सेन्जेमा तालतिर बरालिदाँ (तस्बिरहरु)

  सन्तोष नेम्बाङ लिम्बू
210 Shares

भारतीय साहित्यका महापन्डित राहुल साँस्कृत्ययनको नियात्राको बर्णनले तानेर होला मलाइ पनि नयाँ – नयाँ ठाउँ पुग्न घुम्न मन लाग्छ । उनले आफ्नो उपन्यासमा यात्रा गरेका ठाउँको प्राकृतिक, आर्थिक र सांस्कृतिक जीवन र इतिहासको अन्वेषणका साथै यात्रामा आइपरेका कठिनाइहरूको वर्णनले मेरो भित्री मन खिचिरहन्छ । राहुलकै प्रभावको कारण यायावर भिक्षु भइ सारा हिमाल, पहाड, खोचँ, दुन, बेँशी, लेकाली ठाँउहरु घुम्दै जीवनको डायरी लेख्न सँकु । नोकरीको दौरान बुवा प्रेम बहादुरले घुमे जति मैले उतिसारो घुम्ने अवसर पाएको थिइन । यस पटक संयोगले मलाइ ताप्लेजुङको भ्रमण गर्ने अवसर जुर्यो । ओलाङचुङगोलामा सघन शहरी तथा भवन निर्माण आयोजना झापा मार्फत निर्माणाधिन पूर्वाधार निर्माण आयोजनाको स्थलगत अनुगमनको क्रममा भ्रमण गर्ने अवसर मिलेको हो । ताप्लेजुङ सदरमुकामबाट दुर्इ दिनको यात्रा पछि ‌ओलाङचुङगोला पुगियो। हाम्रो यात्राको मुल गन्तव्य भने गोलाभन्दा एकदिन माथीको सेन्जेमाताल पुग्नु थियो ।

बैशाख १७ गते

फूङलिङबाट आयोजना प्रमुख सुदिप पौडेलको अगुवाइमा ओलाङचुङगोला तर्फ प्रस्थान गर्यौ । मनमा कहिले गोला गाँउ र सेन्जेमा ताल पुग्न पाँउ भन्ने हुँटहुँटी र उत्सुकता कायम नै थियो । हाङदेवा पहिरो, लिङतेपको सिंवा बजारबाट तमोर कोरीडीर सडक पच्छ्याउदै  छौ ।  थिवा हुँदै तापेथोक पुग्दा दिनको ३ बज्यो । सडक नहुँदा तापेथोकबाट फुङलिङसम्म एक दिनको बाटो रहेछ । तमोर किनारमा अवस्थित तापेथोक उपत्यका जस्तो लाग्ने । वरीपरी पहाडै पहाडले घेरिएको । खेतबेसीहरु भएको उब्जाउयुक्त भूमी । इलाममा चारैतिर चियाबारी देखे जस्तो लेलेप पुगुन्जेलसम्म दायाँवाँया अलैचीका बगानै बगान । खोल्सीको कालोहिरा नामले चिनिने अलैची खेती । आजभोली सुख्खा अलैची प्रतिमनको असीहजार पुगेको सहयात्री खगेन्द्र खतिवडाले सुनाए । स्थानीय तहले यो क्षेत्रलार्इ अलैची जोन नै घोषणा गरेको  रहेछ ।

उकालो-ओरालो-साँघुरो भीरको खोच हुँदै करिब ८ घन्टाको सवारी यात्रा पछि लेलेपको इलाडाँडामा बाँस भयो । कच्ची सडकको यात्राले होला प्राय सबैलाइ थकानको महसुस भयो । स्थानीय शेर्पा दिदिको आत्मिय आतिथ्यतासँगै बिहान सबैरै उठने सल्लाह भयो । मलाइ भने चाँडो निद्रा परेन ।यात्रा टोलीका अन्य सदस्यहरु थकानले होला सुस्त-सुस्त घुर्न थाले । मलाइ भने कहिले सेन्जेमा ताल पुगौ जस्तो हँतारोपन जाँगीरहयो । हाम्रो १३ जनाको जम्बो टोलीमा सबैभन्दा खुशी मै नै  छु । खुशीले होला इलाडाँडाको हातखुट्टा कठाङ्कग्रिने चिसो हावामा पनि मलाइ जाडोको कुनै महसुस नै भइरहेको छैन ।

बैसाख १८ गते

बिहान हाम्रो यात्रा इलाडाँडाबाट शुरु भयो । हामीलाई यात्राको करिब १ घन्टामा नै प्रकृतिले स्वागत गरिरहेको महसुस हुन थाल्यो । भिरालोमा हानिएर बगेको तमोर खोलाको ‌सुसेलीले हाम्रो कान गुन्जमान बनाएको थियो । कञ्चन, निर्मल घुन्सा र याङमा खोला पहाडको खोचबाट बगेको छ । यो दृश्यले थप आनन्द र हृदयलाई ‌पुलकित तुल्याएको छ। झापाको गर्मीले सताएका  हामीलाई चिसो बतासले स्पर्श गर्दा आनन्दको अनुभूति गरिहेका छौ।

इलाडाँडाबाट पहिलो स्थान सुकेपानी पुगियो । सुकेपानीमा तमोरको अग्लो फलामे पुल तर्नु पर्ने । पुलको वाँया पट्टीको लठ्ठा तन्कीएर एकपट्टीको टेक्ने भाग कोल्टे परेको छ । पुलको मुनी झरना भर्इ बगेको तमोर नदी । झरनाले बनाएको निलो न निलो दह । दायाँवायाँ सुरक्षाको लागी लगाएको तारजाली पनि चुडीएर तुन्द्रुङ्गै झुन्डीएको । हामी अगावै सहयात्री शुसिल बास्कोटा, सुवास खड्का,  फुङलिङ निवासी सीता पोखरेल, र्इ.अभिषेक आचार्य सरले पुलको लठ्ठालार्इ दाँयाबायाँ हातको साहाराले समाउदै पारी तर्नु भयो । अब पुल तर्नेमा म परे । मलाइ उचाइ देखि ‌औधी डर लाग्ने । पोखराको डेभिड फल झरना जस्तै लाग्ने तमोरनदी । दुर्इ ढुङ्गाबीचको कापबाट झरना झै गर्जन्दै, बाफिन्दै ५० मीटर भन्दा तल सम्म बगीरहेको छ । पुलमुनी केही झरेमा पानीको फोहोराले हुत्याएर बेपता हुने डरमर्दो दृश्य । पारीबाट पुलमा जुत्ता चिप्लिएला विस्तारै आउनु भन्ने मधुरो आवाज सुनिन्छ । कसो-कसो गर्दा मेरो आँखाले निलो दहमाथी पुल हिडीरहेको झै देखे । मन फुलेर आयो । ढुकढुकीको चाल झन-झन बढन थाल्यो । कसरी पुल तर्ने मन मनै गम्न थाले । यस्तो अवस्थामा पनि पुल मर्मत गर्न किन नसकेको ?  यहाँका बासीहरुले किन यस्तो जोखिम मोलेको ?  कि बनाउनै नचाहेको ?

यस्तै के-के सोच्दै पुलवारी थकाइ लागेको बाहाना गरेर बसिरहेको थिए । यतिकैमा उपत्यका  निवासी आयुष्मा लम्साल र सृश्टी तिवारी थकित भएर आइ पुगे । उपत्यकाको रहन सहनले होला पुलको यस्तो हालत देखेर झसँङै भएको महसुस गरे । अबुइ कसरी तर्नु नि भन्दै दुवै जना म तिर फर्के । मैलै नि सोचे हिडेको १ घन्टा भा छैन । दायाँ बायाँ हेर्यो  ठाडो उकालो साँघुरो बाटो मात्रै आँखा अगाडी । माथी हेर्यो पहाडको टुप्पाले निलो आकाश छुन खोजे जस्तोमात्र  देखिन्छ । यहाँ पुग्दा त पुलको डरले ताल जाने जाँगर जोस नै रोकौ जस्तो भयो । यतिकैमा तराइबासी जीवछ र अनिल शाहले डराइ डराइ पुलको लठारो समाउदै पाइला बढाए । विस्तारै- बिस्तारै पुलको आधाभाग पुगे पछी लौ डराउनु पर्दैन सबैजना आउनु नभए छोडिएला भन्दै पारी पुगे । हामी पनि आलोपालो गर्दै लठारोमा सम्हालिन्दै बिस्तारै पारी तर्यौ । पारी पुगे पछि भने वल्ल आनन्द महसुस भयो  । अब भने सजिलै ताल पुगिने हौसला पलायो ।

तमोर कोरीडोरको ट्रयाकमा सडक मर्मत कार्यहरु भइ रहेको छ । तमोरको तीरैतीर मार्क गरेर बनाएको सडक खण्ड कहि कतै भने नाकै ठोकिने उकालो । तमोरलाइ बाँया पारेर  हिडेको ४ घन्टा पछी मावा हुँदै जंगिन भन्ने स्थान पुग्दा विहानको ११ बजे छ ।गोला जाँदा र आउदा प्राय सबै यात्रीहरु यही स्थानमा थकाइ मार्दा रहेछन् । यहाँ फाँटीलो चौर भएर पनि होला चौरी खच्चडघोडाहरुलार्इ पनि पानी खुवाउने, भारी विसाइ दिने गरिन्दो रहेछ । यहाँ दुर्इ चौरीगोठ र पाटी रहेछ । गोठमा तातोपानी तताइ माग्यौ । गाँउघरको सदासयता अझै कायम रहेछ । गोठका दिदिले झर्को नमानी हामीलार्इ तातोपानी तताएर दिनु भयो। विहानको चर्को घाममा हिडेर होला बढी थकान लागेको महसुस भयो । इलाडाँडामा शेर्पेनी दिदिले लगाइ दिनु भएको चिउरा,चाउचाउसँगै तातोपानीले भोक मेटायौ ।

सुकेपानीबाट जंगिनसम्मको प्राय सामान्य उकालो बाटो  । जंगिनमा कादुरी संस्थाले २०६० सालमा तमोर नदी माथी बनाइ दिएको फलामे पुल रहेछ । यहाँबाट हामीले टन्टलापुर घाममा उकालो बाटोको पाइला बढायौ । यात्राको दौरान वारीपारी तमोरको एकोहोरो सुसाइ सुनिरहेका छौ ।  विभिन्न प्रजातीका लालिगुँरा फुलीरहेका छन् । बाटोमा घोडा खच्चडले ग्रोब्राएका लिदीका दुर्गन्ध । सहयात्रीहरुको हाँसीमजाकले ठाडो उकालोमा खुट्टा घिस्याएको पतो भने नहुने । जंगिनको पुल तरेर उकालो छिचोले पछि पुन छागाँमाथीको तमोरमा अर्को पुल तर्यौ ।जति उकालो पुग्यो तमोर नदीमा छाँगा र झरना मात्र देखिने । यो पुल छोटो अग्लो भए पनि सुकेपानीमा तरेको पुलजस्तो डरमर्दो भने थिएन । यो पुल तरेपछि भने घुन्सा याङ्गमा जाने अर्को बाटो छुटिन्छ ।

यो पटक गरी हामीले तीन पटक तमोर तर्यौ । तमोर किनार पच्छ्याउदै गोलातर्फ उकालै उकालो हिड्नु पर्ने । यहाँबाट अझ उकालो अर्को डाँडा छिचोल्नु पर्ने रहेछ । हामी भन्दा करिब ४०० मीटर अघी डाँडामाथी साथीहरुले हामीलार्इ पर्खिरहे । त्यो उकालो छिचोल्न एक घन्टा जतिनै लाग्यो ।डाँडामाथी चिसो हावा बहिरहेको छ । उकालोको थकान मार्दै सबैजना सुस्तायौ । बल्ल डाँडादेखि पारी रातो रङ्गले पोतीएको गुम्बा देखियो । गुम्बा मुनि रहेछ ऐतिहासिक गाँउ ‍ओलाङचुङगोला । अब भने हामीलार्इ गोला पुगे जस्तो भान भयो । तराईको समथर भू–भागमा ‌बसिरहेका हामीलाई उकालो बाटोले बडो सकस पारिरहेको थियो । हामी ‌स्वस्थ छौँ, बलिया छौँ भन्ने भ्रमबाट हामी ‌राम्रै तरिकारले मुक्त भएका थियौँ । म मात्र होइन,‌ हामी पछि आउदै गर्ने साथीहरुको अवस्था पनि उस्तै थियो । यो‌ सबै हाम्रो विलासी जीवनशैली र अस्वस्थकर भोजनको उपज हुनुपर्छ । हामी बेलैमा सचेत हुन पायौँ । गोला पुगियो भन्ने उत्साह एकअर्कालाई छर्दै यात्रा अगाडि बढायौँ । गोला पुग्दा ४ बजेछ । स्थानिय टासी शेर्पाजीको परिवारले तयार पार्नु भएको खाना खाएर आजको यात्रालाइ विट मार्यौ ।

तमोर नदिको किनारमा अवस्थित यो गोलागाँउको वारीपारी भीरैभीरको पहाडले घेरेको देखिन्छ । समुद्री सतहबाट ३२०० मीटर उचाइमा रहेको यो गाँउमा शेर्पा अर्थात वालुङ समुदायको मात्र सामुहिक बस्ती छ । जहाँ करिब ६५ घरधुरी परिवारको बसोवास छ ।हालको मतदाता संख्या २८७ जना रहेको पाइयो । प्रशासनिक रुपमा प्रहरी चौकी-भन्सार कार्यालय-सीमा सुरक्षा सशस्त्र प्रहरी वल-एक स्वास्थ्य केन्द्र-फक्ताङलुङ गाँउपालिका वार्ड नं. ७ को वार्ड कार्यालय- प्राथमिक विद्यालय-एनटीसिको टावर – पुरानो एक बौद्द गुम्बा रहेको छ । करिब ४६५ बर्ष पुरानो दिकी छ्योलिङ गुम्बामा बौद्ध परम्परा अनुसार दैनिक पूजापाठका कर्महरु हुने गरेको छ ।स्थानीयहरुको पेशा भने मुख्य गरी चौरीपालन, छुर्पी र गलैचा उत्पादन रहेछ । आजभोली केही स्थानियहरु पर्यटकहरुको कारण घरवास देखि होटल व्यवसायमा पनि आवद्ध छन् । प्राय जसो युवाहरु राजधानी देखि पश्चिममा मुलुकहरुमा बसोवास गर्दा रहेछन् ।

बैशाख २० गते

गोलाबाट सेन्जेमा पुगिन्जेल कहिपनि घरपसल नभएकोले विहानको खाना खाएर हिड्ने   भयौ । इलाडाँडाबाट गोलापुग्दा उमेश खनाल सरलार्इ अपठ्यारो महसुस भयो । हाम्रो अनुमानमा वहाँलार्इ लेक लाग्यो । तराइवासी साथीहरुले पनि लामो बाटो पहिलो पटक हिडेर होला ताल जाने आट गर्नु भएन । गोलाबाट सेन्जेमाताल जानेमा हामी ८ जना मात्र भयौ । हाम्रो यात्रा पुन तमोर नदीको किनारै किनार कोरीडीरको बाटो शुरु भयो । वारीपारी धुपीसल्ला,उतिस,लेकाली कटुस,गुराँस, झाडी बुट्यानको हरियालीमा चराचुरुङ्गीको सुमधुर आवाजले मन प्रफुलित छ ।तमोरको पारीपट्टी भीरतीर भीर मौरीको गोला- भीर गौथलीका झुन्ड, चौरीका बथान देखि घोरल चरिरहेको पनि देखियो । हामी चीन सरकारले तिवतेला भन्ज्याङबाट गोलासम्म खोलिदिएको सडक ट्याक पछ्याइ रहेका छौ । कोरोना कारण सडक बन्न रोकिएकोले प्राय सडक खण्डहरु ढुङ्गाको ढिस्कानाले पुरिएको छ । कहिकही पाइला र लौरीमात्र टेकेर सडक पार गर्नु पर्ने । दुरभाग्यवस पाइला चिप्लीए तमोरको चिसोपानीमा पुगिने सम्भावना । दर्जन बढी स्थानमा यसरी सम्हालिएर एकआपसमा हात समाएर बाटो पार गर्नु पर्ने । समुहमा हिडीएर होला बाटोको डरलार्इ हाँसीमजाक ,  गफगाफले यात्रा भने रमाइलो नै भइरहेको छ। जतिमाथी जादै थियौ जाडोको महसुस उति बढदै थियो ।बेला बेला हावा वेगले चलिरहेको छ ।

करिब ३ बजे हामी पाटीलेक पुग्यौ । यहाँबाट बायाँतिर तमोर किनार छोडेर दायाँतर्फ सेन्जेमा खोलाको बाटो पछ्याउनु पर्ने भयो। तुवालो लागे जस्तो सेतै पानी हावाले उडाउन थाल्यो । हिउँ पर्न शुरु गरेको रहेछ ।जीवनमा पहिलो पटक हिँउ परेको अनुभव भइरहेको छ । हिउँ बाक्लो पर्न थाले पछि हामी ठूलो धुपीको फेदमा भेला भयौ । हाम्रो पथप्रर्दशक साम्दे शेर्पाले यसरी बसे बाटैमा रात पर्छ । बरु विस्तारै हिडौ भने । हामी उनले टेकेको हिँउमाथीको पाइला पछ्याउदै उकालो चढ्यौ । लाग्छ हामीले यतिबेला कुनै हिमाल आरोहण गरीरहेका छौ ।  हामी हिड्ने बाटो भरी हिउँ नै हिउँ । स्वास बढेको महसुस भइरहेको छ । बाटोमा म पछी अरु चारजना विस्तारै आइरहेका छन् । साँझको ६ बजे तिर हामी सेन्जेमाको छेर भन्ने स्थान आइ पुग्यौ । यहाँ चौरीका हाँचहरु उघ्राएरहेका थिए । नौलो मान्छे देखेर होला गोठमा भोटे कुकुरहरु भुक्न थाले । माथिल्लो अर्को गोठभित्रबाट धुवाँको मुस्लो उडेको देख्यौ । आजको हाम्रो बास बस्ने गोठ त्यही रहेछ । बाक्लो हिउँ परेर शीरमाथी , बोकेको झोलामाथी हिउँ थुप्रीएर सेतै छ । चिसो हावाको कारण जाडो लागिरहेको छ । जाडोले सबैलाइ कक्याएर होला मुखबाट वाफ निस्कीरहेको छ । बाहिरी जाडोबाट जोगिन हामी हतार हतार गोठभित्र छिर्यौ । भित्र दुइजना बाआमा जस्ता लाग्ने आगो तापेर बसी रहनु भएको थियो । हामीलाइ आगो ताप्न अगेना छोडी दिनु भयो । जाडोले आगो ताप्नु बाहेक अरु विकल्प थिएन । यतिकैमा आमाले तातो स्वादिलो भोटे चिया पिलाउनु भयो । चियाको चुस्की लिदै आमालार्इ सोधे हामी आउने खबर कसरी पाउनु भयो । यहाँ त मोवाइल पनि लाग्दैन नि ?  तल छेर भन्ने बाटो हुँदै लस्करै हामी उकालो चढ्दै गरेको गोठबाट आमाले देख्नु भएछ । हामी पुग्दा भोटे चिया तयार पारी सक्नु भएको थियो ।

साम्दे भाइको वुवा रिन्जी र आमा याङजी नाना मात्र गोठमा बस्नु हुँदोरहेछ । ८० वटा चौरी, तीन वटा भोटे कुकुर सहितको सानो गोठे परिवार । साम्दे भाइ राजधानीतिर विज्ञान संकायमा अध्ययनरत । विदामा ओलाङचुङगोला स्थित घर आउदा बुवाआमा भेटन गोठ पनि पुग्दा रहेछन् । मौका मिल्दा सेन्जेमा ताल घुन्ने यात्रीहरुलार्इ सहयोग गर्दा रहेछन् । रिन्जी र याङ्जीले चौरी पालेरै भए पनि साम्दे छोरालार्इ गोलाकै सन्दुक रुइत जस्तै डाक्टर बनाउने धोको रहेछ ।वहाँहरुको चाहना डा. सन्दुक रुइतले जस्तो साम्देले पनि नामसुवास चलाओस् । त्यो साँझ गोठमा नै पाकेको दाल तरकारीसित सादा खाना खायौ । भोली विहान सबेरै उठने शर्तमा गोठभित्रैको न्यानो कुनामा सहज मानी सुत्यौ ।

बैशाख २० गते

रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । म उठदा गोठका आपाआमा पालभित्र आगो तापीरहेका थिए । साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका रहेछन् । आज हाम्रो गोठमा लक्ष्मीको वास भयो भन्दै याङ्गजी आमाले भोटे चिया पिलाउनु भयो ।

बाहिर वरीपरी घामको किरण पर्न थाल्यो । हिमाल र हिउँ टल्केर आँखै टिप्ला जस्तो हुने । हामीलार्इ जतिसक्दो चाडो सेन्जेमा ताल पुग्ने हतारो ।  विहानको चिया पछि सबै जना  साम्दे भाइको पछि लाग्यौ । केही बेरको हिडार्इ पछी पारी हिउँले भरीएको पहाडको फेदीमा पुग्यौ । फेदीमा कन्चन सफा बगीरहेको सेन्जेमा खोला तर्यौ । अब भने उकालो चढ्नु पर्ने मार्ग आयो । हामी भन्दा अलिक अगाडी झापाका अरु तीनजना यात्री पनि तालतर्फ लम्कन्दै थिए । विस्तारै आउनुहोस् पुगिहालिन्छ नि भन्दै हामीलार्इ हौसला दिन्थे । हामीले विस्तारै हिउँमाथी पाइलाका स्टेपहरु क्रमश बढाइ रहौ । हामी ४८०० मीटर उचाइको सेन्जेमा पहाड चढीरहेका थियौ । धेरै तल सेन्जेमा खोलाले बनाएको सानो उपत्यका । उपत्यकाको खोला छेउमा निकै ठूलो ढुङ्गा । ढुङ्गालार्इ हिउले पुरेर मस्जिद जस्तो देखिने । ढुङ्गामाथी भेडाको उनको लुकुनी लगाएर एक्लो मानिस घाम तापे झै बसिरहेको छ । हामी वरीपरीको हिमाली पहाड नियाल्दै , सातु मकै अदुवा पानी खादै पहाड उक्लीरहेका छौ । घाम क्रमश चर्किन्दै छ । थकान लागेर बस्न मिल्ने ठाउँ हेरी अठेस लागेर बसे । पुन तल ढुङ्गामाथी बसेको एक्लो मानिसमा मेरो नजर पर्यो । हाम्रा गाइड साम्दे भाइलार्इ सोधे – भार्इ को मान्छे अघि देखि बसिरहेको देख्छु किन बाटो भुलेर बसेको हो कि भने । भाइले यो त चितुवा भगाउने मान्छे हो भने । कस्तो मान्छे हो मैले सोधे । उसले भन्यो – चौरी खान हिमालबाट चितुवाहरु गोठतिर झरिरहन्छ । चौरी नखाओस भनेर चितुवा तर्साउने मान्छे बनाएर अस्ती रिन्जी आपाले राखेको, अझै रहेछ । यसो भन्दा मत झसङ्गै भए । मनमा चिसो पसे जस्तो भयो । कता कता डरले होला एकछिन त ढुक ढुकी बढेर आयो । तेसै त उचाइ बढ्दै जाँदा ढुकढुकी बढछ । मलार्इ जगली जनावर भने पछि खुब डर लाग्ने । हिस्रक भएर होला अझ चितुवा भन्दा त झन डर लाग्यो । साथमा सबै जना भएकोले आफ्नो डरछेरुवा भावलार्इ दवाएर राखे । हामी पुन पहाडको शिर नजिक पुग्न लाग्यौ ।

हावा वेगले चलिरहेको छ । बौद्धमार्गीहरुले टाँगेको लुम्दारहरु हावामा फरर गरी फहराइ रहेको छ । अब भने हामी तालको पश्चिम क्षेत्रबाट पाइला टेक्न लागेछौ । आँखाले पल्लो छेउ हिमालको फेदी देखि दायाँबाया वरी परी निलो पोखरीको दृश्यालोकन गर्दै बढीरहेका छौ । पोखरीको पानी स्वच्छ, निर्मल देखिन्छ । पानीमाथी वतासको वेगमा छालहरु पूर्वदिसा बाट पश्चिम बगीरहेको छ । हाम्रो पाइला क्रमश अघी बढीरहेको छ । तालको शुरुवाती भागमा यात्रीहरुले उचाल्न सकेका ढुङ्गा माथी ढुङ्गाको देउरालीहरु बनाएका रहेछन् । सम्झौ आफू सेन्जेमा पुगेको प्रमाण दिन मसिना ढुङ्गाहरुको चाङ्ग लगाएका हुन । हामी ढुङ्गाको देउराली मन्दिर जस्तो चाङहरुबाट छिचोलिन्दै पाइला बढाउदै गयौ ।चिसो हावाको कारण भयङ्कर जाडोपन महसुस गरीरहेका छौ । विहानको १० बजेको छ । घामलागेर हिमाल टिन झै टल्केको छ। हाम्रो नजर माथी हिमालतिर भन्दा मुनी भुँइतिर सोझिएको छ । केही सहयात्रीहरुलार्इ कालो चश्माले ताल आसपास हिडन सहजता मिलेको छ । तालको किनारतिर सिसाजस्तै गरी पानी जमेको छ । सिसा जस्तो बरफ माथी सम्हालिदै हिड्यौ । विस्तारै सबैले तालको पानी अन्जुलीमा लिदै चोखिने क्रम चलिरहेको थियो । तालको पानी धेरै चिसो लाग्यो ।मेरी हत्केला झन कठाङग्रियो । यतिबेला जोश र तिव्र इच्छाले होला र्इ.सुदिप पौडेल सर तालको पानीमा चोबलिनु भयो । तालको चिसो पानी र मुटु नै काप्ने हावाले होला  वहाँको शरीरसँगै बोली पनि कामीरहेको थियो ।हतार हतार थप न्यानो ज्याकेट, पन्जा , टोपी आदी पहिरिए पछी मात्र विस्तारै बोली फुटाउनु भयो । मैलै पहिलो पटक तालको पानी अन्जुलीमा लिदै पितृहरुलार्इ सम्झे । यतिवेला म दुख, पीडा, थकान, सबैको अन्त्य भएको महसुस गरिरहेको छु । हिउमाथी पदमासनमा मैले ध्यानमा बस्ने जमर्को गरे । ध्यानमा बस्दा हावाको बहावले तालको पानी छचल्कीएको श्रवण गरे । यो श्रवणको अनुभूतिमा मलार्इ स्वर्गिक आनन्दको अनुभूती भइरहेको थियो । जुन अनुभव  म शब्दमा व्याक्त गर्न सक्दिनँ । यस्तो अनुभव गर्नेले मात्रै महसुस गर्ला । सायद, ध्यान वा मेडिटेसनको उच्चतम विन्दुमा त्यस्तै हुन्छ होला । मलाई त्यस्तो अनुभूति भइरहेको थियो ।

 हिन्दु पौराणिक ग्रन्थमा समुद्र मञ्चन गर्दा भगवान् शिवको त्रिशूलले पहाड र हिमाल टुक्राएर पानीको मूल फुटाए । जुन मुलको पानी पिएर आफ्नो विषलाई ‌शान्त पार्नुभएको थियो रे । कतै त्यही पानीको कुन्ड सेन्जेमा ताल पो हो कि जस्तो लाग्यो । हामी सबैले आ-आफ्नो तरिकाले पूजापाठ गर्यौ । पूजा पछी एकछिन चुपचाप भएर मैले प्रकृतिलाई नियालेँ । कति सुन्दर,‌ सौम्य, शान्त र निश्छल । सोचे प्रकृतिको ‌सुन्दरता कति मनमोहक हुन्छ हँ ? पुन मैले पितृहरुसँगै राहुल साँस्कृत्ययनलार्इ सम्झे ।

सकुञ्जेल र बसुञ्जेल मैले ‌ओत् तागेरा निङवाफूमाङ सेवारो भन्दै प्रार्थना गरे । साँच्चै जीवनमा चरमउत्कर्षको अनुभव क्षणिक हुने रहेछ । करिब एकघन्टा जती तालवरीपरीको सुन्दरतामा रमाउदै वितायौ । फर्कन्दा हामीले पनि ताल आइपुगेको प्रमाण जुटाउन मसिना ढुङ्गाका देउराली बनायौ । भावी दिनमा यस्तो मौका जुरेमा पुन सेन्जेमा आउने मनोकाक्षा सहित हामी फर्कियौँ । उकालोभन्दा केही सहज ओरालो झर्दा हुने नै भयो ।सेन्जेमा पहाडको फेदीमा ५ जना यात्रीहरुसँग जम्का भेट भयो । वहाँहरु पनि ताल पुग्ने गरी तल्लो गोठ छेरबाट हिडनु भएको रहेछ । हामी पुन: चौरीको हाँच, हिउको थुप्रो, लालीगुराँसका फूलले झपक्कै सजिएका डाँडाहरू हेर्दै, आफैँप्रति गौरवान्वित हुँदै फर्कियौँ ।

एउटा यस्तो यात्रा, जसले जीवनभरि नविर्सने सुन्दर अनुभूति दिलाएको छ । यात्राले साहस, आँट, आस्था,‌ विश्वास र धैर्यता सिकाएको छ । अर्को यात्राका लागि हरपल तयार हुन हौसला बढाएको छ ।ए सेन्जेमा ! ए चौरीको हाँच ! ए धुपीसल्ला ! ए सल्लेरी गाँउ ! ओ याङजी नाना ! मलाइ साथ दिहिरहनू, म तिमीलाई एकपटक मात्र होइन, पटकपटक स्पर्श गर्न चाहन्छु । तिम्रो समीपमा देखि रहन र रम्न चाहन्छु । शिर झुकाएरु नतमस्तक हुन चाहन्छु । मलाई स्वागत गरिरहनू ओ याङजी नाना । तिम्रो सम्झना कुइरो र घामसँगै डुल्दै घुम्दै आइरहेछ । तिमिले रुने होइन हाँस्नु पर्छ , मान्छेको जीवन यस्तै छ । ओ याङजी नाना ।

तस्बिरहरु :

rpt

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार