सन्दकपुर गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु)

इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमित रुपमा सार्वजनिक सुनुवाई सुरुवात गरेको सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को दोस्रो सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न गरेको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सन्दकपुर गाउँपालिका-२ नं. वडा कार्यालयको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ८५ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा १६ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा बिसन खतिवडा, चन्द्र खतिवडा, नन्दकुमार मगर, रुपेन नेम्बाङ, धनकुमार राई, देउकुमार थेवे, मानविर राई, चेतनराज राई, गिरीराज खनाल, सुरेश थापा मगर, भुवन खनाल, रेखा गुरुङ, नेत्र रिजाल, हर्कराज मगर, श्याम राई र देवेन्द्र सुवेदीले गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, २ नं. वडाअध्यक्ष सुनम राई, आर्थिक प्रशासन शाखा प्रमुख युवराज नेपाल, पूर्वाधार विकास शाखा प्रमुख राजकुमार यादव, आन्तरिक लेखापरीक्षक सरोज दाहाल, पशुसेवा शाखा प्रमुख सबिन भट्टराई, युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख कल्पना दाहाललगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामकी सदस्य सीता कार्कीले जिसससँगको समन्वयमा अनुगमनलाई प्रभावकारी बनाउँदै अघि बढ्न सुझाइन् । गाउँपालिका अध्यक्ष गुूरुङ, उपाध्यक्ष लुङ्गेली र प्रमुख प्रशासकीय अधिकृत राउतले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले गाउँबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राउतले गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा र २ नं. वडा अध्यक्ष समन राईले् वडाबाट एका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

कार्यक्रम सन्दकपुर गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।

कार्यक्रमको तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार