहँदैनन् । अहिले घरघरमा स्वच्छ खानेपानीको पहुँच पुर्याइदिएको प्रदेश सरकारप्रति उनी आभारी छन् ।

इलाममा शतप्रतिशत जनतामा खानेपानी पुर्याउने गरी काम भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख बिकास काफ्लेले जानकारी दिए ।

पाँच लाखदेखि ३३ लाख ८० हजारका योजना

प्रदेश सरकारले पाँच लाखदेखि रु ३३ लाख ८० हजार रुपैयाँसम्मका खानेपानी योजना सञ्चालन गरेको छ । तीमध्ये ६४ वटा योजना  पाँच लाखका र ६६ वटा योजना  पाँच लाखदेखि रु ३३ लाख ८० हजार रुपैयाँसम्मको लगानीका छन् । प्रदेश सरकारले रोङ गाउँपालिका-२ बदामटारस्थित बदमटार खानेपानी योजना (सलकपुर खानेपानी योजना) को स्किममा रु ३३ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ । सो योजनाबाट दुई सय घरका एक हजार जना प्रत्यक्ष लाभान्वित हुँदैछन् ।

चुलाचुली गाउँपालिकास्थित शिखरकटेरी खानेपानी योजनामा रु २३ लाख १० हजार, माई नगरपालिका-५ स्थित बगैंचे डङडङे खानेपानी योजनामा रु २२ लाख र इलाम नगरपालिकास्थित माईखोला खानेपानी तथा सरसफाई योजनामा रु २१ लाख रुपैयाँ लगानी गरेको छ ।

२० लाखका नौ योजना

प्रदेश सरकारले इलाममा २० लाख रुपैयाँका नौ वटा योजना सञ्चालन गरेको छ । जिल्लाको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित फिक्कल कन्याम खानेपानी आयोजना र खानीखोला सिम्ले सहकाले टोल खानेपानी आयोजना, माङसेबुङ गाउँपालिकास्थित खलङ्गे खानेपानी निर्माण उत्तरे माल्टेनी मुहान र भुतेखोला खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित अम्बके बहुवन खानेपानी आयोजना, इलाम नगरपालिकास्थित अँधेरी नारायणचोक छौडे सतुवाबेँसी खानेपानी योजना, माई नगरपालिकास्थित पाल्टार खानेपानी (भूमिगत) आयोजना र राँगापानी खानेपानी आयोजनामा २०/२० लाख रुपैयाँ लगानी गरेको छ ।

२० लाख भन्दा कमका खानेपानी योजनाहरु

त्यसैगरी माङसेबङ गाउँपालिकास्थित चित्रेखोला लिफ्टिङ खानेपानी निर्माणमा रु १७ लाख ५० हजार र रोङ गाउँपालिकास्थित सिद्धि सलकपुर खानेपानी आयोजनामा १७ लाख रुपैयाँ विनियोजन भई काम भइरहरेका छन् ।

माईजोगमाई गाउँपालिकास्थित नयाँबजार वृहत खानेपानी आयोजना, रातेखोला खानेपानी आयोजना र गङ्गडाँडा खानेपानी आयोजना, माई नगरपालिकास्थित रातमाटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित राई टोल र सिरानतला दुईवटा क्षेत्रमा खानेपानी आयोजना, माई नगरपालिकास्थित आरुपानी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित टुनीगौरी डाँडागाउँ खानेपानी आयोजना र सन्दकपुर गाउँपालिकास्थित भैरमबारी खानेपानी आयोजनामा १५/१५ लाख रुपैयाँ विनियोजन भई काम भइरहेको छ ।

त्यस्तै रोङ गाउँपालिकास्थित टिमाई खोला छावा खोल्सी खानेपानी आयोजनामा १४ लाख १० हजार एवम् इलाम नगरपालिकास्थित माईखोला खानेपानी आयोजना, बरबोटे खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित सार्कीटार सुपारीबोटे र सिम्बले तिनवटै क्षेत्रमा खानेपानी निर्माणमा १४/१४ लाख विनियोजन भई निर्माण कार्य अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

भुतेखोला खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित कमेरे जरिङ्गे खाम्बाङ तल्लोबोहोरे गाउँ खानेपानी आयोजनामा १३/१३ लाख, बुलुङखोला धावा खानेपानी आयोजनामा १२ लाख ५० हजार र चुलाचुली गाउँपालिकास्थित खावान खोला वृहत खानेपानी आयोजनामा १२ लाख ५० हजार एवम् सूर्योदय नगरपालिकास्थित सिद्धिगाउँ तथा श्रीअन्तु खानेपानी आयोजना र जोगीधारा खानेपानी आयोजना (ठूलो बर्दु), माई नगरपालिकास्थित आङबु बर्दुवा खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित सुलसुले खानेपानी आयोजनमा १२/१२ लाख रुपैयाँ खर्च गरिदैँछ ।

इलाम नगरपालिकास्थित सुन्दरबेँसी र लेबक खानेपानी आयोजना ११ लाख रुपैयाँ र खर्बन खानेपानी आयोजना १० लाख ८० हजार रुपैयाँको लागतमा निर्माणा भइरहेको छ ।

त्यस्तै इलाम नगरपालिकास्थि बरबोटे खानेपानी योजना, देवीथान मुहान भञ्ज्याङ न्युरेनी खानेपानी आयोजना, सुम्बेक चोक खानेपानी आयोजना, मलातेनी (सुलुबुङ सन्दकपुर) खानेपानी आयोजना र माईखोला नर्कटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित तोरीबारी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित भित्री लिफ्टिङ खानेपानी आयोजना र छिपछिपे खानेपानी आयोजना, फाकफोकथुम गाउँपालिकास्थित खत्रीगाउँ खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित पधेँरी खानेपानी आयोजना र माई नगरपालिकास्थित कालीखोला खानेपानी आयोजना १०/१० लाख रुपैयाँको लागतमा अघि बढाईएको छ ।

इलाम नगरपालिकास्थित तल्लो गोदक खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर खानेपानी आयोजना र देउमाई नगरपालिकास्थित मगरगाउँ खानेपानी आयोजनामा नौ/नौ लाख, चुलाचुली गाउँपालिकास्थित साकफारा खानेपानी आयोजनामा आठ लाख ५० हजार, माईजोगमाई गाउँपालिकास्थित तुम्लिङ्ग गुराँसे खानापानी आयोजनमा आठ लाख ५० हजार एवम् माङसेबुङ गाउँपालिकास्थित माङसेबुङ खानेपानी आयोजना, सङलुमङ्गलु साँगुरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित तारगाउँ बोरिङ खानेपानी आयोजना, देउमाई नगरपालिकास्थित माथिल्लो डाँडा चाँपगैरी अजम्बरे चुली सिद्धिथुम्का खानेपानी आयोजना र रोङ गाउँपालिकास्थित गोरेनी खोल्सा खानेपानी आयोजना मर्मत सम्भार तथा पुनःनिर्माणमा आठ/आठ रुपैयाँ लगानी छ ।

त्यसैगरी सूर्योदय नगरपालिकास्थित पशुपतिनगर बजार रुङसुङ्ग बृहत खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित सिस्ने बाघखोर कोल्बुङ खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा खानेपानी आयोजनामा सात/सात लाख, सूर्योदय नगरपालिकास्थित पाख्रिनगाउँ खानेपानी आयोजनामा छ लाख ६० हजार, धर्जे मकरजुङ खानेपानी आयोजना र रोङ गाउँपालिकास्थित गोयाङखोला-भुत्तेखोला-एकराते खानेपानी आयोजनामा छ/छ लाख र माईजोगमाई गाउँपालिकास्थित प्रेमेजोङ वृहत खानेपानी आयोजनामा पाँच लाख ५० हजार रुपैयाँ विनियोजन भई मर्मत सम्भार भइरहेको छ ।

पाँच लाखका ६४ वटा आयोजना

प्रदेश सरकारले इलामका विभिन्न पालिकामा ६४ वटा खानेपानी आयोजनाहरुमा रु पाँच लाखका दरले रकम विनियोजन गरी नयाँ निर्माण तथा मर्मत सम्भारको काम तीव्र बनाएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये ३७ वटा खानेपानी आयोजनाहरु नयाँ निर्माण र २७ वटा पुराना खानेपानी आयोजनाको मर्मत सम्भार भएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये कतिपयको सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेको डिभिजन कार्यालय प्रमुख काफ्लेले बताए ।

‘हाम्रा धेरै योजनाहरुमध्ये अधिकाशं त सम्पन्न भएर भुक्तानी नै भइसेका छन्, केही योजनाहरु अन्तिम चरणमा छन,’ प्रमुख काफ्लेले भने, ‘अझ समय बाँकी नै छ, प्रायसबै पूरा हुनेमा विश्वस्त छौं ।’ आयोजना अन्तर्गत भण्डारण ट्याङ्की निर्माण, पाइप बिछ्याउने, धारा निर्माणलगायतका भौतिक पूर्वाधारको काम भइरहेको छ ।

प्रदेश सरकारले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढाएको उनले बताए। पहाडी र समथर भूभाग सबै ठाउँमा पानीको पहुँच पुर्‍याउने काममा प्रदेश सरकार लागिपरेको काफ्लेले बताए ।

सिँचाइ सुविधा पुगेपछि कृषक उत्साहित

इलामको सन्दकपुर गाउँपालिका-५ जमुनामा निर्माण गरिएको कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको धुवाखोला सिँचाइ आयोजना । सो आयोजनाबाट जमुनाका ७५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको र छ सय ३१ किसान प्रत्यक्ष लाभान्वित बनेका छन् । 

इलामको सन्दकपुर गाउँपालिका-५ जमुनाका किसान निरकुमार फागो यतिबेला निक्कै खुशी देखिन्छन् । वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दा ब्यबसायिक बन्न समस्या भोग्दै आएका फागो यसपालदेखि सिँचाईको समस्याबाट मुक्त भएका छन् । उनको टोल जमुनामा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय अन्तर्गत जलश्रोत तथा सिँचाइ विकास डिभिजन इलाम धुवाखोला सिँचाइ आयोजना निर्माण भएपछि फागोसहित सयौं किसान उत्साहित भएका हुन् । वर्षौंदेखी पानी पर्खनुपर्ने झण्झटबाट मुक्त भएसँगै जमुनाका किसान खुसी भएका हुन् ।

जमुनाका  मात्र होइन, फाकफोकथुम गाउँपालिका-३ आमचोकका किसान पनि यस वर्षदेखि उत्तिकै खुसी भएका छन् । त्यहाँ कोशी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा सिम्ले कुलो सिँचाइ आयोजना सम्पन्न भएपछि स्थानीय किसानलाई राहत मिलेको छ । जलश्रोत तथा सिँचाइ विकास डिभिजन इलाम मार्फत सञ्चालित आयोजनाबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चार सय ५० जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

पानीको अभावमा खेत बाँझै राखेर बस्न बाध्य आमचोकका किसानहरुलाई समेत सिँचाइ आयोजनाले ठूलो राहत मिलेको सिम्ले कुलो सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष पहलमान भट्टराईले बताए ।

दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार

इलाममा सिँचाइ क्षेत्रमा कोशी प्रदेश सरकारको लगानीबाट कृषक हर्षित भएका छन । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय अन्तर्गत जलश्रोत तथा सिँचाइ विकास डिभिजन इलाम मार्फत चालु आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा सिँचाइमा मात्र चार करोड ८० लाख ७० हजार रुपैयाँ लगानी गरेको छ ।

ठूलासाना नयाँ आयोजना र पुराना आयोजना गरी ३५ वटा आयोजनाका लागि प्रदेश सरकारले चार करोड ८० लाख ७० हजार रुपैयाँ विनियोजन गरेको थियो । तीमध्ये २३ वटा सिँचाइ आयोजना सम्पन्न भइसकेका छन् भन् आठ वटा सिँचाइ आयोजना अन्तिम चरणमा सञ्चालनमा रहेको जलश्रोत तथा सिँचाइ विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठले जानकारी दिए । सम्पन्न भएकामध्ये नयाँ बहुवर्षे सिँचाइ आयोजना चारवटा र मर्मतबाट सम्पन्न भएका सिँचाइ आयोजना १९ वटा रहेका छन् । चारवटा आयोजना भने सुरु हुन नसकेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘यस वर्ष इलाममा कोशी प्रदेश सरकारबाट चार करोड ८० लाख ७० हजारको लागतमा ३५ वटा सिँचाइ आयोजना आएको थियो, जसमध्ये चारवटा बहुवर्षे र १९ वटा मर्मतसहित २३ वटा सम्पन्न भइसकेका छन्,’ डिभिजन प्रमुख श्रेष्ठले भने, ‘आठ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ, त्यो पनि चाँडै सम्पन्न हुन्छ तर चारवटा आयोजना विशेष कारणले कार्यान्वयन हुन सकेन ।’

निर्माणाधीन आयोजना सम्पन्न भइसक्दा इलामका दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुने डिभिजन प्रमुख श्रेष्ठले बताए । उनका अनुसार आयोजनाबाट जिल्लाका १३ हजार चार सय ६९ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

इलामको फाकफोकथुम गाउँपालिका-३ आमचोकमा निर्माण गरिएको कोशी प्रदेश सरकारको रु २० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सिम्ले कुलो सिँचाइ आयोजना । सो आयोजनाबाट त्यहाँका ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने चार सय ५० जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् । 

जलश्रोत तथा सिँचाइ विकास डिभिजन इलामका अनुसार रोङ गाउँपालिकामा २० लाखको लागतमा बिरिङ कटहरे सिँचाइ आयोजना सम्पन्न भएको छ भने ३५ लाखको लागतमा सुकेनिन्दा सिँचाइ आयोजना अन्तिम चरणमा सञ्चालनमा रहेको छ ।

माईजोगमाई गाउँपालिकामा २० लाख ७० हजार रुपैयाँको लागतमा खड्के खोला सिँचाइ आयोजना र १८ लाखको लागतमा ढाडे खोला सिँचाइ आयोजना अन्तिम चरणमा सञ्चालन रहेको कार्यालयले जनाएको छ ।

सन्दकपुर गाउँपालिकामा २० लाखको लागतमा धुवाखोला सिँचाइ आयोजना, १५ लाखको लागतमा गिताङ सिँचाइ आयोजना र पाँच लाखको लागत दाहाल खोला टारीबेँसी सिँचाइ आयोजना सम्पन्न भएका छन् । सूर्योदय नगरपालिकामा २० लाखको लागतमा आन्द्रे खोला सिँचाइ आयोजना र आठ लाखको लागतमा रम्फोक खोला ढाडे सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

माई नगरपालिकामा १५/१५ लाखको लागतमा पलाँसे सिँचाइ योजना र लेवाखोला सिँचाइ आयोजना, १० लाखको लागतमा लोधिया सिँचाइ आयोजना र पाँच लाखको लागतमा लोदिया माई सिँचाइ आयोजना सम्पन्न भएका छन् भने २० लाखको लागतमा ठ्याउरे खोला फ्याउरे सिँचाइ आयोजना निर्माणाधीन छ ।

त्यसैगरी देउमाई नगरपालिकामा १५ लाखको लागतमा ढोकेखोला सिँचाइ आयोजना तथा १०/१० लाखको लागतमा सेवा खोला सिँचाइ आयोजना, सियाखोला मुहान चुली कुलो सिँचाइ आयोजना (१), सियाखोला मुहान चुली कुलो सिँचाइ आयोजना (२), सियाखोला मुहान जुवारे कुलो सिँचाइ आयोजना (१) र सियाखोला मुहान जुवारे कुलो सिँचाइ आयोजना (२) र आठ लाखको लगानीमा फाप्लुङम्बा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

माङसेबुङ गाउँपालिकामा १० लाखको लागतमा कुसुण्डे बोहोरागाउँ सिँचाइ आयोजना सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकामा २० लाखको लागतमा सिम्ले कुलो सिँचाइ आयोजना सम्पन्न भएको छ भने २० लाखको लागतमा होयाङ खोला सिँचाइ आयोजना अन्तिम चरणमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

इलाम नगरपालिकामा १०/१० लाखको लागतमा हुलाके कुलो सिँचाइ आयोजना, जानिटार सिँचाइ आयोजना, छाँगे जर्मने सिँचाइ आयोजना र चिसेनी नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना सम्पन्न भएका छन् भने ३५ लाखको लागतमा करफोक खोला सिँचाइ आयोजना निमाणाधीन छ । यस्तै, चुलाचुली गाउँपालिकामा १० लाखको लागतमा रतुवा खोला सिँचाइ आयोजना र छ लाखको लागतमा सानो चाँजु सिँचाइ आयोजना सम्पन्नको अन्तिम चरणमा रहेको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए ।

सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । इलाममा धान, मकै, गुहँ, कोदोलगायत अन्नबाली, अलैंची, अदुवा, कफि, आलु, अम्रिसोजस्ता नगदेबाली तथा टमाटर, अकबरे, मूला, काउली, कोपी, बन्दा, सिमीजस्ता तरकारी बालीको व्यावसायिक खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार इलाममा ३२ हजार नौ सय ९५ हेक्टर क्षेत्रमा मकै, १३ हजार चार सय ८१ हेक्टर क्षेत्रमा धान, चार हजार पाँच सय ८४ हेक्टर क्षेत्रमा गहुँ, एक हजार पाँच सय ९७ हेक्टर क्षेत्रमा कोदोको व्यावसायिक खेती हुँदै आएको छ । त्यस्तै एक हजार सात सय ५५ हेक्टर क्षेत्रमा अलैंची, आठ सय ९० हेक्टर क्षेत्रमा किवी, दुई सय ९० हेक्टर क्षेत्रमा सुन्ताला, एक सय २५ हेक्टर कफिको व्यवसायिक खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार