इलाम : इलामको माङसेबुङ गाउँपालिकाका युवाहरुले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । ‘स्वतन्त्र-सचेत नागरिक समूह माङसेबुङ’ गठन गरी साप्ताहिक रुपमा श्रमदान अभियान सुरु गरेका हुन् । बर्खा मौसममा कच्ची सडक हिलाम्मे भएर यातायात सञ्चालनमा हुँदै आइको सकपूर्ण अवस्थालाई सहज बनाउने उद्देश्यसहित समूहले श्रमदान अभियान सुरु गरेका हुन् ।
समूहको अग्रसरतामा श्रमदान चलाई हिलाम्मे सडक मर्मत गर्न सुरु गरिएको समूहका अभियान्ता माङसेबुङ गाउँपालिका-३ का स्थानीय बासिन्दा प्रविन लिम्बूले जानकारी दिए । हरेक शनिबार श्रमदान गर्नेगरी अभियान सुरु गरिएको उनले बताए । अभियान अन्तर्गत शनिबार दमक-चिसापानी-रवि सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत माङसेबुङ गाउँपालिका-६ माङमालुङ बजारदेखि चिसोपानी बजार जोड्ने सडक स्तरोन्नतिका लागि श्रमदान गरिएको छ ।
श्रमदानमार्फत हिलाम्मे सडकमा सोलिङ (ढुङ्गा बिछ्याउने), फिलिङ (माटो सम्याउने), खाल्डाखुल्डी पुर्ने, नाली सफा गर्नेलगायतको काम गरिएको छ । श्रमदान अभियानमा स्वत:स्फूर्त रुपमा सहभागी भई सडक मर्मतको काममा जुटेका छन् । आफूसँग भएको बेल्चा, हम्मर, काटा, कोदालो, झम्पललगायत घरेलु औजारसहित स्थानीयबासीहरु सडक मर्मत गर्न श्रमदानमा जुटेका थिए ।
बर्खा यामसँगै कच्ची सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा बिग्रिएर यातायात सञ्चालनमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरी मर्मतको काम थालिएको उनीहरुको भनाइ छ । स्थानीयबासीको सहभागितामा नियमित सडक मर्मत गरी यातायात सञ्चालनमा सहजता ल्याउने योजना रहेको समूहको भनाई छ ।
अभियानलाई जारी राख्ने समूहको योजना छ । श्रमदानमा माङसेबङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रवक्ता सुसन राईसहित जनप्रतिनिधि र स्थानीयबासीहरुको पनि सहभागिता रहेको छ ।
झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी र रविसम्म जोड्ने सो सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन । अरबौ लगानी भईसक्दा समेत पूर्णता नपाउँदा स्थानीयले सास्ती व्यहोर्नु परिरहेको छ ।
पटक-पटक गरी अरबौं बजेट लगानी भइसक्दा समेत ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माणले पूर्णता पाउन नसकेको स्थानीय व्यवसायी जसहाङ साउदेनले बताउनुभयो । सडक निर्माणमा ठेकेदार कम्पनीबाट भइरहेको ढिलासुस्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परिरहेको छ ।
३३ किलोमिटर दुरीको सो सडक कालोपत्रेका लागि ठेक्का लागेको ५ वर्व बितिसक्दा आधा मात्र काम भएको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता पाउन नसकेपछि नेतृत्वको समेत आलोचना भइरहेको छ ।