इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न गरेको छ । वडावडामा सार्वजनिक सुनुवाई गरेको फाकफोकथुमले शुक्रबार गाउँ पालिकाको कार्यालय आमचोकमा गाउँपालिका र ३ नं. वडा कार्यालयको संयुक्त रुपमा सातौं सार्वजनिक सुनुवाई गरेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ८६ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नौ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा गम्भीर भट्टराई फाकफोकथुम-३, हेमकर्ण नेपाली फाकफोकथुम-३, दीपकमान तामाङ फाकफोकथुम-२, लोकबहादुर लकान्द्री फाकफोकथुम-३, डिकबहादुर साम्पाङ राई फाकफोकथुम-३, दीपक योङहाङ फाकफोकथुम-४, टठबहादुर राई फाकफोकथुम-३, श्रीप्रसाद पुलामी फाकफोकथुम-३ र रणबहादुर पौड्याल, फाकफोकथुम-३ विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, ३ नं. वडाअध्यक्ष दिपेन्द्र लिम्बू, पूर्वाधार विकास शाखा प्रमुख अखलेसकुमार यादव, स्वास्थ्य शाखा प्रमुख यामबहादुर बस्नेतलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष खनाल, प्रमुख प्रशासकीय अधिकृत लिम्बू र ३ नं. वडाअध्यक्ष लिम्बूले सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले गाउँबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा र ३ नं. वडा अध्यक्ष दिपेन्द्र लिम्बूले वडाबाट एका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
कार्यक्रम फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।
कार्यक्रमको तस्बिरहरु :