देउमाई नगरपालिकाको बजेट ७५ करोड ६२ लाख ८० हजार (बजेट बक्तव्यको पूरा पाठ)

  राम योङहाङ
126 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ६२ लाख ८० हजार बजेट पारित गरेको छ । नगरले आज (बिहीबार) नवौं नगरसभाको अधिवेशन सम्पन्न गर्दै सो बजेट पारित गरेको हो ।

सभाले आउँदो आवका नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख पविमाया राईले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मतले पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने इलामका १० स्थानीय तहमध्ये देउमाई नगरपालिका पहिलो बनेको छ ।

देउमाईले पूर्वाधार विकासमा रु १७ करोड छ लाख ५७ हजार, सामाजिक विकासमा रु ३८ करोड ६४ लाख ७७ हजार, आर्थिक विकासमा चार करोड ४४ लाख ८२ हजार,  संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा रु दुई करोड ८९ लाख ४५ हजार र कार्यालय संचालन तथा प्रशासनिक खर्चमा रु १२ करोड ५७ लाख १९ हजार विनियोजन गरेको छ ।

बजेट बक्तव्यको पूरा पाठ हेर्नुहोस् :

देउमाई नगरपालिकाको आ.व.२०८१/८२ को बार्षिक बजेट बक्तव्य

नगर सभामा पेश भएको मिति- २०८१/०३/०६

यस देउमाई नगरपालिकाको नवौ नगर सभाका सभाध्यक्ष ज्यू तथा उपस्थित सभाका स दस्य ज्यूहरु,

हामी देउमाई नगरपालिकाको नवौं नगर सभा सम्म आइपुग्दा नगरपालिका स्थापना पश्चात आठ वटा नगर सभावाट अनुमोदित योजना तथा कार्यक्रमहरु संचालन भै सकेका छन्। यी योजना तथा कार्यक्रम संचालन गर्न सहयोग गर्नुहुने जनप्रतिनिधिहरु संग-सगै सम्पूर्ण देउमाई वासिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।देउमाई नगरपालिकाको समुन्नत भविष्यका लागि दीर्घकालीन सोच सहित आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत हामि गर्न यहाँ उपस्थित भएका छौं । देउमाई नगरपालिकाको बजेट एवम् कार्यक्रम तर्जूमा समितिको संयोजकको हैसियतले यो सम्मानित नगरसभा समक्ष आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरिरहँदा अत्यान्त गौरव महशुस गरिरहेको छु ।

नगरपालिकाको दोस्रो कार्यकालको जनप्रतिनिधिको रुपमा उपस्थित भएर हामिले दोस्रो वर्षको योजना तथा कार्यक्रमहरु संचालन गरि सकेका छौ।हामी जनताका आधारभूत तहका समस्या समाधानका लागि जनप्रतिनिधिको रुपमा भै रहदा नगरवासिको बृहत्तर अपेक्षा र आसालाई संवोधन गर्ने उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने प्रयास गरेको छु ।

बजेट विनियोजन गर्दा नेपालको संविधानमा उल्लेखित राज्यका मार्गनिर्देशक सिद्धान्त तथा नीतिहरू, स्थानिय सरकार संचालन ऐन, २०७४, अन्तरसरकारी वित्तिय व्यवस्थापन ऐन, २०७४, दिगो विकास लक्ष्य, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८, १६औ पंच वर्षीय योजनाको अवधारणा/लक्ष्य, नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम, कार्यपालिका बैठकबाट निर्धारित बजेटका प्राथमिकता, टोलवस्तिका समस्या, विषयगत समिति, वडा समिति, राजश्व परामर्श समिति लगायतका विभिन्न विकास साझेदार र विज्ञहरूको सुझावलाई ध्यान दिएर बजेट कार्यक्रम तय गरेको छु।

आदरणीय सभाध्यक्ष ज्यू,

बजेटका निर्माणका मुख्य प्राथमिकता र उद्देश्यहरू यस प्रकार रहेका छन्,

  • क्रमागत योजनाहरूलाई पहिलो प्राथमिकता प्रदान गर्ने,
  • विद्यालयहरु तथा कार्यालयहरुमा ईन्टरनेट पहूँचको सुनिश्चितता गर्ने,
  • स्थानीय श्रम, सीप र प्रविधिमा आधारित रोजगारीका अवसरहरु सृजना गर्ने,
  • देउमाई नगरको पहिचान स्थापित हुने खालका तथा गौरवका आयोजनाहरूलाई संघ र प्रदेश सरकारसँगको सहकार्यमा सञ्चालन गर्ने,
  • नगरपालिकाका सबै वडाहरूमा अलवेदर (ALL WEATHER) सडकमार्गको विस्तार गर्ने,
  • पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन गर्ने,
  • शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्धि गर्ने,
  • आधुनिक र व्यवस्थित शहरीकरण गर्ने,
  • सक्षम र सुदृढ तथा सुशासनयुक्त सेवा प्रवाहको विकास गर्ने,
  • लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्ने,
  • दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने,
  • सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सबै राजश्वका श्रोतहरुको परिचालन गरि करका दायरा बढाउने ।

आ.व. २०८१/८२ को यस बजेटका प्राथमिकताका आधारहरु यस प्रकार रहेका छन्

  1. आर्थिक विकास एवं गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने।
  2. उत्पादनमूलक तथा छिटो प्रतिफल दिने र राजश्व परिचालनमा योगदान पुर्याउने।
  3. स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिवृद्धि गर्ने।
  4. लैंगिक समानता र सामाजिक समावेशीकरणको अभिवृद्धि गर्ने।
  5. दिगो विकास लक्ष्य, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने।
  6. सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने।

आदरणीय सभाध्यक्ष ज्यू,

अब म आ.व. ०७९/८० को यथार्थ आय-व्यय, चालु आ.व. ०८०/८१ को संशोधित आय-व्यय र आ.व. ०८१/८२ को अनुमानित आय-व्यय प्रस्तुत गर्न चाहन्छु।

आ.व. ०७९/८० मा अघिल्ला आ.व. को बैंक मौज्दात सहित आन्तरिक राजश्वको लक्ष्य रू. १५ करोड २४ लाख १७ हजार मात्र सहित कुल आय अनुमान रु. ८० करोड ५३ लाख ८० हजार ८ सय रहेकोमा आन्तरिक राजश्वको कुल ७५% संकलन सहित जम्मा रू. ७० करोड ३७ लाख २० हजार २ सय  मात्र संकलन भएको छ । यो अनुमानको ८७% रहेको छ ।

व्यय तर्फ चालु खर्चमा रू. ४१ करोड ६४ लाख ४ हजार ४ सय अठ्हत्तर रुपैया र पुँजीगत खर्चमा रु. २१ करोड ५४ लाख १३ हजार ४ सय सहित कुल रु. ६३ करोड १८ लाख १७ हजार ९ सय खर्च भएको छ।

चालु आ.व. ८०/८१ को अघिल्ला आ.व. को बैंक मौज्दात सहित आन्तरिक राजश्वको लक्ष्य रू. १२ करोड ५० लाख ५९ हजार राखिएको मा असार मसान्तसम्म राजश्व संकलन रू. १० करोड ७४ लाख ७६ हजार ९ सय मात्र हुने संशोधित अनुमान रहेको छ।आन्तरिक राजश्व संकलन कुल लक्ष्यको ८६% रहने अनुमान गरिएको छ। तर कुल आय अनुमान को ७४% मात्र संकलन हुने अनुमान रहेको छ ।

आदरणीय सभाध्यक्ष ज्यू,

आ.व. २०८१/८२ मा देउमाई नगरपालिकामा तपशिलमा उल्लेखित स्रोतहरूबाट आम्दानी हुने लक्ष्य राखिएको जानकारी गराउँदछु। जसको संक्षिप्त विवरण निम्नानुसार रहेको छः

  1. आन्तरिक राजश्वबाट- रू. ६ करोड ९३ लाख ७४ हजार
  2. संघीय सरकार तथा कोशी प्रदेशबाट प्राप्त हुने अनुदान रकम
  3. शशर्त अनुदान तर्फ- रू. ३० करोड ९२ लाख २१ हजार
  4. वित्तिय समानीकरण अनुदान तर्फ- रू. १२ करोड ४१ लाख १४ हजार
  • राजश्व बाँडफाँड वापद प्राप्त हुने राजश्व तर्फ रू. १२ करोड १४ लाख ४४ हजार
  1. समपुरक अनुदान तर्फ- रू. १ करोड ३० लाख
  2. विशेष अनुदान तर्फ – रू. ५० लाख

जम्मा रू. ५७ करोड ७७ लाख ७९ हजार

  1. संचित कोषमा मौज्दात हुने अनुमान- रू. ११ करोड ४१ लाख २७ हजार

कुल जम्मा आय रू. ७५ करोड ६२ लाख ८० हजार हुने लक्ष्य प्रस्ताव गरेको छु।

आदरणीय सभाध्यक्ष ज्यू,

अव म आ.व. २०८१/८२ को विनियोजन बजेट प्रस्तुत गर्न चाहन्छु।

संघीय सरकारबाट प्राप्त हुने शशर्त तर्फको बजेट रू. २९ करोड ५० लाख ५२ हजार तथा विशेष अनुदान तर्फको बजेट रु ५० लाख र कोशी प्रदेश सरकारबाट प्राप्त हुने शशर्त तर्फको बजेट रु. १ करोड ४१ लाख ६९ हजार को क्रियाकलाप तथा रकम नै तोकी पठाईएकाले सोही अनुरूप नै यस बजेटमा कार्यक्रम समावेश गरिएको छ।

माथि प्रस्तुत गरिएको कुल आय रू. ७५ करोड ६२ लाख ८० हजार लाई निम्न बमोजिमको क्षेत्रहरूमा प्रस्तावित बजेट पेश गरेको छु।

तपशिलः

  1. पूर्वाधार विकास तर्फ- रू. १७ करोड ६ लाख ५७ हजार
  2. सामाजिक विकास तर्फ रू. ३८ करोड ६४ लाख ७७ हजार
  3. आर्थिक विकास तर्फ रू. ४ करोड ४४ लाख ८२ हजार
  4. संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ रू. २ करोड ८९ लाख ४५ हजार
  5. कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ रू. १२ करोड ५७ लाख १९ हजार

आदरणीय सभाध्यक्ष ज्यू,

अब म वडागत, विभिन्न विषयगत शाखा र नगरकार्यपालिकको कार्यालयको बजेट विनियोजन पेश गर्न चाहन्छु,

देउमाई नगरपालिका भित्रका नौ वटै वडामा चालु तथा प्रशासनिक खर्चका लागि ९/९ लाखका दरले ८१ लाख र पुँजिगत तथा अन्य तर्फ वडागत जनसंख्या, भूगोल र आन्तरिक राजश्व संकलनको अवस्थाको आधारमा कुल वडागत बजेट निम्न बमोजिम गरेको छु।

वडा न १.                       रू. ५५ लाख ३५ हजार

वडा न २.                       रु. ५४ लाख ४८ हजार

वडा न ३.                       रु. ५६ लाख ७ हजार

वडा न ४.                       रु. ५२ लाख ६३ हजार

वडा न ५.                       रु. ५२ लाख ५५ हजार

वडा न ६.                       रु. ५० लाख १३ हजार

वडा न ७.                       रु. ५३ लाख ८५ हजार

वडा न ८.                       रु. ५२ लाख ७१ हजार

वडा न ९.                       रु. ५७ लाख २२ हजार

कुल जम्मा                      रु. ४ करोड ८४ लाख ९९ हजार.

कृषि तथा पशुपंक्षी विकास तर्फः

विनियोजित रकम –    रू. (९८ लाख ११ हजार ९ सय)

यस अन्तर्गत,

  • कृषक र कृषि उत्पादनको प्रवर्धनको निम्ति कृषक संग साझेदारिमा कृषिको व्यवसायीकरण, विविधिकरण र बजारीकरण गर्न प्लाष्टिक टनेल, काउम्याट वितरण, कृषि औजार वितरण, हाते ट्याक्टर र च्यापकटर वितरण, घाँस, तरकारी तथा फलफुलका विउ विजन वितरणको लागि बजेटको व्यवस्था गरेको छु।
  • स्थानीय स्तरमै विउ विजन उत्पादनको लागि साझेदारिमा नर्सरी स्थापनाको कार्यक्रमलाई बजेटको व्यवस्था गरेको छु।
  • पशुको नस्ल सुधारको लागि आवस्यक बजेट विनियोजन गरेको छु।

शिक्षा युवा तथा खेलकुद विकास तर्फः

विनियोजित रकम -रू. (४ करोड २९ लाख ४२ हजार मात्र)

यस अन्तर्गत,

  • खान्द्रुङ मावि देनपा-७ मा विज्ञान संकाय संचालन, नगर शिक्षक व्यवस्थापन, मंगलबारे बहुमुखी क्यामपस व्यवस्थापन निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • विद्यार्थी स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य स्वयंसेवक को निरन्तर्ता साथै नगर भित्रका सम्पुर्ण छात्रा विद्यार्थिलाई निशुल्क स्यानिटरी प्याड व्यवस्थापनको लागि बजेट विनियोजन गरेको छु ।
  • देउमाई नगरपालिकामा कार्यरत शिक्षकहरुको क्षमता अभिबृद्धीको निम्ति शिक्षक TPD तालिम कार्यक्रमको सुरुवात गर्न बजेट व्यवस्था गरेको छु।
  • पाठ्यक्रम विकास तथा विद्यार्थीलाई निशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  • गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउनका लागि नगर प्रमुख छात्रवृत्ति कार्यक्रमलाई निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।

स्वास्थ्य शाखा तर्फः

विनियोजित रकम -रू. (१ करोड १७ लाख २२ हजार)

यस अन्तर्गत,

  • नेपाल सरकारले नि:शुल्क उपलव्ध हुने भनि घोषणा गरेका औषधीवापतको रकम पर्याप्त प्राप्त नहुने भएकोले स्वास्थ्य चौकी र आयुर्वेद केन्द्रहरुबाट निःशुल्क औषधी वितरण गर्ने कार्य लाई सहज बनाउन थप औषधी खरिदको लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर भित्रका सुत्केरी महिला र नवजात शिशुको पोषणका लागि सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भत्ता कार्यक्रमको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • आयुर्वेद गाउँघर क्लिनिक तथा शिविर सञ्चालनका लागि बजेट व्यवस्था गरेको छु ।

नगरपालिका चालु तथा पुँजिगत तर्फः

यस अन्तर्गत,

विनियोजित रकम -रू. ( ३१ करोड ६० लाख ८४ हजार १ सय)

  • ज्येष्ठ नागरिक पोसाक भत्ता, एकल पुरूष भत्ता, तेस्रो लिङ्गी नागरिक भत्ता, ४५ वर्ष माथिका अविवाहित महिलालाई भत्ता तथा पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ताको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • न्यायिक समिति र ईजलास सञ्चालन साथै लक्षित समूह र महिला प्रवर्द्धन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • मृत्यु दाहसंस्कार सहयोग र मातृशिशु पोषण कार्यक्रमको निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • दीर्घरोगी उपचार यातायात सहयोग कार्यक्रमको निरन्तरताका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, अल्पसंख्यक लगायतका लक्षित वर्गको उत्थान तथा रोजगारी प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • बाढी, पहिरो, आगलागी, विभिन्न महामारी रोग लगायत विपद् व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषमार्फत सञ्चालन हुने गरी आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर प्रमुख सुरक्षित आप्रवासन कार्यक्रमको निरन्तरताका लागि बजेटको व्यवस्था गरेको छु।
  • नगर भित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • देउमाई नगरपालिकामा साविकमा सुरुवात भएर बाकि रहेका योजनाहरुलाई क्रमिक रुपमा सम्पन्न गर्ने नितिका साथ आवश्यक बजेट विनियोजन गरेको छु ।
  • रणनीतिक सडकहरु, शहरी सडक, कृषि सडक, ग्रामिण सडक लगायतका यातायात पूर्वाधारहरूको मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • बैकल्पिक उर्जा प्रवर्द्धन तथा जैविक उर्जा प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरेको छु।
  • समाजमा रहेका विभिन्न लक्षित वर्ग तथा समुदायको भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • विभिन्न जातजातिगत धार्मिक-साँस्कृतिक साथै पर्यटकीय महत्व बोकेका संरचना निर्माण तथा मर्मतसंभारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर भित्रका पानीका मुहान तथा जलाधार क्षेत्रको संरक्षणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर संग नागरिकको साझेदारि कार्यक्रमको लागि बजेट व्यवस्थापन गरेको छु।
  • नगर वासी कोशुरक्षित नागरिक आवास कार्यक्रमकोलागि बजेट विनियोजन गरेको छु ।

न्याय र सुशासन प्रवर्द्धन

  • सुशासन र पारदर्शिता प्रवर्द्धनका गर्न भईरहेको विद्युतीय भुक्तानी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक वजेट विनियोजन गरेको छु ।
  • क्षमता अभिवृद्धि गरी न्याय सम्पादन कार्यलाई अझ प्रभावकारी बनाउन न्यायिक समिति, वडा मेलमिलाप तथा मेलमिलापकर्ताहरुलाई तालिमको लागि वजेट विनियोजन गरेको छु ।
  • समयानुकल र प्रविधिमैत्री सेवा प्रवाहको लागि जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न साथै अन्य पालिकाहरुमा भएका असल अभ्यासहरुको अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • नगर संग नागरिक साझेदारी कार्यक्रमको लागी आवस्यक बजेट विनियोजन गरेको छु ।
  • नगरवासिको सुरक्षित आवास व्यवस्थापन गर्न बजेट व्यवस्था गरेको छु ।

आदरणीय सभाध्यक्ष ज्यू,

केही महत्वकांक्षी लक्ष्य सहित राजश्व सुधार हुने विश्वास र प्राप्त गरिने अन्य श्रोतहरुको अनुमान अनुरूप कार्यक्रमहरु विनियोजन गरिएको छ । प्रस्तावित कार्यक्रमबाट नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा गुणात्मक सुधार आई सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु।

यसर्थ प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै सरोकारवाला पक्षसँग सहयोग र सहकार्यको अपेक्षा गर्दछु।

देउमाई नगरपालिकाको गरिमामय यस नवौ नगरसभाको बजेट निर्माण गर्न अहोरात्र खटिनुहुने नगरसभा सदस्यहरू, विषयगत समिति, बजेट तर्जुमा समिति, बजेट मस्यौदा समिति, कर्मचारी मित्रहरू, देउमाई नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण देउमाई नगरपालिकाको शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गर्दछु।

अन्त्यमा, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई नगरको समृद्धि र नगरबासीको हितमा योगदान गर्न आह्वान गर्दछु।

“प्राकृतिक श्रोत, कृषि र पर्यटन समृद्ध देउमाई हाम्रो अभियान”

धन्यवाद।

पविमाया राई

नगर उप-प्रमुख

देउमाई नगरपालिका

मंगलबारे, इलाम।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार